लोग्नेस्वास्नी कज्याउने र वशमा राख्ने दुश्चक्र
डाक्टर गोविन्दशरण उपाध्यायः (१) विवाह गरेर दुरान फर्काउन जाँदा कमलाकी आमाले भन्नुभयो "छोरी, दुलाहालाई आफ्नो वशमा राख्नु पर्छ। यसका लागि सामदाम, दण्ड तथा भेद सबै उपायहरू अवलम्बन गर्नु परे पछि हट्नु हुँदैन। लोग्नेलाई वशमा राख्ने स्वास्नी मान्छे सुखी हुन्छन् | लोग्ने वशमा राखियो भने आफूले चाहेको कुरा पुग्छ।"
(२) दुरानबाट घर फर्किएको छोरा सन्तोषलाई आमाले भन्नु भयो "बाबु, स्वास्नी कज्याउन सक्ने लोग्नेको समाजमा इज्जत हुन्छ। स्वास्नीलाई सधैं आफूले भनेको मान्ने गराउनु पर्छ। नत्र टाउकोमा चढ्छन्। लोग्नेको कुरा नमान्ने, लोग्नेको कुरा नसुन्ने, जवाफ फर्काउने स्वास्नीसँग घरवार चल्न गाह्रो हुन्छ। स्वास्नीको मात्र कुरा सुन्नेलाई दुनियाले "जोइटिग्रे" भन्छन्।
........
माथि उल्लेख गरिएका दुबै घटना काल्पनिक हुन्। कसैको वास्तविक जीवनसँग मिल्न गए आश्चर्य मान्नु पर्दैन। समाज र संस्कृति दूवै परिवर्तनशील हुन्छन्। आजका "लोग्नेस्वास्नी" अलि फरक शैलीमा वशमा राख्ने र कज्याउने अभ्यास गर्छन्। अचम्मको कुरा त के भने "वशमा राख्ने" आकांक्षा "पढेलेखेका मोडर्न"मा बढ्दो छ भने कज्याउने शैली खान्दानी वा परम्परागत शैलीका लोग्नेस्वास्नीमा छ। अपवाद वाहेक जव लोग्ने र लोग्नेको परिवारले शिक्षित महिलालाई "कज्याउने" व्यबहार थाल्छ, लोग्नेस्वास्नीका विचमा "खटपट" आरम्भ हुन्छ। परिणाम : डिभोर्स वा आत्महत्यामा देखिने सम्भावना हुन्छ। यसैगरी, "वशमा राख्ने" व्यबहारको पनि अन्तिम विन्दु पारिवारिक विखण्डनै हुन्छ। यसै सेरोफेरिमा सम्बन्धित लोग्नेस्वास्नीले "मम" भन्दै आफ्नो व्यवहार र सोचमा परिवर्तन गर्न आरम्भ गर्नुपर्छ। परिवार, बालबालिका र लोग्नेस्वास्नी दुबैको "भलो" हुन्छ।
"स्वास्नी कज्याउने र लोग्नेलाई आफ्नो मुट्ठीमा राख्ने" भन्नेजस्ता अतिवाद नेपाली समाजमा आज पनि शक्तिशाली छन्। खासगरी, न्यूक्लियर फेमिलीको अभिरुचि बढ्दै गर्दा "जोइटिग्रे"हरूको सङ्ख्या बढेको छ भन्ने अनुभव संयुक्त परिवारमा हुर्किएका अभिभावकहरूको छ। अर्कोतिर संयुक्त परिवारमा भन्दा "एकल परिवारमा छोरी बढी सुखी हुन्छे" भन्ने मान्यता ससुरालीहरूतिर बलियो देखिन्छ भने नवविवाहित लोग्नेस्वास्नीले पनि सुख "एकल परिवारमा नै" देख्न थालेका छन्। प्रश्न एकल परिवार वा संयुक्त परिवारको होइन, प्रश्न "लोग्नेलाई वशमा राख्नु र स्वास्नी कज्याउनु" उचित हो ? के यस्तो अभ्यासले लोग्नेस्वास्नीका विचमा प्राकृतिक प्रेम सम्बन्ध दिगो होला ? भन्ने हो।
असलमा, नेपाली समाजमा "स्वास्नी कज्याउने र लोग्नेलाई आफ्नो मुट्ठीमा राख्ने" भन्ने मान्यता आज पनि फरकरूपमा विद्यमान छ। जुन परिवारका लोग्ने वा स्वास्नीले यस्तो मान्यताको आधारमा आफुलाई प्रस्तुत गर्छन्, त्यो परिवारको शान्ति सधैंका लागि समाप्त हुन्छ। लोग्नेलाई वशमा राख्ने अभ्यास गर्ने स्वास्नी मान्छेले परिवार र लोग्ने गुमाईसकेका हुन्छन्। "लोग्नेलाई वशमा राख्ने "एजेण्डा"मा काम गर्ने स्वास्नी मान्छेले लोग्नेलाई माया गर्लान् तर लोग्नेका आमाबुवा, छरछिमेकी, सम्बन्धिहरूलाई पटक्कै मन पराउँदैन्। संयुक्त परिवारलाई जेलखानासरह मान्छन्।
अर्कोतिर स्वास्नीलाई "कज्याउने" मनस्थिति र व्यबहार भएको लोग्ने र लोग्नेका आमावुवा वा परिवारका लागि "स्वास्नी" काम गर्ने/गराउने सित्तैको सेविका वाहेक केही हुँदैन। लोग्ने र लोग्नेका मातापिता वा आफन्तको खुसीको लागि स्वास्नी मान्छेले आफ्नो स्वतन्त्रता, इच्छा तथा सीपहरू गुमाउनु पर्छ। महिलाका भावनाहरूको कुनै महत्व हुँदैन। लोग्नेका यौनचाहना पूरा गर्नु, इच्छाए/नइच्छाए पनि उसको लागि "बच्चा" जन्माई दिनु, हुर्काइ दिनु र परिवारको अत्याचार सहेर पनि "घरपरिवार"को कठोर अनुवन्ध भित्र रहनु नै "संस्कारी स्वास्नी" हुनु हो।
वशमा राख्ने स्वास्नी होस् वा कज्याउने लोग्ने, दुबैले एकआपसमा प्रेमको नाटक मन्चन गरिरहेका हुन्छन्। कज्याउने र वशमा राख्ने व्यबहारको अग्निकुण्डमा प्रेम, एकआपसी सहयोगको भावना, समानानुभूति, स्वाभाविक मायालु र हेरविचार गर्ने व्यबहार जलिसकेको हुन्छ। वशमा राख्नुको अर्थ "सधैं लोग्ने मेरो कन्ट्रोलमा रहोस्, मेरो अनुमति विना सास पनि नफेरोस्" भन्ने अतिवादसँग जोडिन्छ, जसले लोग्ने र लोग्नेको परिवारलाई "वस्तु"का रूपमा व्यवहार गर्छ। लोग्ने पूर्णतया स्वास्नीको आज्ञामा काम गर्ने "सेवक"सरह हुन्छ। स्वास्नीको झगडालु स्वभावबाट जोगिन लोग्नेले स्वास्नीका सामु आत्मसमर्पण गर्छ। दुर्भाग्यवस, यस्तो परिवारमा माइतीपक्षको चर्को समर्थन रहने गरेको नेपाली परिवारहरूको अनुभव छ।
यसैगरी "स्वास्नी" कज्याउनेहरूले विवाह गरेर लोग्नेको घरमा आएकी "युवती"लाई परिवारको सदस्य भन्दा पनि छोराले विवाह गरेर ल्याएको "सेविका"को व्यबहार गर्छन्। कज्याउने चिन्तन र व्यवहार भएको लोग्ने, स्वास्नी मान्छेका लागि एउटा भयानक सपना हो | हाम्रो समाजमा धेरै महिलाहरूले "छोराछोरीका लागि यस्तो लोग्ने र उसको परिवारसँग सम्झौता गरेका हुन्छन्। रगतको आँसु पिएर जीवन यापन गरिरहेका हुन्छन्। "संस्कारी" र "परिवारको लागि" स्वास्नीको सम्पूर्ण उर्जा र स्वतन्त्रताको चाहना समर्पित हुन्छ।
"वशमा राख्ने र कज्याउने" यी दुबै स्वभाव भएका लोग्नेस्वास्नीको घरपरिवार राम्रो र असल देखिए तापनि जिउँदो ग्रीनेडसरह हुन्छ। कति वेला, यस्तो परिवार पूर्णतया अशान्ति, द्वन्द र विखण्डनको भुमरीमा फंस्छ ? भन्न सकिन्न। असल स्वास्नीले लोग्नेलाई "वशमा राख्ने होइन" संयमित तवरले स्वतन्त्रताको उपयोग गर्ने, मायालु जीवनसाथीका रूपमा विश्वास गर्नुपर्छ। अन्याय विरुद्ध बोल्नुपर्छ तर वशमा राख्नका लागि माइतीको अभिमत पक्षमा छ भने अस्वीकार गर्नुपर्छ। "कन्ट्रोल" गर्ने स्वभावका कारण कुनै ओअनी दिन लोग्नेको विश्वास गुम्न सक्छ। विश्वास गुमेपछि पुन: त्यसलाई आर्जित गर्न सजिलो हुँदैन। तेसैले कन्ट्रोल होइन सहकार्य, जीवनसाथीका रूपमा लोग्ने र लोग्नेका परिवारसंग व्यवहार गर्नुपर्छ।
"कज्याउने" मनसाय र व्यबहार दूवै आत्मघाती व्यवस्था हुन्। विवाह एकजनाको मात्र भएको होइन। विवाह गरेर धर्मपत्नी बनाएपछि "कज्याउने" भन्ने मनसाय नै अनुचित, आपत्तिजनक र लोग्नेस्वास्नीका विचमा हुने स्वाभाविक प्रेमको बाधक हो। तेसैले स्वास्नीलाई कल्याउने चिन्तन तुरुत्न त्याग्नुपर्छ। जीवनसाथीसँग सहकार्य, सम्बाद तथा सहअस्तित्व र आदरकासाथ व्यवहार गर्नुपर्छ। नत्र, लोग्नेस्वास्नीको सम्बन्ध बाध्यात्मक हुन्छ। न प्रेम हुन्छ, न आदर हुन्छ, न आदर्श हुन्छ। तेसैले पत्नीलाई "कज्याउन" सिकाउने र उक्साउनेका सल्लाहहरू विनम्रतापूर्वक अस्वीकार गर्नुपर्छ।
अन्त्यमा, एकल परिवारमा वस्ने कि संयुक्त परिवारमा बस्ने कुराको निर्णय आवश्यकता, परिवेश तथा स्थिति विचार गरेर लोग्नेस्वास्नी आफैले गर्नुपर्छ। एकल परिवार होस् वा संयुक्त परिवार दुबैमा आ-आफ्ना असल र कमसलपन हुन्छन्। असल जीवनसाथीले एकअर्कालाई "वशमा राख्ने वा कज्याउने"जस्ता अनर्थ व्यवहारलाई "लोग्नेस्वास्नी"का विचमा प्रवेश गर्न दिनु हुँदैन। असलमा, पति र पत्नी दुबै एकआपसमा पूरक हुनुपर्छ। पूरक, सहयोगी तथा विनम्र हुनुमा शान्ति सुख र आनन्द छ। लोग्नेस्वास्नीहरू ईश्वरका सर्वोत्तम रचना हुन्, जसको सहकार्यले विश्व खुशी, सुखी र आनन्दित हुन्छ।
जयहोस्