साउनको सोमवार र शिवपुरी धाम

दिपा भण्डारी : साउन महिनाको दोस्रो सोमवार बिहानै धनगढीको शिवपुरी धाम जाने निधो मैले आइतवार नै गरिसकेकी थिएँ।
राति अबेरसम्म मनमा एक किसिमको उत्साह थियो। खासै ठूलो तयारी त थिएन। तर, मनमा एउटा विचित्रको आकर्षण थियो। जसले मलाई भक्तिभन्दा बाहिर, भीडभन्दा टाढा कतै तानिरहेको थियो।

मन्दिर वरिपरिको हरियाली, त्यो शान्त वातावरणले मलाई बेला–बेला तानिरहेको हुन्छ। सोमवार बिहानै उठेँ, स्नान गरेँर मसँग भएको निलो रङको कुर्ता लगाए। निलो रङले मलाई सधैँ शान्तिको अनुभूति दिन्छ।
यो सोमवार म न भक्तिभावले भरिएको, न त सामाजिक कर्मकाण्डले, त्यो त केवल आफ्नै अन्तरमनको आवाज जस्तो लाग्यो। जसले भनिरहेको थियो, “जाऊ एक पटक आफैँभित्र फर्केर हेर।” खासै पूजा गर्ने भित्रि इच्छा थिएन। त्यसैले म हातमा अलिकति भेटि राखेर मन्दिरतर्फ लागेँ। बाटोमा आधा पुग्दासम्म मानिसहरूको भीड देखिन थाल्यो। कसैको हातमा प्रसाद थियो। कसैको हातमा जल। कसैले शुद्ध मन बोकेको देखिन्थ्यो। रङ्गिन लुगा लगाएर सजिएका अनि चिटिक्क परेका अनुहारले मलाई छुटै आनन्द मिल्यो।
.gif)
जब मन्दिर परिसरमा पुगे, सोचमग्न भए! किनकि दुई लाइनमा मन्दिरको बाहिर निन्याउरो अनुहारसहित साना–साना नानी–बाबु बोकेका केही थान मानिसहरू भक्तजनहरूबाट केही पाउने आशामा थिए। एक पटक सोचे केही अवसर पाएको भए त सायद काम गरेर खान सक्ने खालका हुनुहुन्थ्यो। वास्तविक पीडित ओझेलमा परेका छन। फेरि आफैलाइ सम्झाए उनीहरूको पनि केही बाध्यता होला ...


आँखा चिम्लेर म जब मन्दिर परिसर पुगे, त्यहाँको हरियाली वातावरणलाई रङ्गिन दृश्यले ढाकेको थियो। तर, रङ्गिन दृश्य सँगै श्रिङ्गारमा सजिएका दिदी–बहिनीहरूको हँसिलो अनुहारले मलाई असाध्यै खुसीको अनुभूति भयो। शिवपुरी धाम साँच्चिकै शिवजीकै गुणगानले रङ्गिन अनि शान्त पनि। यहि शान्तिमा साउनको हरियाली र आस्था मिसिएको थियो। मन भित्रभित्रै भन्थ्योः सायद यिनै क्षणहरू जीवनका साँचो पूजा हुन्।
म हल्का फिक्का थिए। किनकी त्यहाँ रङ्गिन अनुहारको अगाडि मैले नत रङ्गिन कपडा लगाएको थिए, न त पूजा नै गरेको प्रायः केही महिला–दिदी–बहिनीहरूले मलाई लामो समयसम्म हेरिरहे। मलाई अलिक असहज महसुस भयो। तर, किन हेर्नू भएको पनि त भन्न मिलेन। धेरै लामो समय आउने जानेहरूले हेरिरहदा भने म चुप बस्न सकिन। एक जना दिदीलाई सोधे दिदी केही अप्ठ्यारो लाग्यो कि ? उहाँले होइन, त्यस्तो साउनको महिना व्रत बस्ने दिन अनि हरियो र पहेँलो लाउने दिन तपाईँलाई यस्तो देख्दा अरूले पनि त हेरेका थिए। त्यसैले हेरेको केही अशुद्ध छ र ? उहाँको यो प्रश्नको मसँग जवाफ त प्रशस्त थिए। तर, मैले होइन दिदी त्यस्तो केही होइन भनेर अगाडि बढे।
मलाई मन्दीरको पछाडि हरियालीमा जान र त्यही हरियालीमा आफैलाइ हराउन ढिलो भैसकेको थियो र त्यता लागे ...
म एक्लै थिए। हातमा मोबाइल थियो र नोटमा साउनको सोमवार भनेर शीर्षक राखेर र मनका भावना पोख्न थाले। म १३ वर्षको हुँदा मेरो बुवाले असारको अन्तिम समयमा आमासँग “अब साउन लाग्छ। मासु खान मिल्दैन। छोरा–छोरीलाई मासु खौनु पर्यो” भन्दै कुरा गरेको मेरो स्मृतिमा ताजै छ। तर, कहिले सुनेन साउनमा हरियो नै लाउन पर्छ। पहेँलो नै लाउन पर्छ भनेर।
हाम्रो चलन हो या हामीले देखासिकी गरिरहेका छौ। म यस्मा निकै अलमल छु। मलाई हरियो र पहेँलो मन नपर्ने होइन। तर, नयाँ नै हुनुपर्छ किन्नै पर्छ लाउनै पर्छ जस्तो कहिले लागेन र लाग्दैन पनि। हरियाली त मलाई असाध्यै मन पर्छ। त्यही हरियालीले मेरो मनका कुरा सुनी दिन्छ। त्यही हरियालीले मलाई बिउँझाउछ र फेरि लुटुपुटु पार्छ।
एकैछिन म सोच्दै थिए। मनका कुरा आफ्नो मोबाइलको नोटमा पोख्दै थिए। सात जना महिला दिदी–बहिनीहरूको समूह एक फोटो खिचिदिने व्यक्ति (क्यामेर म्यान) एक आसपासमा सल्लाह गर्दै थिए, कसैले यति सयको खिच्ने, यतिको खिच्ने, यति वटा, उति वटा, यही आवाजले मैले मोबाइल बन्द गरेर उहाहरू तर्फ फर्किए ....कतिपयले पानी खाएर व्रत बसेको कतिपयले पानी र फलफूल खाएर त कसैले पानीसम्म नखाएर व्रत बसेको कुरा कानमा गुन्जियो .... भोकै बसेर व्रत बस्दा आफ्नो श्रीमानको आयु लामो हुने, अविवाहितलाई राम्रो श्रीमान पाइन्छ, भन्ने हाम्रो विश्वास हाम्रो समाज कायम छ। हाबी छ।
साउनमा हरियो र पहेँलो लाउनु परम्परा हो। या फेसन म दोधारमा छु ..
साउनमा हरियो र पहेँलो लाउनु केवल फोटो खिच्नका लागि हो ?
के हाम्रो संस्कृतिको गहिरो अर्थलाई हामी देखासिकीमा हराउँदैछौँ? यस्तै कुराले आज दिनभरी म अलमलमा परे। “साउन लागेपछि सबैको नजर हरियो र पहेँलो पहिरनमा जान्छ। टिका, चुरा, सारी, कुर्ता... सबै हरियो र पहेँलोमै झुम्मिन्छ। सामाजिक सञ्जाल रङ्गिन फोटोले भर्छौ .....
आउनुहोस् थोरै साउन महिनाको बारे बुझौँ
साउन हिन्दु धर्म अनुसार अत्यन्तै पवित्र महिना हो। हरियो रङलाई प्रकृति, समृद्धि र जीवनसँग जोडिन्छ भने पहेँलो रँग शुद्धता, पवित्रता र धार्मिकताको प्रतीक हो। विशेष गरेर महिलाहरूले शिवको आराधनामा हरियो चुरा, पहेँलो पहिरन लगाउने प्रचलन छ, जसले वैवाहिक सौभाग्यको कामना गर्छ।
तर, आजभोलि यो चलन सांस्कृतिक चेतना भन्दा फेसन सो बनेको छ। वर्तले आयु लामो दिने होइन त्यो केवल मनको शान्ति हो भनेर हाम्रो सोच बदल्न जरुरी लाग्छ।