बालेन सरकार र सुदूरका सुइना
डिल्लीराज भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले चुनावी अभियानका क्रममा डडेल्धुरा पुगेर १० माघमा ‘सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई!’ क्याप्सनसहितको फेसबुक स्टाटस लेख्नु भएको थियो।
उहाँको त्यो स्टाटस निकै चर्चित बन्यो। स्टाटसमै गीत तयार भयो। त्यसपछि थुप्रै मानिसले बालेनको सोही अभिव्यक्तिलाई आधार मानेर स्टाटस लेख्नु भयो। बालेनले स्टाटस लेखेको पल सम्झँदा बालेन कैलाली र कञ्चनपुरको चुनावी गतिविधि सकेर पहाडी यात्रामा निस्कनु भएको थियो। त्यसक्रममा म पनि यात्राको सहयात्री थिएँ। पहाडी डाँडा झमझम परिरहेको हिउँले सेताम्य थिए। बाटो चिप्लो थियो। हिउँको प्रवाह नगरी बाटोभरी बालेनको स्वागतका लागि लामबद्ध जनताको उपस्थिति लोभलाग्दो थियो।
जनताको त्यही न्यानो स्वागत र हिमपातको कठ्याङ्ग्रिँदो चिसोलाई छिचोल्दै डडेल्धुरा र बैतडीको सीमा क्षेत्रमा पुग्यौं। बालेनले हिउँसँगको मौनतालाई तोड्दै गुडिरहेको गाडी रोक्नु भयो। केही बेर सुदूरको पहाडी सुन्दरताको आनन्द लिनु भयो। र, शेरबहादुर देउवाको गृह जिल्लाबाट लेख्नु भयो- 'सुदूर अब दूर नाइ।'
बालेन आफैँमा कम बोल्ने पात्र हो। उहाँ बोलेर होइन, काम गरेर आफूलाई प्रमाणित गर्नुपर्छ भन्ने स्वभावको हुनुहुन्छ। उहाँले सुदूर भ्रमणका क्रममा यहाँको भूगोल चिन्नु भयो, जनताको मन बुझ्नु भयो। तर, धेरै बोल्नु भएन। तर, उहाँले सुदूरप्रति भावनात्मक र आत्मीय सन्देश व्यक्त गर्नुभयो। देशको कुल मध्ये १३.५५ प्रतिशत क्षेत्रफल ओगटेको सुदूर सुन्दर धरा हो। सुदूरको प्रवेशद्वार एतिकासिक कर्णाली पुलमा पाइला राख्ने वित्तिकैदेखि यसको सुन्दरता महसुस गर्न सकिन्छ।
सुदूर देव भूमि र तप भूमि पनि हो। खप्तड, अपी र शैपाल र बडीमालिकालाई सिरानीमा राखेको सुदूर धार्मिक, प्राकृतिक र सांस्कृतिक रुपमा वैभवशाली छ। यी हाम्रा वैभव यतिबेला समृद्धिको प्रतिक्षामा छन्। र, दुई तिहाइ नजिकको बालेन सरकारबाट आफ्नो अभिष्ट पूरा उनीहरूको सोच छ।
पूराना राजनीतिक दलको पुरातन सोचबाट जनता आजित थिए। तर, यतिबेला नेपाली राजनीतिले नयाँ कोल्टे फेरेको छ। बालेन सरकारको उदयसँगै जनतामा परिवर्तनको आशा पुनः जागृत भएको छ। बालेन सरकारले सुशासन, समृद्धि, दिगोविकास, पारदर्शिता र जनउत्तरदायीत्वका सवाल केन्द्रमा राखेको छ। २०४६ यताका सबै राजनीतिक उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानविन प्रक्रिया अगाडि बढाएको छ।
नयाँ आसा र सम्भावनाका विषयमा विज्ञ तथा सरोकारवालाहरू छलफल अगाडि बढाएको छ। प्रत्येक प्रदेशका सांसदहरूसँग बालेनले छुट्टाछुट्टै संवाद गरेर त्यहाँका समस्या सुन्ने र प्राथमिकताका आधारमा समाधान गर्ने बाचा गरिरहनु भएको छ। यसले राजनीतिमा नयाँ आसाको सञ्चार गरेको छ। यसले सुदूरपश्चिम जस्ता दूर भूगोलमा पनि सकारात्मक प्रभाव पारेको छ।
सुदूर लामो समयदेखि विकासको मूलधारबाट पछि रह्यो। अशिक्षा, गरिवी, बेरोजगारी र स्वास्थ्यको अभाव खेप्नु सुदूका जनताको पीडादायी नियती हो। तर, बालेन सरकारबाट हामीले यहाँका 'सुइना' अर्थात् सपना र सम्भावनाले पुनर्जीवन पाउने अपेक्षा गरेका छौं।
सुदूरपश्चिम नेपालको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्र हो। तर, राज्य संरचनामा केन्द्रित विकास नीतिका कारण यो क्षेत्र दीर्घकालीन रूपमा उपेक्षित रह्यो। यस भूमिले प्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ व्यक्ति नजन्माएको होइन। तर, उनीहरूमा पनि केन्द्राकृत मानसिकता नै हावी भयो। त्यसैले हामी सधैँ उपेक्षाको सिकार हुन विवस भयौं।
अवसरहरूको अभावले यहाँका युवालाई वैदेशिक रोजगारीतर्फ आकर्षित भए। उत्पादन निर्यात गर्नुपर्नेमा हामीले सधैँ देशको दक्ष जनशक्ति युवाहरूलाई मात्र निर्यात गरिरह्यौं। ऐतिहासिक रूपमा शक्तिशाली सामन्तवादी संरचना र राज्यको कमजोर उपस्थिति नै हाम्रो यो पीडादायी अवस्थाको कारक हो। सुदूरपश्चिम प्रकृतिक सुन्दरताको खानी हो। यहाँको सौन्दर्य अद्वितीय छ।
खप्तड राष्ट्रिय निकुञ्ज, अपि र शैपाल हिमाल, बडीमालिका, टिकापुर पार्क, शैलेश्वरी, उग्रतारा, निग्लाशैनी, घोडाघोडी ताल, रामारोसन, पञ्चेश्वर धार्मिक क्षेत्र, जस्ता स्थलले आन्तरिक तथा बाह्य पर्यटनको ठूलो सम्भावना बोकेका छन्। तर, पूर्वाधारको अभाव, प्रचार–प्रसारको कमी र व्यवस्थापनको कमीले यी सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेका छैनन्। हाम्रा सम्भावना ओझेलमा छन्।
सुदूरको अर्थतन्त्र मुख्यतः कृषि, पशुपालन र वैदेशिक रोजगारीमा आधारित छ। औद्योगिक विकास न्यून छ। लगानीको अभावले उद्यमशीलता फस्टाउन सकेको छैन। कैलाली र कञ्चनपुर उर्वर भूमि हुन्। तर, किसानले समयमा मलखाद पाउन नसक्ने समस्या कायमै छ। प्राकृतिक स्रोत–साधन, जलविद्युत्, जडीबुटी र पर्यटन क्षेत्रलाई उचित नीति र लगानीमार्फत विकास गर्न सके साच्चै 'सुदूरका सुइना' पूरा हुन समय लाग्ने छैन। बालेन सरकार जस्तो नवप्रवर्तनशील सोच बोकेको नेतृत्वबाट हामी सुदूर भूमिका जनताले समृद्धिको ठूलो अभिष्ट बोकेका छौं।
यतिबेला संघीतामा मुलुक छ। घरघरमा सिंहदरबार नारा दिइएको छ। तर, जनताले घर नजिकै सिंहदरबार पुगेको अनुभूति गर्न सक्नु भएको छैन। चुस्त र कम खर्चिलो संघीयता जनताले चाहिरहनु भएको छ। संघीयता सञ्चालनका लागि थुप्रै कानुनी जटिलता छन्। त्यसको गाँडो फुकोस भन्ने जनताको चाहना छ। नीति, योजना र प्राथमिकतामा असमानता हुँदा विकासका काम ढिलो हुने, कतिपय योजना अधुरा रहने वा दोहोरिने समस्या पैदा हुन्छ।
बजेट विनियोजनमा पनि एकरूपता नहुँदा आवश्यक क्षेत्रमा स्रोतको अभाव हुन्छ। यसले अन्यत्र अनावश्यक खर्च हुने जोखिम बढ्छ। यसले प्रशासनिक प्रक्रियामा ढिलाइ, निर्णयमा अनिश्चितता तथा कार्यान्वयनमा कमजोरी निम्त्याउँछ।
यसको प्रत्यक्ष असर सर्वसाधारणमा पर्छ। सामान्य सेवा लिनका लागि धेरै ठाउँ धाउनुपर्ने, स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत सेवामा ढिलाइ हुने र व्यक्तिगत खर्च बढ्ने अवस्था सिर्जना हुँदा राज्यप्रतिको विश्वास गुम्छ। यसले सरकारप्रति जनविश्वास घटाउने मात्र नभइ, राज्यको प्रभावकारितामाथि नै प्रश्न उठाउने स्थिति सिर्जना हुन्छ। यस्तो जटिल परिस्थितिमा समाधानको केन्द्रबिन्दु भनेको प्रभावकारी समन्वय र सेवा–केन्द्रित दृष्टिकोण हो।
संघ, प्रदेश र स्थानीय तहबीच नियमित समन्वय संयन्त्र निर्माण गरी साझा प्राथमिकता तय गर्न आवश्यक हुन्छ। विशेषगरी स्वास्थ्य, शिक्षा, पूर्वाधार जस्ता आधारभूत क्षेत्रमा साझा न्यूनतम कार्यक्रम लागू गरिनु पर्दछ। नागरिकका लागि एकद्वार सेवा प्रणाली विकास गरी सेवा प्रवाहलाई सरल र छिटो बनाउँदा राज्यप्रतिको विश्वास उच्च रुपमा बढ्छ।
डिजिटल प्रविधिको प्रयोगमार्फत योजना तथा सेवा प्रक्रियाको पारदर्शिता र ट्र्याकिङ सुनिश्चित गर्न सकिन्छ। यसले ढिलाइ र अनियमितता घटाउँछ। अन्ततः राजनीतिक भिन्नता हुँदाहुँदै पनि शासनको मूल उद्देश्य नागरिकलाई सहज, प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउनु हो। त्यसैले दलगत स्वार्थभन्दा माथि उठेर समन्वय, सहकार्य र परिणाममुखी कार्यशैली अपनाए मात्र सुदूरपश्चिमका नागरिकले वास्तविक रूपमा राहत र विकासको अनुभूति गर्न सक्नेछन्। र, समृद्ध सुदूरका सुइना पूरा हुने छन्।
लेखक भट्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता हुन्।