सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशरथचन्द विश्वविद्यालय: दशकौँ पुरानो सपना, अब कार्यान्वयनको पालो

विचार

२०८३ असोज १९, ११:५१

सुदूरपश्चिमका लागि स्वास्थ्य, शिक्षा र रोजगारीका अवसरको विस्तार केवल विकासको विषय होइन, दशकौँ देखिको आवश्यकता र सपना हो। यही सपनाको एउटा महत्वपूर्ण आधारका रूपमा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई हेरिएको छ। सुदूरपश्चिममा आफ्नै स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गरी गुणस्तरीय चिकित्सा शिक्षा सञ्चालन गर्ने र यस क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले अघि बढाइएको यो परियोजना अब केवल कागजमा सीमित विषय रहेन। विश्वविद्यालयको संरचना, पूर्वाधार विकास र चिकित्सा शिक्षाका लागि आवश्यक तयारी क्रमशः अगाडि बढिरहेको अवस्थामा अब यसको कार्यान्वयनलाई थप गति दिनुपर्ने समय आएको छ।

यसै सन्दर्भमा विश्वविद्यालयमा चिकित्सा शिक्षाका लागि सिट निर्धारण गर्ने प्रक्रिया अन्तर्गत चिकित्सा शिक्षा आयोगबाट अनुगमन हुनु अत्यन्तै सकारात्मक र महत्वपूर्ण घटनाका रूपमा लिनुपर्छ। लामो समयदेखि प्रतीक्षामा रहेको चिकित्सा शिक्षा सञ्चालनको प्रक्रियाले औपचारिक रूपमा गति लिनु सुदूरपश्चिमवासीका लागि स्वाभाविक रूपमा खुसीको विषय हो।

तर, यति महत्वपूर्ण चरणमा प्रवेश गरिरहेका बेला विश्वविद्यालयको उद्देश्य, नेतृत्व र आगामी योजनालाई लक्षित गरी विभिन्न प्रकारका आरोप, आशंका र विरोधका आवाजहरू सुनिन थालेका छन्। असहमति राख्नु लोकतान्त्रिक अधिकार हो। कुनै पनि संस्थाको कामकारबाही माथि प्रश्न उठाउन पनि पाइन्छ। तरऽ प्रश्न के हो भने त्यस्ता प्रश्न तथ्य, प्रमाण र संस्थागत सुधारको उद्देश्यले उठाइएका छन् कि विश्वविद्यालयको विकास प्रक्रियालाई नै कमजोर बनाउने उद्देश्यले? यो प्रश्न अब सुदूरपश्चिमका सचेत नागरिकहरूले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ।

कुनै पनि विश्वविद्यालय वा सार्वजनिक संस्थाको आलोचना गर्न नहुने भन्ने होइन। बरु रचनात्मक आलोचना संस्थालाई अझ बलियो बनाउने माध्यम हो। तर, विश्वविद्यालयलाई अहिले आरोप–प्रत्यारोपभन्दा परिणाम चाहिएको छ। हामी सबैका आफ्ना धारणा, सुझाव र असहमति हुन सक्छन्। तर अहिलेको महत्वपूर्ण चरणमा एकअर्कामाथि आरोप लगाउनुभन्दा विश्वविद्यालयलाई थप सुदृढ बनाउँदै चिकित्सा शिक्षा सञ्चालनको लक्ष्य पूरा गर्न कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुनु आवश्यक छ।

विश्वविद्यालयले गरेका प्रयास र उपलब्धिहरूलाई सकारात्मक रूपमा अघि बढाउँदै, जहाँ सुधार आवश्यक छ त्यहाँ रचनात्मक सुझाव र सहकार्यका माध्यमबाट समाधान खोजौँ। त्यसैले सबै पक्षबीच सहकार्य, संवाद र सकारात्मक सोचका साथ अघि बढ्दै सुदूरपश्चिमवासीको लामो समयदेखिको सपना साकार पार्ने दिशामा परिणाममुखी पहल गरौँ।कुनै पनि प्रश्न वा जिज्ञासाको समाधान सम्बन्धित नियामक निकायको अनुगमन, मूल्याङ्कन तथा निर्णयलाई आधार मानेर खोजिनु उपयुक्त हुन्छ।

विश्वविद्यालयले चिकित्सा शिक्षामा पठनपाठन सञ्चालनका लागि आवश्यक भौतिक संरचना तथा आधारभूत पूर्वाधारको निर्माण कार्य सम्पन्न गरिसकेको अवस्था छ। चिकित्सा शिक्षा सञ्चालनका लागि आवश्यक थप सुविधा तथा उपकरणहरू पनि आवश्यकताअनुसार व्यवस्थित गर्ने प्रक्रिया अघि बढिरहेको छ। चिकित्सा शिक्षा सञ्चालन आफैँमा मापदण्डमा आधारित र जिम्मेवार प्रक्रिया हो। त्यसका लागि भौतिक संरचनासँगै पर्याप्त शिक्षक तथा स्वास्थ्य जनशक्ति, प्रयोगशाला, पुस्तकालय, अस्पताल तथा क्लिनिकल प्रशिक्षणको व्यवस्था, विद्यार्थीमैत्री शैक्षिक वातावरण र गुणस्तर सुनिश्चितताजस्ता पक्षहरू पनि महत्वपूर्ण हुन्छन्। विश्वविद्यालयले यी आवश्यक पक्षहरूलाई ध्यानमा राख्दै चिकित्सा शिक्षा सञ्चालनका लागि आवश्यक तयारी गरिसकेको अवस्था छ।

त्यसैले चिकित्सा शिक्षा आयोगबाट भएको अनुगमनलाई विश्वविद्यालयको तयारी र पूर्वाधारको वस्तुनिष्ठ मूल्याङ्कन तथा आवश्यक प्रक्रिया अगाडि बढाउने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्छ।आयोगको मापदण्ड अनुसार आवश्यक देखिएका विषयहरूमा सुधार वा थप व्यवस्था गर्न विश्वविद्यालय प्रतिबद्ध रहनु स्वाभाविक र सकारात्मक पक्ष हो। अबको आवश्यकता वर्षौँको मेहनतबाट तयार भएको पूर्वाधारलाई निष्क्रिय राख्ने होइन, त्यसको उचित र प्रभावकारी सदुपयोग गर्दै सुदूरपश्चिममा गुणस्तरीय चिकित्सा शिक्षा सञ्चालनको बाटो खोल्नु हो। पूर्वाधार तयार छ, अवसर तयार छऽ अब आवश्यक छ सकारात्मक सोच, सहकार्य र शीघ्र कार्यान्वयन।

कुनै प्राध्यापक, चिकित्सक वा विज्ञले विश्वविद्यालयमा चिकित्सा शिक्षाको सरकारी स्वीकृति प्राप्त भएमा आफू आएर सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नु आफैँमा सकारात्मक विषय हो। दक्ष तथा अनुभवी जनशक्तिलाई संस्थासँग जोड्ने अवसर विश्वविद्यालयको समग्र विकासका लागि महत्वपूर्ण आधार बन्न सक्छ। यसले विश्वविद्यालय र सम्बन्धित जनशक्तिको भविष्यलाई समेत थप सबल, समृद्ध र उज्ज्वल बनाउन योगदान पुर्‍याउनेछ। त्यसैले, यो अवसरलाई दुवै पक्षको हित र दीर्घकालीन भविष्यका लागि सकारात्मक रूपमा सदुपयोग गर्नु आवश्यक छ। 

हामीले व्यक्तिलाई होइन, विचार र कामलाई मूल्याङ्कन गर्ने संस्कार विकास गर्नुपर्छ। कसैले राम्रो सुझाव दिएको छ भने स्वीकार गरौँ। कसैले प्रमाणसहित कमजोरी देखाएको छ भने सुधार गरौँ। कसैले भ्रम फैलाएको छ भने तथ्यका आधारमा खण्डन गरौँ। तर विश्वविद्यालय जस्तो दीर्घकालीन महत्वको संस्थालाई व्यक्तिगत विवादको केन्द्र नबनाऔँ।

सुदूरपश्चिमले अब अवसर गुमाउने छुट छैन
सुदूरपश्चिम लामो समयदेखि विकासका विभिन्न सूचकमा पछाडि परेको क्षेत्रका रूपमा छ। उच्च शिक्षा, स्वास्थ्य सेवा, विशेषज्ञ जनशक्ति र रोजगारीका अवसरको अभावका कारण यस क्षेत्रका हजारौँ युवाले अध्ययन तथा रोजगारीका लागि अन्य प्रदेश वा विदेश जानुपर्ने अवस्था छ।

यदि आफ्नै क्षेत्रमा गुणस्तरीय चिकित्सा शिक्षा विकास गर्न सकियो भने त्यसको प्रभाव केवल केही विद्यार्थीको शिक्षामा मात्र सीमित हुँदैन। विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी उत्पादन गर्न सहयोग गर्छ, स्वास्थ्य सेवाको गुणस्तर र पहुँच विस्तार गर्न सक्छ, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न सक्छ, स्वास्थ्यसम्बन्धी अनुसन्धानको सम्भावना बढाउँछ, निजी तथा सार्वजनिक स्वास्थ्य संस्थाको विकासलाई प्रोत्साहन गर्न सक्छ  र सुदूरपश्चिमलाई स्वास्थ्य शिक्षाको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने आधार तयार गर्न सक्छ।

त्यसैले यो विषयलाई कुनै व्यक्ति, समूह वा राजनीतिक स्वार्थको सीमाभित्र राख्नु हुँदैन। यो सुदूरपश्चिमको पुस्तौँपुस्तासँग जोडिएको विषय हो। अब निर्णय र कार्यान्वयनको समय हो। वर्षौँसम्म हामीले सपना देख्यौँ। माग गर्‍यौँ। बहस गर्‍यौँ। आन्दोलन पनि भए। अब सपना कार्यान्वयनको चरणमा प्रवेश गरिरहेको छ भने फेरि पनि अनावश्यक विवादमै अल्झिरहने हो भने त्यसको मूल्य अन्ततः सुदूरपश्चिमकै जनताले तिर्नुपर्नेछ। 

त्यसैले अहिले सरकार, विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग, स्थानीय समुदाय, चिकित्सक, प्राध्यापक, विद्यार्थी र नागरिक समाजबीच सहकार्यको आवश्यकता छ। हामीले एउटा कुरा स्पष्ट बुझ्नुपर्छ– व्यक्तिहरू आउँछन् र जान्छन्, नेतृत्व परिवर्तन हुन्छ, सरकार परिवर्तन हुन्छ तर विश्वविद्यालय एउटा पुस्तौँपुस्तासम्म रहने संस्था हो। त्यसैले आजको विवादभन्दा भोलिको पुस्ताको भविष्यलाई प्राथमिकता दिनु आवश्यक छ। सुदूरपश्चिमको समृद्ध भविष्यका लागि यो अवसर नगुमाऔँ। 

सुदूरपश्चिमको भविष्यसँग जोडिएको संस्थालाई व्यक्तिगत आरोप–प्रत्यारोप र बेतुके विरोधको शिकार नबनाऔँ। आजको पुस्ताले यदि यो अवसरलाई सदुपयोग गर्न सकेन भने भोलिको पुस्ताले हामीलाई प्रश्न गर्नेछ। नेतृत्वलाई साथ दिऔँ, परिणामका लागि केही समय पर्खौँ। 

विश्वविद्यालयको नेतृत्व, त्यसको अनुगमन तथा मूल्याङ्कन गर्ने सम्बन्धित निकायहरूको मातहतमा रही विश्वविद्यालयले आफ्नो कार्यसम्पादनलाई संस्थागत र निष्पक्ष ढङ्गले अघि बढाइरहेको अवस्थामा तत्कालै अपेक्षित परिणाम देखिएन भन्दै हतारिनु बुद्धिमत्तापूर्ण नहुन सक्छ। त्यसैले यस्तो संवेदनशील संक्रमणकालीन अवस्थामा केवल शंका र आशङ्का व्यक्त गर्नुको सट्टा भएका प्रयासहरूलाई सकारात्मक रूपमा बुझ्दै नेतृत्वलाई आवश्यक साथ, सहयोग र रचनात्मक सुझाव दिनु सबैको साझा जिम्मेवारी हो।

विश्वविद्यालयको सफलता केवल नेतृत्वको मात्र जिम्मेवारी होइन, यससँग जोडिएका शिक्षक, कर्मचारी, विद्यार्थी, सरोकारवाला तथा सम्पूर्ण समुदायको साझा प्रयास र सहयोगबाट मात्र संस्थागत उपलब्धि हासिल गर्न सकिन्छ। नेतृत्वले गरेका सकारात्मक प्रयासलाई प्रोत्साहन गर्दै आवश्यक ठाउँमा रचनात्मक आलोचना र सुझाव दिन सकिन्छ, तर परिणाम आउनुअघि नै निष्कर्ष निकाल्नु वा अनावश्यक आशङ्का सिर्जना गर्नुले संस्थालाई नै कमजोर बनाउन सक्छ।

विश्वविद्यालयको नेतृत्वलाई आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक समय र वातावरण दिऔँ। परिणामको निष्पक्ष मूल्याङ्कन गरौँ, कमजोरी देखिए सुधारका लागि आवाज उठाऔँ र राम्रो काम भए त्यसलाई प्रोत्साहन गरौँ। अन्ततः विश्वविद्यालयको उपलब्धि कुनै एक व्यक्ति वा समूहको सफलता मात्र नभई यस क्षेत्रकै शैक्षिक भविष्यसँग जोडिएको विषय हो।

त्यसैले अब प्रश्न एउटै हो– अहिले पनि भएन भने आखिर कहिले त? यसैपटक सुरु गरौँ। तथ्यमा आधारित बहस गरौँ। व्यक्तिगत विवाद होइन, संस्थागत विकास रोजौँ। आरोप होइन, परिणाम खोजौँ। विभाजन होइन, सहकार्य गरौँ। सुदूरपश्चिमले लामो समयदेखि देखेको सपना अब व्यवहारमा उतार्ने समय आएको छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सफल बनाऔँ। सुदूरपश्चिममा चिकित्सा शिक्षाको नयाँ अध्याय सुरु गरौँ।

लेखक: एक प्राज्ञिक सुदूरपश्चिमेली

कमेन्ट लोड गर्नुस