सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको शुक्लाफाँटामा दीर्घरोगीको सङ्ख्या बढ्दो

२०८२ साउन २३, ०३:५८ रासस

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिकामा क्यान्सर, मिर्गौला, स्पाइनल इञ्जुरीलगायत दीर्घकालीन रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ। प्रारम्भिक जाँच तथा उपचार पहुँचको अभाव, समयमै रोगको पहिचान नहुनु र जनचेतनाको कमीजस्ता कारणले दीर्घरोगीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए। 

उनका अनुसार विगत तीन वर्षको तुलनामा स्वास्थ्य संस्थामा उपचारका लागि आउने दीर्घरोगीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। विशेषगरी क्यान्सर, मिर्गाैला फेल हुने र स्पाइनल इञ्जुरी (मेरुदण्डमा चोट वा कमजोरी) भएका बिरामी उपचार नपाएर जटिल अवस्थामा पुगेपछि आउने गरेका उनको भनाइ छ। 

आव २०८१/८२ मा मात्रै नगरका विभिन्न वडाबाट क्यान्सरका ४९, मिर्गौला डायलासिस गराइरहेका १२, मिर्गाैला प्रत्यारोपण गरेका एक, स्पाइनल इञ्जुरीका तीन जना बिरामी स्वास्थ्य शाखामा दर्ता भएका प्रमुख भट्टले जानकारी दिए। उनका अनुसार आव २०८०/८१ मा क्यान्सरका ३९, मिर्गाैला डायलासिस गराइरहेका १६, मिर्गाैला प्रत्यारोपण गरेका एक र स्पाइनल इञ्जुरीका दुई जना बिरामी दर्ता भएका थिए। आव २०७९/८० मा क्यान्सरका ३०, मिर्गाैला डायलासिस गराइरहेका १३, मिर्गाैला प्रत्यारोपण गरेका एक जना गरी कूल ४४ जना बिरामी स्वास्थ्य शाखामा दर्ता भएका थिए। 
 
दर्ता भएका बिरामीलाई नगरपालिकाले मासिक उपचार खर्चबापत रु पाँच हजारका दरले उपलब्ध गराउँदै आइएको भट्टले जानकारी दिए। उनले स्वास्थ्य संस्थाको सम्पर्कमा नआएका बिरामीको सङ्ख्या अझ बढी हुन सक्ने बताए। उनका अनुसार क्यान्सरकै कारण तीन वर्षको अवधिमा नगरपालिकाका सात जनाको मृत्यु भइसकेको छ।

दीर्घरोगीमा अन्यको तुलनामा दलित तथा आदिवासी जनजाति समुदायका महिला र पुरुषको सङ्ख्या बढी देखिएको छ। स्वास्थ्यकर्मीका अनुसार स्थानीयमा स्वास्थ्यप्रति चेतनाको कमी, अस्पतालसम्म समयमै नपुग्नु, तथा कतिपय अवस्थामा धार्मिक वा परम्परागत उपचारमा निर्भर हुनु रोग गम्भीर बन्ने प्रमुख कारण रहेका छन्। करिब ७० प्रतिशत बिरामी आर्थिक अभावका कारण चितवन, काठमाडौँ वा अन्यत्र उपचारका लागि जान सकिरहेका छैनन्।

झलारी पोली हेल्थ क्लिनिकका स्वास्थ्यकर्मी प्रेम धामीका अनुसार धुमपानको बढ्दो प्रयोग र खानपानमा नियन्त्रण नहुनुजस्ता कारणले क्यान्सर र मिर्गाैला रोगीको सङ्ख्या हरेक वर्ष बढ्दो छ। “सबैभन्दा ठूलो चुनौती भनेको रोग समयमै पहिचान हुन नसक्नु हो,” उनले भने, “क्यान्सरका बिरामी प्रायः अन्तिम चरणमा मात्रै उपचारका लागि स्वास्थ्य संस्थामा पुग्ने गर्छन्, त्यस पछि उपचार सम्भव हुँदैन, मिर्गाैला रोग र स्पाइनल इञ्जुरीका बिरामी पनि यही समस्याबाट ग्रसित छन्।”

स्वास्थ्य प्रणालीको पहुँच अभावसँगै सामाजिक र आर्थिक पक्षहरू पनि दीर्घरोगीको सङ्ख्यामा वृद्धि हुनुको कारण देखिएको छ। स्वास्थ्य शाखा प्रमुख भट्टका अनुसार दीर्घकालीन रोगको प्रभावले परिवारको आर्थिक अवस्था कमजोर पार्ने, कार्यक्षमता घटाउने र सामाजिक समस्या सिर्जना गर्ने भएकाले यसलाई गम्भीर रूपमा लिनु आवश्यक छ। 

नगरपालिकाले दीर्घरोग नियन्त्रणका लागि जनचेतना, प्रारम्भिक जाँच र उपचार सेवा विस्तार गर्ने योजना बनाई कार्यान्वयनमा ल्याउनुपर्ने देखिन्छ। नगरमा आधारभूत सेवा र प्राथमिक उपचार सेवामात्रै उपलब्ध रहेको छ। विशेषज्ञ उपचार सेवाका लागि नगर क्षेत्र बाहिर जानुपर्ने बाध्यता छ।  
 

कमेन्ट लोड गर्नुस