देउवा समूहले १० जेठमा धनगढीमा सुदूरपश्चिमस्तरीय भेला गर्ने
धनगढी: शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला आयोजना गर्ने भएको छ। देउवाको गृहप्रदेश सुदूरपश्चिममा आगामी १० जेठमा भेला गर्न लागिएको हो।
भेला धनगढीस्थित सौराई स्क्वायरमा आयोजना गरिने जानकारी समूहले सार्वजनिक गरेको प्रचार सामग्रीमा उल्लेख गरिएको छ।
यसअघि उक्त समूहले पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय दुई दिने विचार गोष्ठी सम्पन्न गरेको थियो। अहिले सुदूरपश्चिममा हुन लागेको भेलालाई कांग्रेसभित्रको आन्तरिक राजनीतिक गतिविधिका रूपमा हेरिएको छ।