सुर्मा सरोवर बिरिजात मेला

बझाङ: हिउकि हिमान्चल पानिकी छाया । सुनकी भौरणी फोणी मान्तालोक आया । कैकी छ पुत्र,कैकी छ जाया? ईन्दैकापुत्र मन्डवीकी जाया।
परापूर्व कालखण्डमा भुमीराज देवताको यो धर्तिमा आगमन भएको पाइन्छ । जस्मा जात्राको नालीबेली पनि जोगिन्छ। भुमीराज देवताका सोह्र बहिनि थिए,सबै भन्दा जेठी दुर्गादेवी र कान्छी सुर्मादेवी हुन। सुर्मादेवी छिपिली (चोखो) देवीको रूपमा लिइन्छ। किम्वदन्ति अनुसार महादेवका सात भाई थिए।
सातै भाई महालिङ्ग ९महादेव ०दानवैले खाया । एकलो महालिङ्ग ओलान डोलान माल मुनि लाग्या ।।

महादेवका छ वटा भाई दानवले खाई दिएपछी घुम्दैफिर्दै महादेव मालकी थली पुर्णागिरि तर्फ लागे। महादेव र भुमिदेवको भेट पिपलको बोट भएको चौतारीमा हुन्छ। दुवै अपरिचित थिए,दुवैको एक आपसमा कुराकानी भएछ,हुँदा हुँदा परिचय हुन्छ, महादेवले भुमिराजलाई कहाँ जान लागेको सोधेपछी भुमिराजले ज्वाई खोज्न हिडेको बताउछन, भुमिराजले महादेवलाई सोधेपछी महादेवले कन्या खोज्न हिडेको भन्छन।

जवाफ सुनेपछी भुमिराज जुवा खेल्न प्रस्ताव गर्छन। भुमीराजले जुवा हारेपछि सोह्र बहिनिको बिवाह महादेव संग गरिदिने र महादेवले जुवा हारे भुमिराजको बाख्रा चराईदिने बाजी राखेर जुवा खेलेछन,भुमिराजले जुवा हारेछन, सर्त अनुसार महादेव संग सोह्रै बहिनिको बिवाह गरिदिए। दुर्गादेवी भुमिराज भन्दा जेठि भएकीले महादेवलाई भिनाजु भन्छन।


धौल्पुरको जन्म: किंवदन्ती अनुसार बाउद र राउद भन्ने दुई भाई थिए। उनिहरु बझाङको घोगाणा भन्ने ठाउमा बस्दथे। त्यही समयमा आगनमा बिस्कुन अनाज सुकाईने चलन रहेको थियो। यसरी आगनमा सुकाइएको बिस्कुनलाई जङ्गली जनावर थार आएर दिन दिनै खाँदो रहेछ, सधै यसरी बिस्कुन सिद्याय पछी बज्यैले सहन गर्न नसकी बाजेलाई भनीछन, तौरो झकुलो पागणो हमीदेउ, हौरो गुन्युचोलो तमी लैझाउ, त्यति बेला पागणो एक प्रकारको पहिरन लगाउने गर्दथे।
यती सुनेपछी दुवैजना बाजे मिलेर थारलाई लखेटेछन, थारलाई लखेट्दा लखेट्दा सुर्माको जलजला भन्ने ठाउँमा पुगाएछन, गर्भवती थार लडेछ बच्चा तुहिएछ, यसरी धौल्पुरको जन्म भएको थियो। सुर्माभवानी माताले थारको (भेष) रुप धारण गरेर गएकी थिईन भन्ने मान्यता अहिले पनि रहीआएको छ ।
महादेवका १६ वटा श्रीमती र एक निजेरी नामकी कमारी थिईन, राक्षस कमारी निजेरीका पुत्र डाडाबाघ थिए, सुर्माले थारको रुप धारण गरेका बेलामा धैल्पुर (धौल्देउ) लाई छोडेर आएकी थिईन। बच्चालाई छोडेर आएपनी पछि पिउला भनेर दुध छोडेर आईछन, त्यो दुध डाडाँबाघले पिएको हुनाले राक्षस पुत्र डाडाबाघ देवता बनेको बिश्वास गरिन्छ।
सुर्मा भवानीमाता थारको भेषमा आएको बेला सिकारिले लखेट्दै लिदा सुर्मा तालमा बिलाएको बुढापाका बताउछन।
सुर्मादेवीको सरोवर यात्रा: किंवदन्ती अनुसार महादेवलाई कुष्ठरोग लागेछ,रोगको उपचारका लागी विभिन्न औषधी तथा जडीबुटी प्रयोग गरिएको थियो। यति गर्दा पनि रोग निको भएन, लसुन पिसेर लगाएपछी निकोहुने सुनेपछी दुर्गाले सुर्मालाई लिएर लसुन पिस्न लगाईछिन, दुर्गाले ओखलमा लसुन राखी मुसलले कुट्न सुरु गरिछन, लसुन उछीट्टीएर ओखल बाहिर गएछ, लसुन बटारेर ओखलमा राख्न दुर्गाले सुर्मालाई भनिन, सुर्माले रुमालले नाक छोपेर बिपरित दिसा फर्केर लसुन बटारेर ओखलमा राख्न थालिन, यस्तो गरेको देखेपछी दुर्गाले रिसाउदै भनिन,“तत्तिकी छिपिली छै बैना हिउसंकर झानू (त्यती चोखो भए यो ठाउ छोडेर हिमालय जाउ) दुर्गाको यस्तो बचन सुनेपछी सुर्माले भनिन “ हिउसंकर झाउलो भनी मनमाई गुमानु (यो ठाउ छोडी हिमाल तिर जाने बिचार मेरो पनि थियो) यस पटक भन्दा पहिले दुई बहिनि बिच मनमुटाव हुदा दुर्गाथलि मन्दिर थलिनौबिस बाट पागरको आधा बोट चुडेर सुर्मादेवीले लिएर आएको किंम्वदन्ती रहेको छ, त्यो जस्ताको त्यस्तै अहिले पागरचडी मन्दिर भित्र देखिन्छ।
दुर्गाको बचन सुनेपछी सुर्मा हिमालतिर जान लागिन,सुर्मा गएपछी निजेरि पनि उनको पछी लागिन। सुर्माले खुट्टामा पउला (जुत्ता) लगाएकि थिईन भने निजेरीले दोचा (भाडको रेसाले बनाएको) लगाएकी थिईन। यसरी अघि अघि सुर्मा पछिपछि निजेरी हिमालय तिर लागे,सुर्माले धेरै ठाउँमा आफू बस्ने ताल बनाउन कोसिस गरेकी थिईन, तर ताल बनाएर भागबन्डा नगर्दै निजेरी पुग्थिन। राक्षसनीले छोएपछी सुर्मा नबसी अगाडि बडथिन, धेरै ठाउँ कोसिस गर्दा असफल भएपछी सुर्माले पउला साटेर दोचा लगाईन।
दोचा नचिप्लने पउला चिप्लिने भएकाले निजेरीले सुर्मा लाई भेटाउन सकिनन, हालको उच्च हिमाली भेगमा रहेको सुर्मा सरोवर तालमा यसरी बसाई सरेको भन्ने भनाई छ। जहाँ जहाँ विभिन्न भेषद्धारा सुर्मा देवी गईन, तहाँ तहाँ देवीको मन्दिर स्थापना गरिएका छन । उनै देवीको नामले यो बिरिजात पर्व परिचित छ,जात्रा यसरी सुरु हुन्छ।
सुर्मा सरोवर बिरिजात मेला प्रत्येक वर्ष श्रावण शुक्ल औशीका दिन देखी सुरु हुने गर्दछ। सुदूरपश्चिमकै सबै भन्दा लामो समय सम्म लाग्ने धार्मिक पर्यटकीय तथा सांस्कृतिक महत्व बोकेको प्रसिद्ध मेला हो बिरिजात, जुन पर्व १७ दिन सम्म धुमधामका साथ मनाउने गरिन्छ।
औशीका दिन देखी एक चित्त एकाग्र चोखो निम्तो रही एक छाक मात्र भोजन गरि सुर्मा भवानी माताको व्रत आरम्भ गर्ने गरिन्छ सुर्मादेवी माताको पूजा आराधना गरी बाधा मान्ने गर्दछन, बाधा मानिएको समयमा भक्तजनहरू अपवित्र हुन्छन भनेर सुर्मा भवानी पर्व जात्रामा सहभागी हुने भक्तजनहरूलाई जात्रा अवधीभर लसुन मुसुर माछा-मासु रक्सी समेत बार्ने गरिन्छ तथा निषेध गरिन्छ।
विधिवत् रूपमा जात्रा पहिलो दिन शुक्ल एकादशीका दिन श्रद्धालु भक्तजनहरू आ आफ्नो भूमिबाट लाकुणीको पूजाआजा गरी हातमा लिई सुर्मा सरोवरका लागी यात्रा प्रस्थान गर्ने गर्दछन। विशेष गरि यस ऐतिहासिक धार्मिक प्रर्यटकिय मेलामा बझाङको जयपृथ्वी नगरपालिका सुर्मा, छबिस र अन्य पालिका बाट तीर्थालु आउने गर्दछन साथै दार्चुलाको अपि हिमाल लगायतका पालिकाका बाट पनि सुर्मा बिरिजात मेलामा सोहि दिन यात्रीहरूले साईत सार्दछन।
जतिबेला सुर्मादेवीले सुर्मा ताल सम्म जुन बाटो हिडेकी रोजेकी थिईन सोहि बाटो हुदै जात्रा लोग जाने गर्दछ। यो पर्वमा हिलो पानी ढुङ्गोमाटो नभनी साता दिन सम्म खालि खुट्टा हिड्नु पर्ने हुन्छ, छाता सम्म पनि मनाई गरिन्छ पहिलो दिन धामिलेक बाट पिठालेक, चैनपुर, सेलाखेत, थपाली हुदै लोग घोगाणा पुग्दछ, घोगाणाका दाजुभाई धामी तथा भक्तजनलाई पड्छन आउने परम्परा छ, सोहीअनुसार घोगाणी दाजुभाईले काँधमा बोकी मन्दिर भित्र प्रवेस गराउछन।
उता छविस पाथिभेरा गाउपालिका खोरी घट्या सुर्माधल्देव देवताका आलिपालि पनि सुर्मा सरोवर जात्राका लागी नेजा बाजा सहित प्रस्थान गर्दछन साथै एकादशीकै दिन बिहानै दार्चुलाको अपिहिमाल गाउँपालिका बाट पनि सुर्मासरोवर कुण्डमा स्नानका लागी आउने गर्दछन।
जात्रामा विभिन्न ठाउँमा रहेका मन्दिरका प्राङ्गणहरू तथा परम्परागत रूपमा मान्दै आएका ठाउँमा देवी धल्देउ का देवतालाई पालि अनुसार काँधमा चढाएर चाहाँ चाहाँका साथ बोक्दै जाने गर्दछन। सोही दिन मन्दिरमा पूजापाठ गर्ने फाग-मागल गाउने ढुस्का भारी खेल खेल्ने लगायतका धार्मिक कार्य गर्दै जाग्राम बस्दछन। राति चाहा लगाउदै धामी लाई चलाउने गरिन्छ जस्लाई देवाली (धामीमा देवता अवतार भएका बेला गरिने कुरा) भनिन्छआफूले मागेको वर पुरा होस भन्दै देवालीका बेला हात जोड्दै कर गरिन्छ।
धामीमा देवता अवतार हुन्छ काप्छन चल्छन देउधमेलो पूजापाठ गरिन्छ र अवतारमा देखिएको कुरा बेलि बृस्टान्त आफ्नो भाषामा बताउछन पालि आफ्ना मागहरू देवता समक्ष राख्दछन।
भोलि पल्ट दोस्रो दिन हातमा लाकुरी तथा निगालाको लौरो लिई जात्रा सुर्माको थकुन्नाडा सम्म प्रस्थान हुन्छ जात्रा लोग दालिचौर हुदै थकुन्नाडा पुग्दछ भने उता छबिसका धेरै ठाउबाट तिर्थालुहरू थकुन्नाडामा पुग्ने गर्दछन। बाह्र पालि
(समर्थक) बाउन्नखुवा (ठाउँ बस्ती) भएको यो सुर्मासरोवर जात्रामा सबै भक्तजनको भेट हुने स्थल थकुन्नाडा नै हो यस गाउँमा वोहोरा तथा पुजारा थरका मानिस बस्ने गर्दछन, जात्रामा बाहिरबाट आउने सबै तीर्थालु तथा धामी झाँक्रीलाई पड्छने परम्पराअनुसार सुर्मा धल्देव तथा अन्य धामीलाई काँधमा लगाई ढाका नाच सहित मन्दिर प्रवेश गराउछन ।
मन्दिरमा राति देवालीधमाली हुन्छ धामी चल्ने काप्ने सहित देवताले पछीहुने तथा सजक रहन बताने तथा मन्दिर भित्र देवि देवताको छलमा चल्ने रुनेकराउने पनि तमाम भेटिन्छन ।
राति मन्दिरभित्र भजन-कृतन हुन्छ भने थकुन्नाडा मन्दिरबाहिर रातभरि फाग-मागल ढुस्का भारी खेल डेउडा गाउदै ढाका बजाउदै जयजयकार गर्दै रात बिताउछन। थकुन्नाडामा पर्वको अवसर पारि सांस्कृतिक धार्मिक तथा खेलकुदका कार्यक्रमहरू पनि मेला व्यवस्थापन समितिले सञ्चालन गर्दै आएको छ जस्ले गर्दा मेलाको रौनक फरक किसिमको पाइन्छ, यो रात पनि यसरी बित्दछ।
आ-आफ्नो अनुकूलता पारी सोही दिनको मध्य रातिदेखि (ब्यान्देल) उज्यालो नहुदै सरोवर कुण्डको यात्रामा पुरुष तिर्थालुहरू मात्र हिँड्ने गर्दछन, महिला तिर्थालुहरूलाई भने सरोवर सम्म जानका लागी रोक गरेको पाइन्छ। उकालो अप्ठेरो बाटो अग्ला हिम शृङ्खला लोट्नी हुदै नाचनी पुगिन्छ नाचनीमा पहिलो पटक सरोवर जाने तीर्थालुलाई काँध लगाएर केही समय बोक्ने चलन छ जस्लाई बालो बिरे नौलणा (नयाँ) भनिन्छ।
आफूले लिएको सातुसामल खादै विश्राम गर्दै बाटोमा चाहा चाहा लगाउदै देवीको नाम जप्दै देवीका फाग मागल गाउदैशंख फुक्दै नेजागाजाका साथ बाजाको रुपमा ढाका घण्टी बनाउदै लोटनी नाचनी बुडो बिनायक बाउन्न ओडार मधुखर्क, जलजला, चादेसिखर हिमाल अगौठ्या ओढार देलठेलापार गर्दै सुर्मादेवीको जयजयकार चाहाँचाहाँ गर्दै सुर्मा सरोवर ताल पुग्ने गर्दछन।
लगभग समुन्द्री सतहदेखी ६ हजार ५ सय २३ मिटर उचाईमा रहेको सुर्मा ताल सुर्मा थकुन्नाडा देखी लगभग १६ घण्टा पैदलमा पुग्न सकिन्छ, बाटोमा मुसलधारे पानी असिना पर्यो भने सरोवर पुग्न थप समय लाग्ने हुन्छ।
छिपिलि सुर्मा देवीको छल तथा शक्ति स्नेहले सामान्य लेक लाग्नु बाहेक अन्य समस्या भने यात्रुहरूलाई हुदैन, कुनै तीर्थालुलाई समस्या भएमा पनि एक आपसी सहयोगले लिन र फर्काउन सहयोग गर्ने गर्दछन।
अन्य दिन भन्दा यो दिन महत्वपुर्ण दिन हो,आफुले लिएको चिना बाना नेजा फुल अक्षता घण्ट सुन चादी द्रव्य धूपबत्ती मन्दिरमा चढाउदै सुर्मा तालमा स्नान गरी सुर्मातालको दर्शन गर्दै पुजापाठ गरी आफूले चाहेको वर माग्दै कर जोडी सोही रात तालको वरपर रहेका ढुङ्गे ओढारमा सुत्ने गर्दछन भने कतिपय ताल वरिपरी त्रिपाल टाङेर रात बिताउने गर्दछन। उच्च हिमाली भेग तापक्रम माईनस डिग्रीमा हुने भएकाले चिसो अत्यधिक हुन्छ।
दार्चुला जिल्लाका तीर्थालु बाला बुढाबिर भने सुर्मादेवीको दर्शन पूजाआजा गरेर फर्किसकेका हुन्छन, बझाङको सुर्माबाट गएका तीर्थालु र दार्चुला मार्माबाट आएका तिर्थालुहरूको सुर्मा सरोवरमा भेट भएमा तिर्थालुहरूलाई राम्रो हुदैन भन्ने भनाई छ।
चौथो दिनको बिहानीमा सुर्मा जलकुण्डमा देवाली धमाली हुने धामी चल्ने तिर्थालुहरूले बर माग्ने कार्य हुन्छ। धामी झाँक्रीमा देवता अवतार भएपछि चल्दै तालको बिच भागमा पुग्ने गर्दछन। सावधानका साथ सुर्मादेवी र धल्देउलाई फिर्ता हुन अनुरोध गर्दै फिर्ता बोलाइन्छ।
सुर्मा ताल बाट गङ्गाजल गंगी माटो तथा ठुला-ठुला पाटन बाट गौरीधान तथा रंगीचंगी फूल लिएर सुर्मासरोवरलाई बिदाइ गर्दै आलिपाली बाला देखि बुढाबिर जत्यारुहरु घर फर्किन्छ। सुर्मा ताललाई ऐतिहासिक धार्मिक तीर्थको रूपमा पनि लिइन्छ, जहाँ तीर्थ गएका बालाबिरे नौलणाको जनै हाल्ने पनि गरिन्छ, नौलणा घर फर्केको पाँच दिन पछि पञ्चरात्री पूजा गर्ने परम्परा छ। सुर्मा सरोवर मेला यो दुई किसिमले मनाइन्छ ।
यो वर्ष ठुली बिराई र अर्को बर्षसानि बिराई। फरक यति मात्रै हो सानी बिराई भन्दा ठूली बिराईमा भक्तजनहरू सरोवरमा बढी सङ्ख्यामा पुग्ने गर्दछन,एकचित्त मन सुद्ध सफा भएर जसले सुर्मा सरोवर यात्रा गर्दछन सुर्मादेवीले उसले चाहेको वर मागेको फल दिने भनाई छ, यसै विषयमा सरोवर यात्रा गरेका यात्री तथा तीर्थालु भक्तजनलाई सोध्दा मनोकामना पुरा भएको तथा, हुने कुरा बताउछन।
सरोवर जानेवेला भन्दा फर्किने बेलाको छुट्टै किसिमको आनन्द हुन्छ, फर्किने बेला बिच बाटो अगौठ्या ओढार चादेसिखर बुढो विनायक भुक्तोलि आदि स्थलहरूमा देवाली धमाली हुने गर्दछ। चाहा चाहाका साथ धामी झाँक्री चलाउने गरिन्छ। जसरी जानेबेला गीत फाग मागल ढाका बाजा शंख, घण्ट बजाई रमाइलो गरिन्छ त्यसैगरी फर्किन्छन।
अग्ला हिमाल हिमश्रृङखला पाटन तथा पर्यटकीय क्षेत्र पार गर्दै दिनभरिको पैदल यात्राका साथ लोग गाजाबाजा सहित लोट्नी भन्ने ठाउँमा पुग्दछन। लोट्नी सम्म भने महिला दिदी बहिनिहरूलाई जान दिने चलन छ। आफ्ना आफन्त पर्छनका लागि उक्त लोट्नी भन्ने ठाउँसम्म महिला दिदी बहिनिहरू विभिन्न मिठा मसिना खानेकुरा लिएर पुगेका हुन्छन।
सरोवरबाट जब जत्यारु लोट्नी सम्म पुग्दछन तब सरोवर बाट ल्याएको गंगी माटो टिका र गौरी धान लगाई आर्सिवाद लिने दिने सहित खुसी साटासाट गरिन्छ। दिनभरीको थकान मेट्दै खानेकुरा खान्छन र केही समय पछि भूक्तोली पुग्दछन ।
भुक्तोलीबाट सुर्माका दाजुभाईले सुर्मा धल्देव र मष्टाका देवतालाई काँधमा लगाई चाहा चाहाका साथ थकुन्नाडा पुगाउँदछन्। जात्रा थकुन्नाडा पुग्ने दिन पानी नपरी नछाड्ने सुर्माका बुढापाका बताउछन।थकुन्डाडामा डाकेनाच खोरी घट्टेका दाजुभाईहरूले खुब रमिता गर्दछन। जात्रा रमाइलोका साथ थकुन्नाडा पुगि सोही दिन जत्यारु तीर्थालु त्यतै बस्दछन।
पाँचौँ दिनको बिहान सुर्माबासीले अवारो (अन्न) घरघर बाट उठाई मिष्टान्न भोजन खुवाई देवी धल्देउ मष्टाका धामी झाँक्री पुजारी र जयपृथ्वी छवीस लेकगाउ खोरी घट्या लगायतका अन्य जत्यारुलाई बिदाइ गर्ने गर्दछन।
आधा जत्यारु डाँडापारि खोरी घट्यातिर आफ्नै तरीकाले पर्वलाई विसर्जन गर्दछन भने आधा तिर्थालुहरू लोग सहित घोगाणा तर्फ लाग्दछन, घोगाणामा ठुला दुई मन्दिर छन जसरी जादा रमाइलो गरिन्थ्यो फर्किदा पनि सोही किसिमले धार्मिक कार्य गरि रमाइलो गरिन्छ। फाग गाउने ढुस्का खेल्ने भारीखेल लगाउने डेउडा खेल रातभरी खेल्ने गरिन्छ ।
छैटौँ दिन यात्रुहरूलाई घोगाणी दाजुभाईले अवारो उठाई खाना खुवाई बिदा गर्ने चलन छ। घोगाणालाई बिदाइ गर्दै लोग सेलाखेत पुग्दछ देवीका धामीलाई बिदाइ गर्दै जात्रा बझाङको सदरमुकाम चैन्पुर हुदै माधुकाटिया र काप्रिकोट बस्दछ भने तिर्थालुहरू आ आफ्नो घर पुग्दछन उता मयानामा पनि जत्यारुहरु फाग गाउने डेउडा खेल्ने सहित धामी चलाई चाहाचाहाका साथ रमाइलो गर्ने गर्दछन ।
सुर्मा सरोवर बिरिजात मेला जात्राको अन्तिम सातौँ दिन जयपृथ्वी ११ पिठालेक धामीलेकको ठानाचौर भन्ने ठाउँमा परिपाली बाट दिउसो तिर धामीझाँक्री सहित लोग नेजागाजाका साथ जात्रा हेर्ने मानिस जम्मा हुने गर्दछन भने वारिपारीबाट दाजुभाई दिदीबहिनी बिरिजात पर्व हेर्न आउने गर्दछन।
सरोवर बाट फर्केका तिर्थालुहरूले गंगीमाटो तथा गौरी धान लगाईदिने मिठाइ तथा फलफूल खुवाउने परम्परा रहि आएको छप्रतेक घरबाट घाट्या (दही राख्ने भाडा) मा दही र पुरि पकवान लिएर ठानाचौरमा जम्मा हुने गर्दछन।
जब दिन ढल्कीदै जान्छ तव जात्रामा सहभागीले चाहाचाहाका साथ धामी चलाउछन देवाली हुन्छ देवालीमा देवी धल्देउ डाडाबाग लागा लगायत अन्य देवता अवतार हुदै चल्छन देवताले भईरहेको तथा भविष्यमा हुने केही कुरा बताउदै देवाली धमाली अन्त्य हुन्छ। सङ्कलन गरेको दहीलाई सबैलाई बाड्ने र पुरी पनी खुवाउने गरिन्छ जस्लाई दहीचाटो (दहीखाने) भनिन्छ।
दशौ दिन व्रत बस्ने सातादिन सम्म जात्रामा सहभागी हुने तथा पर्वमा रमाउदै धामीझाँक्रीलाई काँधमा बोकेर पुजारालाई घर पुर्याउने तथा सबै तिर्थालुहरूलाई धामीले हात हल्लाउदै बिदाइ गर्दै धामीलेकमा रहेको देवताको दहीपाण (देवता बस्ने) घरमा पुनः देवाली-धमाली हुन्छ र यसरी पवित्र धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय महत्व बोकेको सुर्मादेवी, सुर्मा सरोवर बिरिजात मेलाको बिसर्जन हुन्छ।
नरेन्द्र बहादुर थापा
जयपृथ्वी नगरपालिका-११ पिठालेक बझाङ।