मन्त्रालयमा भीडभाड नगर्न र बधाई कार्यक्रम सीमित गर्न रास्वपाको निर्देशन
काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार गठनपछि मन्त्रालयहरूमा अनावश्यक भीडभाड नगर्न आफ्ना नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई निर्देशन दिएको छ।
पार्टीको केन्द्रीय अनुशासन आयोगद्वारा जारी विज्ञप्तिमा सरकार गठनपश्चात मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिन मन्त्रालयमै पुगेर भीडभाड गर्ने, खादा तथा फूलमाला लगाउने, फोटो खिच्ने जस्ता गतिविधि बढेकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ। यस्ता गतिविधि पार्टी अनुशासनविपरीत र भड्किलो देखिएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा नागरिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने वर्तमान प्राथमिकतालाई ध्यानमा राख्दै मन्त्रालयहरूमा अनावश्यक भेटघाट, जमघट तथा भीडभाड नगर्न आग्रह गरिएको छ। यसले सरकारी कामकाजमा ढिलाइ हुनुका साथै कार्यसम्पादन र गुणस्तरमा असर पुग्ने पनि बताइएको छ।
रास्वपाले आफ्ना सम्पूर्ण पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूलाई यस्तो गतिविधि नगर्न कडाइका साथ निर्देशन दिँदै नागरिकले अपेक्षा गरेअनुसार छिटो र प्रभावकारी सेवा प्रवाहमा सहयोग गर्न आग्रह गरेको छ।