सुदूर नेपाललाई विश्वसँग जोड्दै

के किर्तिपुरका भित्ताले मलाई सम्झिदैनन् ?

२०८२ साउन १५, ०६:४८

धनगढीः कसैले सोध्यो तिमीलाई सबैभन्दा मीठो समय कुन थियो?

मैले ढुक्कसँग भने “किर्तिपुर“। त्यहीँको साँघुरा गल्ली, पहेँलपुर ईँटाको बाटो, गल्लीमा फिँजिएको चिया पसलको बास्ना, अनि त्रिभुवन विश्वविद्यालयको मूलगेट छेउको त्यो पुरानो चोक यी सबै अझै पनि सम्झनामा काँचुली फेरिरहेका छन्। 

लोकसेवा तयारीको नाममा काठमाडौं आउनु ठूलो निर्णय थियो। झोला भिरेर बसपार्क उत्रिएपछि, कोठा खोज्दै, चिनार खोज्दै, म कीर्तिपुर आइपुगेको थिएँ। त्यो सहर जुन सहरभन्दा बढी एउटा बौद्धिक बगैँचा जस्तो लाग्थ्यो।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा मैले बिताएका ती बिहानहरू, दिउँसोहरू, साँझहरू आज पनि मेरो आत्मामा प्रतिध्वनित भइरहेका छन्। चिसो चिसो ग्यालरी, पुराना कुर्सी, अनि किताबहरूको बास्ना अहिलेसम्म जीवनमा त्यति गहिरो ध्यान कतै दिइएको थिएन। म कतिपटक एउटै शेल्फमा उभिएर  बिभिन्न गुरुहरुले लेख्नुभएका लोकसेवाका किताब र संविधान  पढ्थेँ, अनि झ्यालबाट झुल्केको कीर्तिपुरको झिल्कोले मलाई झस्काउँथ्यो तिमी एक्लो छैनौ यो नगर तिम्रो सपना बनेर साक्षी छ। 

पढाइ जति गहिरो थियो, कीर्तिपुरको साथियताले त्यति नै उज्यालो बनाउँथ्यो। विश्वविद्यालय गेटको छेउको चिया पसलमा गफ, बहस, योजना र कहिलेकाहीं निराशा पनि पोखिन्थ्यो। यसपाली पास भइन्छ होला नि यार? अनि नभइए पनि अर्को पटक दिनुपर्ला...

यी संवादहरू अझै कानमा गुन्जिन्छन्, मानौं त्यो चिया पसल अझै त्यहीँ छ म कुर्सीमा बसेर मित्रहरूको हाँसोमा भिज्दै छु। किर्तिपुरका घरहरूले भित्तामा कथा कोरेका छन्। कहिले रंगीबिरंगी म्युराल, कहिले पुराना झ्यालहरू, कहिले टाट पल्टिएका पोस्टर। यी भित्ताले दिनरात हजारौं विद्यार्थीका सपना हेरिरहेका छन् र म पनि त्यही सपनाहरूको भीडमा थिएँ।

कहिले तनावले निद्रा हरायो, कहिले आशाले आँखा रसाए। म उनै भित्ताहरूसँग बोल्थेँ म पास हुन्छु नि? अनि ती भित्ताहरू मौन मुस्कुराउँथे मानौं भन्न खोज्दै थिए तिमी प्रयास गर हामी तिमीलाई सम्झिरहन्छौं। दुई वर्ष भयो जागिर खाएको।

न्यायसेवामा सेवा दिँदै छुँ कार्यालयको कुर्सीमा बस्दा झट्ट सम्झिन्छु, त्यो चिसो लाइब्रेरी, त्यो पसिनाले भिजेको डेस्क, त्यो कीर्तिपुरका साँझहरू, त्यो सपना बुनिरहेको समय, दैनिक व्यस्तता, फाइलको थुप्रो, जिम्मेवारी र अनुशासन बीच पनि हरेक साँझ म आफूलाई सोध्ने गर्छु के ती भित्ताहरू अझै मलाई सम्झिरहेका होलान्? के किर्तिपुर अझै मेरो पाइला कुरिरहेको होला? किर्तिपुर अब टाढा छ, भौगोलिक हिसाबले मात्र हैन, समयको हिसाबले पनि।

तर त्यहाँ बिताएका दिनहरू आजको म बन्ने गोरो माटो थिए।आज पनि जब बिहान म अफिस जान तयार हुन्छु, शर्टको बटन बन्द गर्दा मलाई सम्झना आउँछ। म त्यो कोठामा बत्ती निभाएर बचेको पैसा कहाँ–कहाँ खर्चिन्थेँ, चिया होस् या फोटोकपी।

किर्तिपुर, तिमीले मलाई बिस्र्यौ होला...

शायद अब त्यहाँ नयाँ विद्यार्थीहरू छन्, नयाँ सपना बोकेर आउने अनुहारहरू। चिया पसलहरूमा अब अरूको गफ हुन्छ। भित्ताहरूमा नयाँ पोस्टर टाँसिन्छ। तर म तिमीलाई बिर्सेको छैन कीर्तिपुर।
र मलाई लाग्छ तिमीले पनि मलाई बिर्सेका छैनौ।

किनभने तिमीले देखेका मेरा आँशु थिए, तिमीले सुनेका मेरा धडकन थिए, तिमी साक्षी थियौ मेरो संघर्षका। त्यही भएर म फकिरहन्छु...साँझ पर्न लाग्दा मनमा प्रश्न बन्छ के किर्तिपुरका भित्ताले मलाई सम्झिदैनन्? सायद सम्झिन्छन्, सायद तिनीहरूले पनि मलाई खोजिरहेका छन् किनभने म त उनीहरूकै एक हिस्सा थिएँ...।

प्रकाश रिमाल
न्यायसेवामा कार्यरत, कीर्तिपुरलाई कहिल्यै नबिर्सने एउटा साधक
 

कमेन्ट लोड गर्नुस