सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा स्याउ जोन कार्यक्रम लागु भएपनि स्याउले बजार पाएन

२०७६ भदौ २७, ०६:३४ खबर संवाददाता

प्रधानमन्त्री कृषि आधुुनिकीकरण परियोजना अन्तरगत दार्चुला जिल्लामा स्याउ जोन कार्यक्रम सञ्चालन भएको एक बर्ष पुरा भएपनि बजारीकरणमा समस्या हुँदा किसानहरु चिन्तित बनेका छन्। २०७५ साल असोज ५ गतदेखि जिल्लाका ५ वटा स्थानीय तहमा स्याउँ जोन कार्यक्रम लागु भएपनि बजारीकरणको समस्या समाधान नहुँदा किसानहरु चिन्तित बनेका हुन्।

स्याउ जोन कार्यक्रम लागु भएपछि उन्नत जातको बिरुवा, साना सिचाई, भकारो सुधार, औजार उपकरणमा अनुदान वितरण भएपनि बजार प्रवद्र्धनमा कुनै पहल नभएको गुनासो किसानहरुको छ। 

‘जिल्लामा अपि हिमाल, ब्यास, दुहु, मार्मा र नौगाड गाउँपालिकामा स्याउ जोन कार्यक्रम सञ्चालन भएपनि बजारीकरणको समस्या भने समाधान भएको छैन्,’ अपि हिमाल गाउँपालिकाका किसान तथा स्याउँ जोन कार्यक्रम सञ्चालक समितिका संयोजक कपुर धामीले भने, ’५० रुपैँया किलोमा समेत स्याउँ विक्री नहुने समस्या रहेको छ।’

ब्यास क्षेत्रका स्याउ किसानहरु भारतीय सुरक्षाकर्मी र व्यापारीहरुलाइ सस्तो मूल्यमै स्याउँ विक्री गर्दै आएका छन्। सडक सपना बुनेर लगाएको स्याउ अहिले कौडीको भाउँमा विक्री गर्नुपरेको गुनासो सो क्षेत्रका किसानहरुको छ। 

६ बर्षमा ५ सय हेक्टरमा स्याउ खेती विस्तार गर्ने लक्ष्य सहित स्याउ जोन कार्यक्रम सुरु गरिएको भएपनि अहिले सम्म जिल्लामा एक सय ५० हेक्टर क्षेत्रफलमा मात्रै स्याउ खेती हुँदै आएको छ। स्याउँ जोन कार्यक्रम दार्चुलाका अनुसार यो बर्ष झण्डै दुई हजार क्वीन्टल स्याउ उत्पादन भएको छ।

स्याउ जोन कार्यक्रम दार्चुलाका प्रमुख विष्णुप्रशाद ओझाले गत बर्ष मात्रै स्याउ जोन कार्यक्रम मार्फत १५ हजार स्याउका बोटहरु कृषक समूह र किसानहरुलाई बितरण गरिएको बताए।

‘अहिले नै बजारको ठुलै समस्या नभएपनि स्याउँ जोन कार्यक्रम मार्फत वितरण गरिएका बोटहरुले पनि उत्पादन दिन सुरु गरे बजारको समस्या हुने देखिएको छ,’ उनले भने, ‘जिल्लामा स्याउ खेतीको क्षेत्रफल कम भएपछि अव स्याउ जोन कार्यक्रम मार्फत नै ओखर खेती पनि सुरु गर्ने तयारी छ।’

जिल्लाको महाकाली र शैल्यशिखर नगरपालिका तथा लेकम र मालिकार्जुन गाउँपालिकामा ओखर खेती सुरु गर्ने तयारी भएको हो। 
 

कमेन्ट लोड गर्नुस