सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोडारी नेतृत्वको सरकारमा जान एमाले र माओवादी अनिच्छुक

नागरिक उन्मुक्तिको भागमा थप एक मन्त्रालय

२०८१ वैशाख १८, ०१:५५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा तत्काल सहभागि हुन नेकपा एमाले र माओवादी केन्द्र अनिच्छुक देखिएका छन्।

मुख्यमन्त्री सोडारीले विश्वासको मत प्राप्त गरेपछि मात्र सरकारमा जाने योजना दुबै पार्टीको छ। नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षीय प्रदेश सांसद, माओवादी केन्द, एक जना स्वतन्त्र सांसद र एमालेबाट प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले प्रदेश सभाबाट विश्वासको मत लिन भने बाँकी नै छ।

नागरिक उन्मुुक्ति पार्टीलाई भने थप एक मन्त्रालय दिने विषयमा सहमति भएको एकीकृत समाजवादीका सांसद प्रकाश रावलले बताए। सो पार्टीबाट यसअघि कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरिसकिएको छ। मुख्यमन्त्री सोडारीले भने आगामी शुक्रबारसम्म विश्वासको मत लिने गरी छलफल भएको सांसद रावलले बताए।

एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशीको समर्थनमा सोडारी वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री सोडारीले वैशाख २१ (शुक्रबार) विश्वासको मत लिने गरि तयारी अघि बढाइएको छ। मंगलबार सत्तारुढ गठबन्धनका दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने दिन तोकेको हो।

नागरिक उन्मुक्ति पार्टीलाई भने थप एउटा मन्त्रालय दिने गठबन्धनमा सहमती भएको छ। सोही सहमतीअनुसार सो पार्टीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउँदैछ। नागरिक उन्मुक्तिबाट प्रदेश सभा सदस्य टीका थापा उप्रेतीलाई मन्त्रीमा नियुक्त गरेर सपथ ग्रहण गराउने कार्यक्रम समेत तय भइसकेको छ।

कमेन्ट लोड गर्नुस