सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चुरेमा ६ वटा सिँचाइ योजनाको काम सुरु

२०८१ वैशाख १३, ०३:३६

 कैलालीः कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना निर्माण सुरु भएको छ। चुरे गाउँपालिका–२, ४ र ६ गरी तीन वडामा छवटा सिँचाइ योजना निर्माण सुरु गरिएको हो।

चुरेका विभिन्न खोलाको पानी नहर संरचना निर्माण गरी खेतीयोग्य जमिनमा सिँचाइ बिस्तार गर्न सिँचाइ योजनाको काम उपभोक्ता समितिमार्फत सुरु भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले जनाएको छ।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारको अनुदानबाट विनियोजित झण्डै एक करोडको लागतमा ६ वटा सिँचाइ योजना उपभोक्त समितिमार्फत निर्माण सुरु भएको कार्यालयका प्रमुख इन्जिनियर अमरबहादुर पालले बताए। कार्यालयले दिएको जानकारीअनुसार खैरालाखोला सिँचाइ योजनामा १५ लाख, रानी भुकुडामा २० लाख, भुकुडा खोलामा १५ लाख, कुमैनामा रु १५ लाख, आमपानी खोलामा रु १५ लाख र बुङ्गा खोलामा  १५ लाख बजेट विनियोजन गरिएको छ। 

तरकारी र फलफूलखेतीको पकेट क्षेत्रका रूपमा चिनिने चुरेमा सिँचाइ अभावका कारण किसानले आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहि आएको स्थानीय टेकबहादुर शाहले बताए। सिँचाइ योजनाले समस्यामा परेका किसालाई राहत मिल्ने उनकोे भनाइ छ। 

निर्माण सुरु गरिएका सबै क्रमागत योजना रहेको डिभिजन कार्यालयले जनाएको छ। चुरे गाउँपालिका सबै वडामा बेमौसमी तरकारी, सुन्तला, कागती, अमिलो, अदुवालगायत अन्य दलहन बालीका लागि पकेट क्षेत्रका रूपमा रहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ।

विभिन्न वडामा निर्माण सुरु भएका सिँचाइ योजना सम्पन्नपश्चात किसानका खेतबारीमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस