संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार सर्वोच्चलाई दिऊँ: बालेन
काठमाडौँ: काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह सर्वोच्च अदालतमाथि खनिएका छन्।
नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। मंगलबार नर्भिक अस्पतालले दायर गरेको रिटमा बुधबार पहिलो सुनुवाइ गर्दै सर्वोच्चले तत्काल संरचना नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
सोमबार काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र सार्वजनिक जग्गामा बनेको संरचना हटाउन अस्पताललाई लिखित निर्देशन दिएको थियो।
मेयर शाहले सर्वोच्चको अन्तरिम फैसलाप्रति व्यंग्य गरेका छन्। शाहले लेखेका छन्, ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’