कञ्चनपुरको गड्डाचौकीमा चार लेनको सडक निर्माण गर्न स्थानीयको अवरोध
धनगढीः कञ्चनपुरको गड्डाचौकीमा महाकाली पुल चार लेन सडक निर्माण रोकिएको छ। चार लेन सडकको गड्डाचौकी स्थित दुई सय मिटर सडक निर्माण गर्न स्थानीयबाट अवरोध भएको हो।
निर्माण कम्पनीले काम गर्न अवरोध भएको भन्दै एकतर्फी सडक अवरुद्ध गरेको छ। स्थानीयले पुरानै ठाउँमा डाइभर्सन हुनुपर्ने माग गर्दै आएका छन्। निर्माण कम्पनी कुमार सिएफइसी जोइन्ट भेन्चर तथा आयोजना कार्यालयले डिजाइन ड्रयिङभन्दा फरक किसिमले काम गर्न नसकिने बताउँदै आएका छन्। स्थानीयको अबरोधकै कारण महाकाली चार लेन सडकको १३ करोड बजेट फ्रिज जाने खतरा बढेको हो।
दुई सय मिटर सडक निर्माणमा अवरोध
महाकाली पुल आयोजना अन्तर्गतको चार लेन सडक निर्माणको ९८ प्रतिशत काम सम्पन्न भएको छ। तर गड्डाचौकी स्थित दुई सय मिटर मुख्य सडक निर्माणमा भने स्थानीयले अवरोध गरेका हुन्।
स्थानीयले सडक निर्माणमा अबरोध गरेको भन्दै निर्माण कम्पनीले बुधवार महाकाली पुल जोड्ने पहुँच मार्ग भत्काएर यातायता सेवा अवरुद्ध गरेको थियो। हाल एकतर्फी सडक खुलाए पनि दुई सय मिटर सडकमा डाइभर्सनको विवादले सडक कालोपत्र गर्ने काम अनिश्चित बनेको छ। गड्डाचौकीका केही स्थानीयका कारण सडक निर्माणको काम विवादमा परेको हो। स्थानीयले पुलको मुखमै या करिब ६० मिटर पर डाइभर्सनको माग राखेर सडक निर्माण कार्यमा अवरोध गरेको निर्माण कम्पनीका इन्जिनियर किशोर पाण्डेयले बताए। ‘हामीलाई गड्डाचौकी नजिकै दुई सय मिटर सडक कालोपत्र गर्न अवरोध भएको छ। केही स्थानीयले डाइभर्सन पुलको नजिकै हुनुपर्छ भन्ने माग गर्नुभएको छ,’ उनले भने, ‘योजना कार्यालयले डिजाइन भन्दा फरक गर्न सकिन्न भनेको छ। स्थानीयले आफूले भनेको हुनुपर्ने भन्दै आएका छन्। जसले गर्दा अहिले काम ठप्प छ।’
स्थानीयले महाकाली नहरको पुल नजिकै डाइभर्सन दिनुपर्ने माग गरेका छन्। योजना कार्यालयले भने स्थानीयको माग अनुसार डाइभर्सन दिन नसकिने बताएको इन्जिनियर पाण्डेयले बताए।
तर, सडक निर्माणमा अवरोध नभइ पुरानै ठाउँमा डाइभर्सन हुनुपर्ने माग गरेको स्थानीय सत्येशबहादुर चन्दले बताए। उनले स्थानीयले सडक निर्माणमा अवरोध ग¥यो भन्ने कुरा गलत भएको बताए। ‘हामीले सडक निर्माणमा अवरोध गरेका छैनौँ। हामीले अन्यत्र जस्तै गड्डाचौकीमा पनि डाइभर्सन हुनुपर्छ भनेका हौँ। सयौ परिवारलाई मर्का हुने किसिमले टाढा डाइभर्सन हुनु हुन्न भन्ने हाम्रो माग हो,’ चन्दले भने।
पुल तथा सडक निर्माणको ९८ प्रतिशत काम सकियो
सरकारले महाकाली पुल तथा पहुँच मार्ग निर्माणको ठेक्का आर्थिक वर्ष २०७३/७४ मा लगाएको हो। हालसम्म पाँच पटकसम्म म्याद थपिएको छ। पाँचौँ पटक थपिएको म्याद २०८१ कात्तिक २१ गते सकिएको छ।
छैठौँ पटक म्याद थप्ने प्रस्ताव अहिले सङ्घीय भौतिक पूर्वाधार मन्त्रालयमा पुगेको छ। यस्तै, सडकको भेरिएसन अर्डर चार समेत २० महिनादेखि मन्त्रालयमै अड्केको छ। स्थानीयले जसरी पनि डाइभर्सन हुनुपर्ने माग राखेका छन् भने योजना कार्यालयले डिजायन परिवर्तन गर्न नसकिने बताएको छ। यता निर्माण कम्पनीले ९८ प्रतिशत काम सकेको योजना कार्यालयले जनाएको छ।
तर, जसरी भए पनि दुई सय मिटर सडक कालोपत्र गर्ने काम गरिने योजना प्रमुख इन्जिनियर विवशबाबु बस्नेतले बताए। उनले निर्माण कम्पनीले बन्द गरेको सडक खोलिएको र डिजाइनअनुसार सडक कालोपत्र गरिने बताए।
स्थानीयले जसरी पनि पहिलाकै स्थानमा डाइभर्सन हुनुपर्ने माग गरेका छन्। उनीहरूले महाकाली पुल पहुँच मार्ग निर्माणमा आफूहरूले कुनै अवरोध नगरेको बताएका छन्। तर सडकको काम रोकिँदा १३ करोड बजेट फ्रिज जाने जोखिम बढेको योजना कार्यालयले जनाएको छ।