सुदूरपश्चिमका ३ जिल्लाबाट ३ जना फरार प्रतिबादी पक्राउ
धनगढीः सुदूरपश्चिमका ३ जिल्ला कैलाली, कञ्चनपुर र बझाङबाट ३ जना फरार प्रतिबादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका–४ बस्ने २२ वर्षीय खेमराज जैशी पक्राउ परेका छन्। जैशीलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनकै घर ठेगानाबाट पक्राउ गरेको छ।
यसैगरी जिल्ला अदालत बझाङको मिति २०७८ पुस १३ गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकिएको बुंगल नगरपालिका–४ बस्ने ५३ वर्षीय रामबहादुर कुवँर पक्राउ परेका छन्। कुँवरलाई अस्थायी प्रहरी पोष्ट बिजगडा, बझाङबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो बिजगडा बजारबाट पक्राउ गरेको जनाएको छ।
त्यस्तै जिल्ला अदालत कञ्चनपुरको मिति २०८३ वैशाख ११ गतेको फैसलाले लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बस्ने २७ वर्षीय हरिश भट्ट पक्राउ परेका छन्। भट्टलाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो सोही नगरपालिका–५ खजुवाबाट पक्राउ गरेको बताएको छ।