सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाेहाेर बाेक्ने गाडी ताेडफाेड गर्नेलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ: बालेन साह

२०७९ साउन २४, ०४:०६ खबर संवाददाता

काठमाडौं काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र ९बालेन० साहले फोहोर बोक्ने तथा व्यवस्थापनमा प्रयोग गरिएका साधनमाथिको तोडफोड जघन्य अपराध भएको बताएका छन्।

अज्ञात व्यक्तिले सोमबार राति बन्चरे डाँडामा रहेका फोहोर बोक्ने र व्यवस्थापनमा प्रयोग गरिने साधनमाथि तोडफोड भएपछि मेयर साहले उक्त कार्य जघन्य अपराध भएको समाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।

मेयर साहले फेसबुकमा लेखेका छन् :

फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । बर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ ।

यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ ।

कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ ।

केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिँदैन । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अबरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।

कमेन्ट लोड गर्नुस