सुदूर नेपाललाई विश्वसँग जोड्दै

उधारोमा बेचिएको थियो पूरानो धनगढी विमानस्थलको जग्गा  

जग्गा बिक्रीमा नगर विकास समितिको भूमिका–६

२०७९ असार २०, १०:०९ नारायण अवस्थी

धनगढी : कैलालीको धनगढी नगर विकास समितिले पूरानो विमानस्थलको १२९ प्लट घडेरी उधारोमा बिक्री गरेको तथ्य खुलेको छ। २०५२ मा नगर विकासले १ लाख २५ हजारका दरले १२९ प्लट घडेरी २५ प्रतिशत मूल्य मात्रै लिएर उधारोमा बिक्री गरेको हो। यस्तै व्यवस्थित सहर बनाउने उद्येश्य बोकेको नगर विकास समितिले बजार क्षेत्रभित्रै केवल ४ फिट बाटो निकालेर घडेरी बिक्री गर्ने निर्णय गरेको छ। 

२०५२ जेठ २२ मा धनगढी नगर विकास समितिका अध्यक्ष किशोरकुमार बमको अध्यक्षतामा बसेको बैठकले धनगढीको पूरानो विमानस्थलको १२९ प्लट बिक्री गर्ने निर्णय गरेको थियो।  सेती अस्पतालको पूर्वबाट उत्तर हसनपुरतर्फ जाने बाटोदेखि पूर्व, कैलाली क्याम्पस जाने बाटोदेखि दक्षिण, प्रज्ञा प्रतिष्ठान र सिटी हलका लागि दिएको जग्गादेखि पश्चिम, जिल्ला विकास समितिको अतिथि भवन र जिल्ला प्रशासन कार्यालयको पर्खाल र डिल्लीराज भण्डारीको जग्गादेखि उत्तरतर्फको जग्गालाई बिक्री वितरण गर्ने निर्णय भएको छ।

नगर विकास समितिले न्यूनतम मूल्य निर्धारण गरी ३५ दिने सूचना निकालेर जग्गा बिक्री गरेको छ। नगरलाई सुव्यवस्थित बनाउने भन्दै जग्गा खरिद कर्ताले नगर विकासले तोकेको डिजाइनअनुसारको घर बनाउनुपर्ने शर्त राखिएको छ। तर, त्यो ठाउँमा एकै किसिमका घर भने बनेका छैनन्। विमानस्थलको जग्गामा प्लटिङ गरेर एक व्यक्तिलाई एक प्लट मात्र बिक्री गर्ने शर्त राखिएको थियो। जग्गाको मुल्य भने प्रति कट्ठा १ लाख २५ हजार तोकिएको छ।

उधारोमा सरकारी जग्गा बिक्री 
नगर विकास समितिले विमानस्थलको बहुमुल्य जग्गा उधारोमा बिक्री गर्ने निर्णय गरेको छ। सुरूमा जग्गाको २५ प्रतिशत मूल्य दिनुपर्ने बाँकी रकम ६ महिनाभित्र बुझाए पनि हुने सुविधा प्रदान गरिएको छ। ६ महिनाभित्र सम्पूर्ण रकम नबुझाए भुक्तानी गरेको २५ प्रतिशत रकम जफत हुने निर्णय भएको छ। धनगढी नगर विकास समितिले २०५२ जेठ २२ को बैठकमा विमानस्थलको १२९ प्लट घडेरी बिक्री गर्ने निर्णय सर्वसम्मत परित भएको छ।

यस्तै २०५२ जेठ २३ गतेको धनगढी नगर विकास समितिको बैठकमा द टिम्बर कर्पोरेसन अफ नेपाललाई ४ प्लट जग्गा २ लाखका दरले बिक्री गर्ने निर्णय भएको छ। २०५२ असार २२ गते हरिप्रसाद पाण्डेय धनगढी नगर विकास समितिको अध्यक्ष भएका छन्। सदस्यमा नवराज जोशी, दामोदर अवस्थी, दीपक देवकोटा, जोगीसिंह विष्ट, गोपीलाल चौधरी, दिव्येश्वरी शाह, मानबहादुर स्वार, मोहनचन्द्र भट्ट, मेघराज पाठक, नरेन्द्र ओझा र चन्द्रप्रसाद चौधरी सदस्य सचिव छन्। २०५३ असार २४ गतेको बैठकले नगर विकास समितिले व्यक्तिको नाममा जग्गा पास गर्ने प्रयोजनका लागि समितिका सदस्य दीपकप्रसाद देवकोटालाई प्रतिनिधि तोकेको छ।

नगर विकास समितिले धनगढी नगरपालिकालाई सापटी दिएको १५ लाख सेती अञ्चल अस्पताललाई दिएको १० लाख र सुकुम्बासी समस्या समाधान आयोगलाई दिएको ५ हजार फिर्ता माग्न २०५३ असार २३ गते पत्राचार गर्ने निर्णय गरिएको छ।

४ फिटको बाटो निकालेर घडेरी बिक्री
व्यवस्थित सहर विकास गर्ने उद्येश्यले नगर विकास समितिको गठन भए पनि धनगढी नगर विकास समितिले सहर र बस्तीलाई अव्यवस्थित बनाउने निर्णय पटकपटक गरेको पाइएको छ। हरिप्रसाद पाण्डेयको अध्यक्षतामा बसेको धनगढी नगर विकास समितिको २०५२ भदौ २३ गतेको बैठकमा नगर विकास समितिले ४ फिटको बाटो निकालेर घडेरी विक्री गर्ने निर्णय भएको छ।

२०५२/५३ को आय–व्ययको विवरण
धनगढी नगर विकास समितिले आर्थिक वर्ष २०५२/५३ मा बैंक ब्यालेन्सबाट ३३ लाख २ हजार ९७, सापटी फिर्ताबाट २७ लाख ३६ हजार, विमानस्थलको १२९ घडेरी विक्रीबाट ३० लाख र अन्य आय २ हजार ५ सयसहित कूल आय ९० लाख ४० हजार ५९७ भएको विवरण उल्लेख छ। 

यसैगरी खर्चतर्फ तलब शिर्षकमा १ लाख १६ हजार, भत्ता शिर्षकमा १ लाख ७५ हजार, दैनिक भ्रमण भत्ता २५ हजार, टेलिफोन महसुल १२ हजार, अन्य सेवा १० हजार, मर्मत तथा सम्भार ७ हजार, कार्यालय सामान खरिदमा १३ हजार, अरु मालसमान १० हजार, छपाई ८ हजार, पत्रपत्रिका ३ हजार खर्च भएको छ।

यस्तै इन्धनमा ९ हजार ५ सय, फर्निचरमा १४ हजार, सवारी साधन ६ हजार ६ सय, भवन निर्माण १५ लाख ५५ हजार ६६८, पुल निर्माण शिर्षकमा २७ लाख १५ हजार ६६५, आर्थिक सहयोग शिर्षकमा ३५ हजार, भैपरी आउने खर्च १२ हजार र नयाँ पसल घर निर्माण शिर्षकमा ४३ लाख १३ हजार १६३ सहित कूल ९० लाख ४० हजार ५९७ खर्च भएको विवरण पारित भएको छ।

सम्बन्धित समाचार :
२०४९ सालमा धनगढीमा जग्गाको हदबन्दी बढ्यो, मूल्य घट्यो
धनगढीमा यसरी बिक्री भएको थियो पूरानो विमानस्थलको जग्गा 
धनगढी नगर विकासले अख्तियारी पाएको भन्दा बढी जग्गा बाँडेको खुलासा  !
मन्त्रीपरिषद्को निर्देशनविपरीत धनगढी नगर विकासले गरेको त्यो निर्णय
धनगढीमा १ रुपैयाँ तिरेर भाडामा पाइन्थ्यो १ फिट जग्गा !

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस