सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको फर्निचर उद्योग जल्नुको कारणबारे नयाँ खुलासा

२०७७ फाल्गुन २६, १२:३८ नारायण अवस्थी

धनगढी : गत २२ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको आलोक मल्टी कन्सर्न प्रालिमा आगो लाग्नुको कारणबारे उद्योगका सञ्चालकले दिनेशखबरसँग नयाँ खुलासा गरेका छन्। सञ्चालक भोजराज भट्टले माथिल्लो तलामा विद्युत शर्ट सर्किट भएर आगलागी भएको  बताएका छन्। 

अकस्मात आगलागी
आगलागी भएको समयमा आफू भारतको राजाधानी नयाँ दिल्लीमा रहेको तर कर्मचारीहरुसँग बुझ्दा उद्योगको माथिल्लो तलामा रहेको म्याट्रेसमा एक्कासि आगो लागेको देखिएको भट्टले बताएका छन्। 

आगो देख्नासाथ उद्योगमा रहेमा कर्मचारीहरुले जलिरहेको सामान तुरुन्तै तल झारेको तर सो आगोले भुइँमा रहेको ‘हट मिल्ट ग्लू’(काठ र प्लाइ उड टास्न प्रयोग गरिने रसायन) सल्किन पुग्दा आगलागीले विकराल रुप लिएको भट्टले बताएका छन्। करिब ५ क्विन्टलको मात्रामा रहेको सो ग्लूको कारण आगोले तीव्र रुप धारण गरेको सञ्चालक भट्टको भनाई छ। 

व्यस्त समयमा आगलागी
शनिबार उद्योगमा कर्मचारीहरुको काममा व्यस्त रहेको समयमा आगो सल्किएको कारण तुरुन्तै देख्न नसकिएको भट्टले बताएका छन्। मध्यान्हको समयमा उद्योगमा २२ जना जति मजदुर कार्यरत रहेको भएपनि अनपेक्षित रुपमा माथिल्लो तलाबाट धुवाँ आएको देख्दा कर्मचारीले आगो निभाउन जलिरहेको सामान तल झारेपछि सो आगोले हट मिल्ट ग्लू भेट्टाउँदा आगलागी थप विकराल भएको भट्टले बताएका छन्।

आगलागी नियन्त्रण गर्ने प्रविधिको अभाव
उद्योगको उद्घाटन समेत गर्न बाँकी नै रहेको कारण आगो निगन्त्रण गर्ने प्रविधि र उपकरणको समेत व्यवस्थापन गर्न नपाएको सञ्चालकले बताएका छन्। यदि उद्योगमा फायर अलार्म र फायर एक्सटिन्गुइशरको मात्रै पनि व्यवस्थापन गर्न सकेको भए आगलागी नियन्त्रणमा आउने विश्वास सञ्चालकले गरेका छन्।

आगोबाट पौने पाँच करोडको क्षति
आगलागीबाट उद्योगमा पौने पाँच करोडको क्षति भएको सञ्चालक भोजराज भट्टले बताएका छन्। उद्योगमा आफू लगायत ४ जनाको संयुक्त लगानी रहेको र गुणस्तरीय फर्निचर उत्पादन गरी गृह सजावटका सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यले ८ करोड लगानी गरेर यही महिनाभित्रै उद्योगको औपचारिक उद्घाटन समेत गर्ने लक्ष्य रहेको सञ्चालकले बताएका छन्।

उद्योग पुनः सञ्चालनमा ल्याइने
आफूहरुको अहिलेसम्मको सम्पूर्ण लगानी खरानी भएको भएपनि सबैको साथ र हौसला प्राप्त भए उद्योग पुनः सञ्चालनमा ल्याउने र सुदूरपश्चिममा गुणस्तरीय फर्निचर निर्माणसँगै दक्ष जनशक्ति समेत उत्पादन गर्ने उनले बताएका छन्। उद्योग सञ्चालकले फर्निचर निर्माण, स्टोर र सो रुमसँगै हुनु र आगलागी नियन्त्रणका पूर्व सावधानी र उपाय अबलम्वन गर्न सकिएको भए अकल्पनीय क्षति नहुने भट्टले बताए।

दमकल ४६ मिनेटपछि मात्रै पुग्यो
सञ्चालक भट्टका अनुसार आगो निभाउन आएको दमकल उद्योगमा आगलागी भएको ४६ मिनेमा पुगेको उद्योगमा रहेका कर्मचारीले बताएको भट्टको भनाइ रहेको छ।

तर धनगढीका नगरप्रमुख नृपबहादुर वडले धनगढी उपमहानगरपालिकाका २ वटा दमकल ४० मिनेटमा पुगेको दाबी गरेका थिए। 

सम्बन्धित समाचार:
चुरेमा भीषण डढेलो, यो वर्ष पनि कैलालीका वन जलेर खरानी हुने पीर
वनै खायो डढेलोले (फोटो फिचर)
कैलालीमा फेरि अर्को भीषण आगलागी, गाडीको ग्यारेज जल्दा '१ करोडको क्षति'

धनगढीको फर्निचर उद्योग आगलागीबाट नगरवासीले के-के पाठ सिक्न सक्छन्?
उद्घाटन नहुँदै क्षणभरमै खरानी बनेकाे धनगढीको फर्निचर उद्योग
धनगढीको फर्निचरमा भएको आगलागी नियन्त्रणमा, करिब ५ करोड बराबरको क्षति
धनगढीको फर्निचरमा भएको आगलागी अझै नियन्त्रणमा आएन, १ घण्टापछि पुग्यो पानी नभएको दमकल
धनगढीको एक फर्निचर उद्योगमा आगलागी

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस