सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुरेमा भीषण डढेलो, यो वर्ष पनि कैलालीका वन जलेर खरानी हुने पीर

स्थलगत समाचार

। फोटो स्रोत ।
२०७७ फाल्गुन २६, ११:२४ कमल सावद

धनगढीः नेपालमै सबैभन्दा बढी वन क्षेत्र रहेको कैलालीको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर जान थालेपनि निभाउन तर्फ पर्याप्त काम हुन सकिरहेको छैन। 

कैलालीको चुरे वरपरका वनमा लागेको डढेलो नियन्त्रणका लागि कुनै प्रयास नभएपछि अघिल्लो वर्ष झण्डै ४० प्रतिशत अर्थात् ७२ हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो। यो वर्ष पनि त्यहि नियति दोहोरिँने संकेत देखिएका छन्।

अहिले बाघको आतंक बढेको भन्दै वनमा आगो लगाउने क्रम वृद्धि भएपछि डढेलोका कारण वन पैदावार तथा वन्यजन्तुको बासस्थल पनि सखाप हुन थालेको छन्। कतिपय वन्यजन्तु तथा चराचुरुङ्गी जलेको स्थानीयवासीले बताएका छन्। 

जिल्ला वन कार्यालयले डढेलो नियन्त्रणका लागि आवश्यक पहल भइरहेको जनाएपछि कतै डढेलो नियन्त्रण अभियान सञ्चालन भएको देखिएको छैन। 

चुरेमा डढेलो दन्किँदै

कैलालीको चुरेगाउँपालिका वडा नम्बर ५ मा पर्ने भासु भीरबाट हेर्दा उत्तरतर्फको जंगल खरानी भएको देख्न सकिन्छ। भीमदत्त राजमार्गसंगै रहेको उक्त जंगल क्षेत्रमा अहिले पनि डढेलो दन्किएको छ। 

मानवीय असावधानीका कारण लागेको आगो जंगलभरी फैलिँदा ठूलो क्षति भइहेपनि सम्बन्धित निकायले नियन्त्रणको प्रयास नथालेको गुनासो गरिएको छ। 

चुरे गाउँपालिकाकी स्थानीयवासी भावना भट्टराईले बालबालिकाले वनमा आलो लगाइदिएपछि डढेलो सुरु भएको बताइन्। 

उनका अनुसार जंगलमा भएका जनावर र चराचुरुंगी त्यो ठाउँबाट हराएका छन्। 

उनले भनिन, “राजमार्गबाट आगो सुरु भएको हो। यताको जंगलमा आएको थिएन। फेरि बच्चाहरु गए, उनीहरुले आगो लगाइ दिए। सबै जंगल सखाप भएको छ। आगो निभाउन कोहि आएनन्।”

वनमा क्षति

कैलालीमा १ लाख ८० हजार हेक्टर मा वन रहेको बताइन्छ। त्यस मध्ये गत वर्ष झण्डै ७२ हजार हेक्टरमा डढेलो फैलिएको अनुमान गरिएको थियो। 

२ लाख पाँच हजार हेक्टर वन क्षेत्र मध्ये २५ हजार हेक्टर क्षेत्र विभिन्न बाहानामा अतिक्रमण गरिएकोमा वन क्षेत्र घटेर १ लाख ८० हजार हेक्टरमा सीमित हुन पुगेको हो। 

डिभिजन वन कार्यालय कैलालीका प्रमुख राजचन्द्र कँडेलले गत वर्ष पानी परेकाले धेरै जंगलमा आगो नलागेको बताए। 

उनले भने, “गत वर्ष केहि जंगलमा मात्र आगो लागेको थियो। यो वर्ष आगलागी हुने समय सुरु भएको छ। हामीले आगो नियन्त्रण गर्न आवश्यक सामाग्री सामुदायिक वनहरुलाई दिएका छौँ। गोष्ठीको पनि तयारी गर्दै छौँ।” 

चुरेमा बढी जोखिम

कैलालीको चुरेको वन डढेलोबाट बढी प्रभावित हुँदै आएको छ। भौगोलिक कठिनाइ, भिरालो क्षेत्र भएकोले चुरेमा डढेलो चाँडो सल्किने गरेको छ।

 

चुरेमा पातलो बस्ती भएका कारण चुरे क्षेत्रको डढेलो नियन्त्रण गर्न चुनौती हुँदै आएको वन अधिकारीहरुले बताएका छन्। 

सामुदायिक वन तथा स्थानीयवासीहरू समेत सचेत नभएका कारण प्रत्येक वर्ष चुरेको वन डढेलोका कारण सखाप हुँदै आएको छ। 

सव–डिभिजन वन कार्यालय सहजपुरका वन रक्षक तिरिश विकले चुरे क्षेत्रको आगो निभाउन मुस्किल हुने गरेको बताए। 

उनले भने, “चुरे क्षेत्रको आगो फैलिएर समथर भागमा समेत जाने गरेको छ। कैलालीको सबै भन्दा बढि आगो लाग्ने क्षेत्र पनि चुरे हो। 

दण्ड सजाय

“मानिसहरु जंगलका बारेमा जानकार नभएकाले पनि यो क्षेत्रमा बढी आगो लगाउने गरेको पाइन्छ। गोठालाहरु, तस्कर लगायतले वनमा आगो लगाउन गरेका छन्। केहीलाई हामीले कारबाही पनि गरेका छौँ।”

जंगलमा डढेलो लगाउनेलाई वन ऐन २०७६ को ४९ (घ) मा तीन वर्ष कैद र ६० हजारसम्म जरिबाना समेत हुने गरेको छ। तर कैलालीका जंगलमा डढेलो लगाउने कसैलाई कारबाही भएको देखिएको छैन। 

वन अधिकारीहरुले समुदायिक वन, वन समन्वय समिति, स्थानीयवासी तथा उपभोक्तालाई सचेत बनाउँदै आएको बताएका छन्। 

तर वन डिभिजन कार्यालय लगायतका निकायले डढेलो नियन्त्रण गर्न बेवास्ता गरेपछि अघिल्लो वर्षको भन्दा बढि क्षति बेहोर्नुपर्ने अनुमान गरिन थालिएको छ।  

वनमा आगो दन्किइरहँदा चुरेको वन डढेलो नियन्त्रण गर्ने जिम्मेवारी पाएका वन अधिकृत पनि आफ्नो कार्य क्षेत्रमा नरहेको पाइएको छ। 

टेलिफोनमा कुरा गर्दा उनले आफू कामको सिलसिलामा कञ्चनपुर पुगेको र छिट्टै कार्यक्षेत्र फर्कन लागेको दिनेशखबरलाई बताए।

सम्बन्धित समाचार:
वनै खायो डढेलोले (फोटो फिचर)
कैलालीमा फेरि अर्को भीषण आगलागी, गाडीको ग्यारेज जल्दा '१ करोडको क्षति'
उद्घाटन नहुँदै क्षणभरमै खरानी बनेकाे धनगढीको फर्निचर उद्योग
धनगढीको फर्निचरमा भएको आगलागी नियन्त्रणमा, करिब ५ करोड बराबरको क्षति
धनगढीको फर्निचरमा भएको आगलागी अझै नियन्त्रणमा आएन, १ घण्टापछि पुग्यो पानी नभएको दमकल
धनगढीको एक फर्निचर उद्योगमा आगलागी


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस