सुदूर नेपाललाई विश्वसँग जोड्दै

उद्घाटन नहुँदै क्षणभरमै खरानी बनेकाे धनगढीको फर्निचर उद्योग

२०७७ फाल्गुन २२, ०२:२७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा उद्घाटन नहुँदै एक फर्निचर उद्योग क्षणभरमै खरानी बनेको छ।

उद्घाटनको तयारीमा रहेको सो आलोक मल्टी कन्सर्न प्रालिमा शनिबार दिउँसो करिब १२ बजे अचानक भएको आगलागीले ध्वस्त बनेको छ।

भोजराज भट्ट र पदम भण्डारीले सञ्चालनमा ल्याउन लागेको शो रुमसहितको सो उद्योगमा आगलागी भएको उद्योगका सञ्चालकका आफन्त विमल बोहराले बताए।

उनका अनुसार सो उद्योगलाई फागुन महिनाभित्रै उद्घाटनको तयारी थालिएको थियो। तर तयारीकै क्रममा भएको आगलागीले नष्ट भएको छ। हालसम्म ३ करोड लगानी भइसकेको उद्योगमा उद्घाटनसम्ममा ५ करोड लगानी थपिसक्ने अनुमान सञ्चालकहरुको थियो।

उद्योग सञ्चालकले सुदूरपश्चिमका ९ जिल्लामा आफ्नो उत्पादन आपुर्ति गर्ने गृहकार्य थालेका थिए। सो उद्योगको अगाडिको भागमा शो रुम र पछाडिको भागमा उद्योग बनाइएको थियो। जहाँ हालसम्म २०/२२ जना कामदार कार्यरत थिए। उद्योग भएको स्थानमा बेल्डिङको काम भइरहेको र त्यहाँबाट निस्केको आगोको झिल्कोले आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बोहरा बताउँछन्।

आगलागी झण्डै २ घण्टापछि नियन्त्रणमा आएको छ। धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ।

आगलागी हुनुभन्दा पहिलेको उद्योगको तस्वीर यस्तो थियो।

सम्बन्धित समाचार

धनगढीको फर्निचरमा भएको आगलागी नियन्त्रणमा, करिब ५ करोड बराबरको क्षति

धनगढीको फर्निचरमा भएको आगलागी अझै नियन्त्रणमा आएन, १ घण्टापछि पुग्यो पानी नभएको दमकल

धनगढीको एक फर्निचर उद्योगमा आगलागी

कमेन्ट लोड गर्नुस