सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा एमबीबीएस सञ्चालनको बाटो छेक्ने षड्यन्त्र भइरहेको आशंका

२०८३ कार्तिक २७, १०:०२ खबर संवाददाता

धनगढीः कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहितका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बाटो खुलेकोमा छानबिन र पदाधिकारी फेरबदलको सहमतिले सुदूरपश्चिममा नयाँ आशंका जन्माएको छ।

वर्षौंको संघर्षपछि चिकित्सा शिक्षा आयोगबाट ९० सिट प्राप्त गरेको विश्वविद्यालयमा अब शैक्षिक कार्यक्रम सञ्चालन नै अन्योलमा पर्ने त होइन भन्ने चिन्ता बढेको छ। सरकार र डा. गोविन्द केसीबीच विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति र सिट निर्धारण प्रक्रिया छानबिन गर्ने सहमति भएपछि सुदूरपश्चिमवासी सशंकित भएका हुन्।

अनुमति दिँदा निर्धारित मापदण्ड पूरा भए–नभएको र निर्णय प्रक्रियामा स्वार्थ बाझिएको विषयमा छानबिन गरिने सहमतिमा उल्लेख छ। यसका लागि प्रा. डा. रमेशप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिनेछ। समितिको प्रतिवेदन र त्यसका सिफारिस कार्यान्वयन भएपछि मात्रै चिकित्सा शिक्षा साझा प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीको म्याचिङ गरिने व्यवस्था गरिएको छ। 

सम्झौतामा शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति दिँदा मापदण्ड पूरा नभएको वा स्वार्थकेन्द्रित निर्णय भएको पाइएमा संलग्न चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयका पदाधिकारीलाई कारबाही गर्ने उल्लेख छ। त्यस्तै, विश्वविद्यालय ऐनमा पदाधिकारीको योग्यता र नियुक्तिसम्बन्धी व्यवस्था संशोधन गरी दुई साताभित्र मन्त्रिपरिषद्बाट अध्यादेश जारी गर्ने र त्यसपछि नयाँ पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाउने सहमति भएको छ। ऐन संशोधनमा डा. केसीका सुझावसमेत समेटिने जनाइएको छ। तर, छानबिन र कानुनी फेरबदलको प्रक्रियाले विश्वविद्यालय सञ्चालनको तयारी लम्बिने हो कि भन्ने चिन्ता स्थानीयमा छ। 

विश्वविद्यालय स्थापना संघर्ष समितिका संयोजक लोकराज पाण्डेले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन भएको देख्न नचाहनेहरू फेरि सक्रिय भएको आरोप लगाए। ’विश्वविद्यालय गेटामा होइन, अन्यत्र बनाउनुप¥यो भन्दै आन्दोलन गरेकाहरू फेरि सक्रिय भएका छन्। यो प्रपञ्च मात्रै हो। यो सिंगो सुदूरपश्चिममाथिको आक्रमण हो, हामीलाई सह्य छैन,झ उनले भने। उनले वर्षौंको संघर्षबाट प्राप्त उपलब्धि कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताए। 

स्थानीय बिनोद बिष्टले सिट निर्धारण भइसकेको अवस्थामा छानबिन र पदाधिकारी फेरबदलका नाममा एमबीबीएसलगायतका कार्यक्रम सञ्चालन हुन नदिने चलखेल हुनसक्ने आशंका व्यक्त गरे। अर्का स्थानीय हेमराज खत्रीले एक जना डा. केसीको माग सम्बोधन गर्ने नाममा सुदूरपश्चिमका २८ लाख नागरिकको सपनामाथि प्रहार नगर्न सरकारलाई आग्रह गरे। उनका अनुसार अब विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विषयलाई थप अन्योलमा राख्नु हुँदैन। 

सम्झौताको विरोधमा विश्वविद्यालयमा शान्तिपूर्ण आन्दोलनसमेत सुरु गरिएको छ। आगामी माघदेखि शैक्षिक कार्यक्रम सञ्चालन गर्न र त्यसअघि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालनमा ल्याउनुपर्ने मागसहित प्रदर्शन थालिएको हो। आन्दोलनरत पक्षले छानबिनको नाममा विश्वविद्यालय सञ्चालनको प्रक्रिया अवरुद्ध हुन नहुनेमा जोड दिएको छ। 

चिकित्सा शिक्षा आयोगले गेटा विश्वविद्यालयका लागि एमबीबीएसमा ५०, नर्सिङमा २०, बीएस्सी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी) मा १० र बी अप्टोमेट्रीमा १० गरी चार शैक्षिक कार्यक्रममा कुल ९० सिट निर्धारण गरेको छ। विश्वविद्यालयका अनुसार शिक्षण अस्पतालमा हाल ३२५ शय्या सञ्चालन क्षमतामा छन् भने ६२२ शय्याको व्यवस्थापन गरिएको छ। अस्पतालको पूर्वाधार क्षमता ९२० शय्यासम्म विस्तार गर्न सकिने विश्वविद्यालयको भनाइ छ।

कमेन्ट लोड गर्नुस