टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
जनकपुरधामः जनकपुरधाममा टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ।
बिहीबार दिउँसो करिब साढे ४ बजेतिर जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा टिपरले स्कुटीलाई पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक युवकको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका २० वर्षीय नवीन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीका अनुसार पिडारी चोकबाट रत्नसागर तर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटीलाई सोही दिशातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिपरले ठक्कर दिएको हो।
दुर्घटनापछि प्रहरीले स्कुटी, टिपर र टिपर चालक महोत्तरीको भंगहा नगरपालिका–७ सितापुर निवासी २२ वर्षीय सचिनकुमार सिंहलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।