चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री शाहले रास्वपा सांसदहरूसँग गरे छलफल
काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग छलफल गरेका छन्।
शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा चीन भ्रमणको तयारी, भ्रमणको कार्यसूची तथा नेपाल–चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल र चीनबीचको विशिष्ट सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेका थिए। व्यापार तथा व्यवसाय, प्रविधि, पर्यटन, कृषि लगायतका क्षेत्रमा चीनसँग सहकार्य विस्तार गर्दै नेपालले अधिकतम लाभ लिनुपर्नेमा उनले जोड दिएका थिए।
प्रधानमन्त्री शाहले दुई देशबीचको कूटनीतिक सम्बन्ध, आर्थिक साझेदारी र विकासका सम्भावनालाई भ्रमणको मुख्य प्राथमिकतामा राख्नुपर्ने बताएका थिए। चीनले प्रविधि, आर्थिक विकास र विभिन्न क्षेत्रमा हासिल गरेको अनुभवबाट नेपालले लाभ लिन सक्ने सम्भावनालाई प्राथमिकतामा राख्न पनि उनले निर्देशन दिएका थिए।
चीन जाँदै रास्वपाको २० सदस्यीय संसदीय टोली
रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय संसदीय प्रतिनिधिमण्डल आगामी आइतबार चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा प्रतिनिधिमण्डलले बेइजिङ, हाङ्चाउ र सिचुवानलगायतका स्थानको भ्रमण गर्नेछ।
भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सरकारी सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ।