सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको रानीजमरा–कुलरियाबाट चार दशमलव ७१ मेगावाट विद्युत् उत्पादन

 तस्बिर : एकिन्द्र तिमिल्सेना
तस्बिर : एकिन्द्र तिमिल्सेना
२०८१ माघ १६, ०४:३७ खबर संवाददाता

धनगढीः कैलालीको रानीजमरा–कुलरिया सिँचाइ आयोजनाबाट चार दशमलव ७१ मेगावाट विद्युत् उत्पादन थालिएको छ। राष्ट्रिय गौरवको आयोजनाबाट एक महिनादेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन थालिएको हो।

जिल्लाको जानकी गाउँपालिका–९, कटाँसेस्थित विद्युत् गृहमा तीन वटै टर्बाइन चलाएर पूर्ण क्षमताको चार दशमलव ७१ मेगावाट विद्युत् उत्पादन थालिएको रानीजमरा–कुलरीया सिँचाइ आयोजना, टीकापुरका सूचना अधिकारी नविन पौडेलले बताए। उनले भने, ‘हामी तीन मेगावाट जति उत्पादन गर्दै आएका थियो। कहिले बढी पनि हुँदै थियो। तर, एक महिनादेखि चार दशमलव ७१ मेगावाटको विद्युत् उत्पादन हुँदैछ। हाम्रो क्षमता यति नै हो। हामीले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडेका छौ।’

विद्युत् आयोजना निर्माणको अवधि २०७८ चैतसम्म थियो। तर, २०७८ कात्तिकमा आएको बाढीले संरचनामा क्षति पु¥याएपछि २०८१ पुस २९ सम्मलाई म्याद थपिएको थियो। निर्माणकै चरणमा २०८० माघ १६ गतेदेखि उत्पादन सुरु भएको विद्युत् लम्कीस्थित १३२ केभी प्रसारण लाइनमा जोडिएको छ।

एक वर्षमा जम्मा ११ गिगावाट आवर विद्युत् उत्पादन भएको छ। विद्युत् प्राधिकरणले तोकेको दर अनुसार हिउँदमा प्रति युनिट आठ दशमलव ४० पैसा र बर्खामा चार दशमलव ८० पैसाका दरले आठ करोड भएको छ। आयोजनाले कुल दुई अर्ब लागतमध्ये एक अर्ब पाँच करोड रुपियाँ विद्युत्गृह र उपकरणमा लगानी गरेको छ। ९५ करोड रुपियाँ नदी नियन्त्रण, नहर निर्माण र अन्य काममा लगानी भएको छ। जलविद्युत् आयोजनाको निर्माण एसइडब्लु–टुन्डी जेभीले गरेको हो भने मेकानिकल कार्य भारतको मेकामिडीबाट गराइएको छ।

कर्णालीबाट मूल नहरमा आउने एक सय क्युमेक्स पानीमध्ये २० क्युमेक्स पानी छ किलोमिटर पश्चिम पुगेपछि बालुवा छान्न कर्णालीमा खसालिएको छ। ८० क्युमेक्स पानी सिँचाइ र विद्युत् उत्पादनमा प्रयोग हुने छ। लम्की शाखा नहरमा सिँचाइका लागि पानी पठाउँदा भने विद्युत् गृहमा ६० क्युमेक्स पानी आउँदा उत्पादन घटने छ।

आयोजनाका विभिन्न शाखा नहरबाट कैलालीको ४० हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको छ। आर्थिक वर्ष २०६६÷०६७ मा सुरु भएको आयोजनाको दुई चरणका काम सकिएका छन् भने बाँकी कामका लागि दोस्रो चरणको तयारी भइरहेको आयोजनाले जनाएको छ। हालसम्म आयोजनामा २० अर्ब खर्च भएको छ।

 

कमेन्ट लोड गर्नुस