सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी नेता खगराजका दुःख : मुख्यमन्त्री बन्न पाएनन्, दलको नेता पनि रहेनन्

तस्बिर :  प्रकाश पार्की
तस्बिर : प्रकाश पार्की
२०८१ फाल्गुन ५, १२:०५ खबर संवाददाता

धनगढी : माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा पहिलो संविधान सभा निर्वाचन भयो।

नेकपा माओवादीका उम्मेदवारहरू धमाधम विजयी भए। तर, डडेल्धुराबाट खगराज भट्ट पराजित भए।

शेरबहादुर देउवाविरुद्ध चुनाव लडेका माओवादीका खगराज भट्ट एक हजार तीन ६८ मतान्तरले पराजित हुन पुगेका थिए। पहिलो पराजयलाई सहर्ष स्वीकार गरेका भट्टले आफ्ना कमजोरी केलाउँदै अर्को मौकाको पखाईमा बसे।

२०७० सालमा दोस्रो संविधान सभा निर्वाचन भयो। उनी पुनः देउवासँगै भिड्न पुगे। तर, त्यो चुनावमा उनी दोब्बर मतान्तरले पराजित भए। देउवाले २३ हजार नौ सय २० मत ल्याउँदा भट्टले १२ हजार ४९३ मतमात्रै पाए। उनी २०७४ सालमा तेस्रो पटक त्यो पनि देउवासँग चुनाव लड्न कस्सिए। यस पटक पनि उनले जित हासिल गर्न सकेनन्। नेकपा एमालेको समेत साथ पाएर चुनाव लडेका भट्ट त्यति बेला देउवासँग ६ हजार ९ सय २९ मतान्तरले पराजित भए।

भट्टको संसद् यात्रामा देउवा नै बाधक बन्दै गए। तर, गत निर्वाचनमा देउवाकै सहयोगमा भट्ट पहिलो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भए। उनी डडेल्धुराबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।

देउवाले नै उनलाई सुदूरपश्चिम प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा निर्वाचनको समयमा अघि सारेका थिए। भट्टले पनि प्रतिनिधि सभामा देउवाका लागि मत मागे। देउवाले प्रदेशमा भट्टका लागि जनतासँग मत मागे। पाँच वर्षका लागि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भट्टलाई बनाउने काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दहालको बिचमा सहमति भएको थियो। तर, माओवादी र काँग्रेसको संयुक्त सरकारले भट्टलाई मुख्यमन्त्री बन्न दिएन। उनको मुख्यमन्त्री तथा मन्त्री बन्ने सपना विना विभागीयमा टुङ्गियो।

उनी माओवादी केन्द्रको संसदीय दलको नेतासमेत रहेनन्। पूर्वमन्त्री मानबहादुर धामी माओवादी केन्द्र, सुदूरपश्चिमको संसदीय दलको नेता छन्। माओवादी केन्द्रका बहुमत प्रदेश सभा सदस्यहरूले निर्णय गर्दै भट्टलाई दलको नेताबाट हटाएका थिए। पार्टी अध्यक्ष प्रचण्डले खगराजलाई भलको नेता बनाउने निर्देशन दिएका भएपनि कार्यान्वयन भएको छैन्।

जिल्लाको परशुराम नगरपालिका–४, कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको समारोहमा भट्टले मुख्यमन्त्री नभएर माननीय मात्रै हुन्छु भन्ने थाहा भएको भए चुनाव नलड्ने बताएका छन्। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेशमा चुनाव जिते मुख्यमन्त्री बनाउने भनेको कारण प्रदेशमा चुनाव लडेको उनले बताएका हुन। ‘खगराज जी प्रदेशमा चुनाव लड्नुस्। संघमा शेरबहादुरलाई छोड्नुस्। हाम्रो गठबन्धन छ। चुनाव जित्नु भो भने मुख्यमन्त्री तपाईँ भन्नू भाथ्यो,’ उनले भने, ‘मुख्यमन्त्री भइयो भने दुईचार अर्ब यहाँ हालौला। त्यो पैसाले कहाँ के गर्नुपर्छ भनेर तपाईँहरूसँग सल्लाह गरौला सोच्या थे। तर, मुख्यमन्त्री बनाएको गठबन्धन त चुनाव जितेको दुई महिनापछि सकियो। काँग्रेस प्रतिपक्ष, माओवादी कता, म कता, अर्को कता ?’ एमाले र काँग्रेसको सरकार भएकोले आफूहरू प्रतिपक्षमा रहेको बताउँदै उनले प्रतिपक्षबाट खबरदारी गर्ने बताए। उनले भौतिक पूर्वाधार विकास मन्त्री भएपनि ठिकै छ भनेको भएपनि एक महिनासम्म विना विभागीय मात्र रहेको बताए।

पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा चुनाव जितेर सबैभन्दा बढी बजेट भएको मन्त्रालयको मन्त्री बन्न पाएको उनले जिकिर गरे। उनले भने, ‘पठान जी कमसेकम चुनाव जितेर सबैभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार मन्त्रालयको मन्त्री त हुन पाउनु भो। दुर्भाग्य म त मुख्यमन्त्री भनेर गएको मान्छे भौतिकै भएपनि एक महिना मन्त्री के भएको थे। बिना विभागीय मन्त्री मै जागिर सकियो। पालै आएन त्यसपछि अब के गर्ने तपाईँहरू आफै भन्नुस् ?’

परशुराम नगरपालिकाका नगर प्रमुख भरत जोशीलाई उत्तर दिँदै उनले प्रधानमन्त्री (शेरबहादुर देउवा) भएर दैजी–जोगबुढाको बाटो बनाउन सकिँदैन भने प्रदेशको माननीय भएर सकिन्छ त ? यो प्रश्न सोध्ने अधिकार मलाई पनि होलानि भन्दै प्रश्न गरे।

तत्कालीन भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवासँग बुढीतोलामा पहिरो गएको समयमा दैजी–जोगबुढालाई वैकल्पिक बाटो बनाउ भन्दा सुनुवाइ नभएको गुनासो भट्टको छ। बजेट विनियोजन प्रक्रिया नजिकबाट अनुभव गरेको उल्लेख गर्दै उनले भने, ‘आखिरमा त्यही ठाउँमा गएर हुने रहेछ, घरमै बसेर बजेट आउने भए त तपाईँहरू पनि योजना ल्याइ हाल्नु हुन्थ्यो। त्यहीँ सिंहासनमा बसेर कलम घोटेर आउने रहेछ।’

डाक्टर ताराप्रसाद जोशी र आफू अहिले एकै विकास समितिमा रहेको बताउँदै उनले दैजी–जोगबुढा सडक प्राथमिकतामा राखेको भट्टले बताए। जोशी र आफू मिलेर काम गरिरहेको उनको दाबी छ। उनले अहिलेसम्म गरेको कामको समीक्षा हुनुपर्ने बताए। ‘हामीहरूले गरेको कामको समीक्षा जनताले गर्नुपर्छ। हामीले काम गरेनौँ भने कान समातेर आदेश दिनु पर्यो। तपाईँले दिएको आदेश म टाउकाले टेकेर मनबाट गर्न तयार छु,’ उनले भने।

 

कमेन्ट लोड गर्नुस