गैराको घण्टेश्वर बीउ बैँक वार्षिक एक करोड १५ लाखको कारोबार गर्दै

धनगढी : डोटीको जोरायल गाउँपालिका–१ गैराको घण्टेश्वर सामुदायिक बीउ बैँकले एक वर्षमा एक करोड १५ लाख रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ।
स्थानीय जातका बीउको उत्पादन र बिक्री गर्दै आएको बैँकले वार्षिक एक करोड १५ लाखको कारोबार गर्दै आएको हो। जैविक विविधता संरक्षण कृषि सहकारी संस्थामार्फत बीउ बिक्री गर्दै आएको हो। बीउको संरक्षण, पुनः उत्पादन र बिक्रीको काम गर्दै आएको हो। जैविक विविधता संरक्षण कृषि सहकारी तथा घण्टेश्वर बिउ बैँकबाट एक करोड १५ लाखको वार्षिक कारोबार हुँदै आएको प्रतिनिधि गणेशबहादुर विष्टले बताए।
कृषि सहकारीले फर्सी, चोतो, पिँडालु, तरुल, जोरायलको रजमाm स्थानीय कलाउ, कागतीको चुक लगायतका उत्पादन बिक्री गर्दै आएको छ। वार्षिक ३५ हजारको हाराहारीमा फलफूल तथा डालेघाँसका बिरुवाहरू समेत सहकारीले बिक्री गर्दै आएको छ। स्थानीय मकै, आलु लगायतको बिउसमेत घण्टेश्वर सामुदायिक बिउ बैँकमार्फत बिक्री गरिदै छ। एक वर्षमा स्थानीय उत्पादनको बिउ मात्र ५० लाख र बाँकी अन्य कारोबार गरेर एक करोड १५ लाख बढीको कारोबार हुने गरेको हो।
धनगढीबाट झण्डै एक सय किलोमिटरको दुरीमा रहेको सहकारीको गैरामा रहेको कार्यालयबाट कृषि उत्पादनहरू बिक्री गर्दै आएको विष्टले बताए। उनले भने, ‘हामीले स्थानीय चिजहरूको संरक्षण गर्ने, उत्पादन गर्ने र बजारीकरण गर्ने हो। स्थानीय उत्पादनहरू बजारसम्म लैजाने हो। नर्सरी पनि छ। बीउ बैँक पनि छ।’ तरकारीका बिरुवाहरू पनि उत्पादन गर्ने उनले बताएका छन्।



