धार्मीक आस्था र पर्यटनको धरोहर बडिकेदार
हर्क बोहरा, बडीकेदार, ५ लाना, डोटी ः
परिचय:
सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको बडीकेदार गाउँपालिका र बोगटान फुडसिल गाउँपालिकाको शिर (मध्य भाग) मा अवस्थित अलौकिक आभूषण (बडीकेदार) प्रसिद्ध अनि पवित्र धार्मिक स्थल हो । यो धाम ठुलाकेदार, बड्डाकेदार वा केदारका नामले पनि सुपरिचित छ । समुन्द्री सतहदेखि २८१० मिटरको उचाईमा रहेको यो मनोहर क्षेत्र पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण मानिन्छ । दुई ठुला ढुङ्गाको दोसाँध अलि समथर स्थानमा केदारको शिला रहेको छ । श्रद्धा र भक्तिभावले केदारको दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रही आएको छ ।
प्राचीन कालमा गोठालाको एउटा गाई
शिलामा गएर दूधको धारा बगाइ रहेको र त्यस क्षेत्रमा अद्भुत शक्ति प्रकट भएको किंवदन्ती पाइन्छ । प्राचीन कालिन समयमा खापरे र केदारको युद्ध भएको र खापरेलाई सेती नदी कटाएर खप्तड भगाएको कथन छ ।राजा दिलीप र रामचन्द्रले पनि यस क्षेत्रमा घुमफिर गरेका थिए । केदारमा कुन्ती महारानी पाँच दिनसम्म बसिन त्यहाँ पानी देखिनन् । त्यसैले केदारनाथबाट पानी मागेर छोडी गईन् । आज त्यही पानी केदारको जाँतमा देवता पुज्ने,स्नान गर्ने र खाने गरिन्छ । भगवान रामचन्द्रले यस केदारका ज्योतिर्लिङ्गको दर्शन गरेका थिए । यहाँबाट रामचन्द्र रामेश्वर गएका हुन् । यी केदारका ११ औ ज्योतिर्लिङ्ग मानिन्छन् । यो स्थान केदारनाथको खुट्टा रहेको स्थान हो । यहाँ केदारका पाउ (खुट्टा) को पूजा गर्ने गरिन्छ । काठमाण्डाैको पशुपति शिवको टाउको हो । कुमाऊँ गढवालका केदारनाथ शिवको ढाँड हुन् भन्ने किंवदन्ती पाइन्छ ।
जडीबुटी :
जडीबुटीले पनि प्रसिद्ध यस बडीकेदारमा सतुवा, तिते, हतजडो, सुनगाभा, सिताबडु, पखानबेद, पाँचऔले, भुतकेश, गुछिच्याउ, बनलसुन, बुकिटिमुर, चिराइतो, कुरिल्लो, तेजपत्ता आदि जस्ता थुप्रै जडिबुटीहरु पाइन्छन् । यो क्षेत्र जैविक विविधताका दृष्टिले सम्पन्न मानिन्छ ।
रुख बिरुवा :
खर्सु, धुपी, निगालो, देउला, मालिङ्गा, जङ्गली गुलाफ, बाज, रयाज, गौते, गुराँस, ओखर, लाहुरी काठ, काफल जस्ता अनेकौ बोटबिरुवाले सु–सज्जित यस क्षेत्रको वन जङ्गलले पर्यटकको मन लोभ्याउने गर्दछ । । वर्षा याममा प्रशस्त जङ्गली फूलहरू फुल्ने गर्दछन् ।
जनावर :
यहाँ सानो बाघ (कुकुरे बाघ), चितुवा, भालु, जरायो, थार, घोरल, बँदेल, रतुवा, ब्वाँसो, वन बिरालो, खरायो, दुम्सी, भार्से, बाँदर, लङगुर (गुना) आदि थुप्रै जङ्गली जनावरहरूको वासस्थान रहेको पाइन्छ ।
चराचुरुङ्गी :
ठकराश, कालिज, च्याखुरा, तित्रा, न्याउली, कोइली, मलेवा, बाहुनचरी आदि सयौँ चराचुरुङ्गी यस ठाउँको शोभा बढाएको पाइन्छ । चराहरूको आवाजले बनजङ्गल गुञ्जायमान हुन्छ ।
मेला (जाँत) विवरण :
हरेका वर्ष कार्तिक शुल्क द्वादशीदेखि सुरु भई त्रयोदशीका दिन विशाल मेला लाग्ने र वैकुण्ठ चर्तुदशीका दिन पूजन (हवन) कार्य हुने गर्दछ मेलामा रात भरी बाजागाजा सहित रमाइलो हुन्छ । डेउडीयाहरू डेउडा खेल्छन् । धामी अनकन्टार डरलाग्दो पहरोमा गएर नाँच्छन् । आगाको चुर बाल्छन् । केही पसलहरू र खानाका विभिन्न परिकारका पसलहरू पनि हुन्छन् । रमाइलो रमाइलोमा रात बित्छ । मेलाको भोलिपल्ट धर्मावलम्बीहरू खुसी हुदैँ केदारको आर्शिवाद, तिलक र प्रसाद लिएर आआफ्नो घरतिर प्रस्थान गर्दछन् ।
मेलामा देवताहरूको लीला देखेर तीर्थयात्रीहरू निकै रमाइलो र आश्चर्य महसुस गर्दछन् । यहाँ देश र विदेशबाट हजारौँ धर्मावलम्बीहरूको घुइँचो लाग्ने गर्दछ । मानिसहरू निष्ठा र पवित्रताका साथ भगवान शिवजीको नामले ब्रत गरी शिवको दर्शन गर्ने गर्दछन् । कैलाली जिल्लाबाट थारू समुदायका मानिसहरूको उल्लेखनीय सहभागिता रहन्छ । जसका सन्तान छैनन् त्यस्ता सम्पत्ति एक चोटी उपवास लिएर आएपछि अर्को पटक कुनै न कुनै सन्तान सहित केदार आउने गरेको यथार्थता पनि छ । प्रत्येक वर्ष शिवरात्री मेला पनि लाग्ने गर्दछ । सो मेलामा पनि भक्तजनहरूको बाक्लो उपस्थिति हुने गर्दछ । केदारका पुजारी विनाडी थरका ब्राह्मण रहेका छन् ।
बडीकेदारका मुख्य आकर्षणहरू :
क) केदार गाथ
ख)गाइवाच्छे ढुङ्गा
ग)मगरउ
घ)खापरे
ङ)शिवशिला
च)शिवमूर्ति
छ)शिवलिङ्ग
ज)धाजा लगाउने
झ)शिद्धगुफा
ञ)केदार्नी माता मन्दिर
क) केदार गाथ :
बडीकेदार शक्तिपीठको प्रमुख आकर्षक केन्द्रको रूपमा केदार गाथ रहेको छ । बडीकेदार गाउँपालिकाको उषा किरणको पहिलो झुल्को पर्ने गाथमा झण्डै ३० मिटर अग्लो प्राकृतिक शिवशिला रहेको छ । पवित्र मनोभावले गाथमा पुगी प्रार्थना गर्दा सम्पूर्ण मनोकामना पूरा हुने जनश्रुति रहेको छ । गाथ क्षेत्रबाट कर्णाली नदीको दोभानलगायत सुन्दर प्राकृतिक दृश्यहरू देख्न पाइन्छ भने राती कैलाली जिल्लाको झिलिमिली बत्ती समेत देख्न सकिन्छ ।
ख) गाईबाच्छे ढुङ्गा :
केदार गाथबाट दक्षिण पश्चिम दिशातिर आकर्षक विशाल गाईबाच्छा ढुङ्गो अर्को महत्वपूर्ण आकर्षक केन्द्र विन्दु हो । विशाल अग्लो ढुङ्गा माथि गाईबाच्छाको आकृतिको ढुङ्गा रहेको छ । भक्तजनहरूले सो ढुङ्गामा रहेको गाईबाच्छाको परिक्रमा गर्दा र भेटी चढाउँदा मनोआकांक्षा पूरा हुने जनविश्वास विद्यमान छ ।
ग) मगरउ :
केदारगाथको पश्चिमी दिशाबाट अलिक तल जाँदा मागरउ भेटिन्छ । प्राचीन समयमा केदारको दलले काटेपानी भन्ने ठाउँबाट रातको समयमा ढुङ्गा वोकेर बनाइएको कुवा आकारको पानी सहितको खाल्टो छ । उक्त ठाँउमा रहेको पानीले नुहाउदा पाप मुक्ति, पुण्य र मोक्ष प्राप्त हुन्छ । यस खोपिल्टोको पानी जाँतमा गएका हजारौँ दर्शनाभिलाषीहरूलाई स्नान गर्न र खान पुग्छ ।
घ) खापरे :
केदार गाथबाट पश्चिमी क्षेत्रमा अवस्थित खापरे अर्को महत्वपूर्ण स्थल हो । केदार र खापरेको महायुद्ध भए पश्चात् त्यस ठाउँको नाम खापरे रहेको भन्ने भनाई प्रचलित छ । केदारलाई खापरे राक्षसबाट मोहन्यालले आफ्ना दल वलको सहयोगले युद्ध गरेर बचाएको किंवदन्ती छ । मेलाको समयमा पसल थाप्ने, डेउडा खेल्ने, खेलमाल गर्ने, स्थानीय धामीका नाच देखाउने आदि कार्य उक्त क्षेत्रमा गरिन्छ ।
मोहन्याल र खापरे बिचको युद्ध हुँदाको फाग :
जान दैत्य वडातोडा मालथली जान
मोहन्याल दैत्यको दलु कत्यूर ल्यान ।
गयो दैत्य वडातोडो, वतासैको स्वर
आयोदलु मोहन्यालकी वादलकी ढिक ।
मिल्ल छौ त खपरे हामु सित मिल
नै त मिल्ला खपरेकी लाउत तेरी ठिक ।
केदारका दाईने तिर तुडया तुडया पानी
मिल्ला छौ त खपरे हमु सित मिल
नई त मिल्ला खपरेकी समाई ल्याए रानी ।
केदारैका गाथ मुनी थुम थुम केला
मिल्ला छौत खपरे हमु सीत मिल ।
नईमिल्ला खपरेका समाई ल्याय चेला
गये दलु खपरेको रुनु–रुनु गयो ।
भयो दैत्य मोहन्याल तेरै भन्नु भयो ।।
ङ) शिवशिला :
केदार गाथमा रहेको विशाल प्राकृतिक शिवशिलाका साथै अन्य थुप्रै शिवशिलाहरू छन् । अचम्मको कुरा यो छ कि ति शिवशिलामा रहेका स–साना टुसाहरू बृद्धि भएको अनुमान त्यस क्षेत्रका स्थानीय बासिन्दाहरू बताउँछन् । पवित्र श्रद्धाभक्तिले त्यस क्षेत्रका जुनसुकै शिलालाई पुज्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
च) शिवमूर्ति :
बडीकेदार शक्तिपीठको उत्तरी भागमा अवस्थित ३५ फिट अग्लो शिवमूर्ति सबैको आकर्षण हो । केदार गाथतिर फर्काएर निर्माण गरिएको सो शिवमूति पूर्व मन्त्री माननीय प्रेमबहादुर आलेमगरको पहलमा विनियोजित बजेटबाट मूर्तिकार रविन्द्र चन्दले बनाएका हुन् ।
छ) शिवलिङ्ग :
जमिनबाट तीन फिट माथि स्वस्तिक छाप चिन्हमा १०८ शिवलिङ्गहरु निर्माण गरी सजाईएको छन् । बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति, डोटीका कार्यकारी अधिकृत दिपेन्द्रराज सिराडीले सामाजिक सञ्जालमार्फत १०८ जनाबाट स्वेच्छिक सहयोग रकमले स्थापना गरिएका शिवलिङ्गहरूले बडीकेदारप्रतिको आस्था झन झाँगिएको छ । सोही स्थानमा १०८ दानदाताहरूको शिलालेख तयार भैरहेको छ ।
ज) धाजा लगाउने :
बडीकेदार शक्तिपीठ पदमार्गमा अवस्थित केदार गाथबाट करिब ६०० मिटर अगाडि धाजा लाउने नामको स्थान रहेको छ । सो ठाउँमा धाजा लगाउँदा पाप मुक्त हुन्छ भन्ने अर्को धार्मिक जनविश्वास छ । त्यस क्षेत्रबाट केदार गाथको दर्शन समेत गर्न सकिने भएकाले त्यहाँ धुप बाल्ने, धाजा लगाउने, घण्टी चढाउने, भेटी चढाउने प्रचलन रहेको छ ।
झ) शिद्धगुफा :
पानीको धारा सहितका प्राकृतिक तथा अलौकिक प्रकृतिका दर्जनौ सिद्धगुफाहरू केदार धामबाट उत्तरपूर्वमा अवस्थित छन् । पानीको धाराहरूमा स्नान गर्दा स्वर्गीय आनन्दको अनुभूति हुन्छ ।
ञ) केदार्नी माता मन्दिर :
केदार्नी माता मन्दिर केदारदेखि दक्षिण लानाको धमेनी गाडको किनारमा अवस्थित छ । खापरेको षड्यन्त्रको कारण जन्मना साथ केदारलाई तामाको ढोलभित्र बन्द गरी भेलछडा (धमेनी गाड) बगाए पछि आमा (केदार्नी) राती आफ्नो छोराको मायाले पछि पछि जाँदै गर्दा हाल मन्दिर रहेको ठाउँमा बिहान उज्यालो भएको किंवदन्ती प्रचलित छ । बडीककेदारको पूजन (हवन) कार्य पश्चात् केदार्नी माता पुज्ने प्रचलन छ ।
केदार, मोहन्याल र केही देवताहरू :
मोहन्याल देवता १२ वर्षमा एकपटक कुनै अवसर पारेर मात्र केदारमा जान्छन् । केदारलाई निकै कठिनाइ आइपरे मात्र मोहन्याल केदारमा जाने गर्दछन् । अन्य समयमा केदारलाई केदार अन्तर्गतका अन्य देवताले सुरक्षा र सहयोग गर्नु पर्ने मान्यता छ । केदार अन्तर्गतका केही देवताहरूको नामावली :
१) धिरगाँणी (गणेश)
२) मोहन्याल
३) डुणे
४) अलडो
४) बडातडो
६) नुवा
७) जैनाडी
८) विगरगाँणी
९) मेलघडी
१०) तिङडी
११) कैलपाल
१२) भैंसीखर्के
१३) ब्रह्मवेताल
१४) मसानी
१५) साैँटी देवता आदि
बडीकेदारमा केदारपक्ष र खापरेपक्षकाहरूको युद्ध गर्दाको रमिता :
गाथ रहेको स्थानदेखि उत्तरतर्फ केही समथर ठाउँ छ । मेलामा देवताहरूको वयाँल (देउरो) यसै स्थानको उत्तरपूर्व र पश्चिम दक्षिणतिर रहेको बाटोबाट आउने गर्दछ । यहाँ खापरेपक्ष मानिने उपल्लो फुडसिल गर्खाकाहरूले आफ्नो ठाउँबाट काठ ल्याएर खापरे (मुसे) को माडौ बनाउने र तल्लो फुडसिल गर्खाकाहरुको दवातल सौडीले देख्ने बितिकै भत्काई फालिदिने प्रचलन रहेको छ । यदि दवातल सौडी आएन भने त्यो खापरे माडौ केदार अन्तर्गतका अन्य देवताले भत्काई फाल्नु पर्ने हुन्छ । यस स्थानमा युद्ध भएको भान पारी केही समय अनौठो दृश्य देखिन्छ । बनाउने र भत्काउनेका बिचमा लठ्ठी हाना–हान, कट्याङ्ग, कुटुङ्ग गर्ने गरिन्थ्यो । खापरेपक्ष आउँदा एक छिन् जोरतोड हुने गर्दथ्यो । यसो गर्दा दुवै पक्ष झगडा उत्पन्न हुने हुँदा आजभोलि त्यस्तो गरिदैन । तर खापरमाडौ जसलाई स्थानीय स्तरमा मुसे (खापरे) माडौ भनिन्छ त्यो बनाउने फुडसिलाहरूले खापरेको माडौ त्यहाँ बनाए पछि तिनीहरूलाई दुःख, शान्ति र राम्रो हुने भएका कारण त्यस्तो गर्दछन् भने केदारको स्थानमा खापरेको स्थापना गरिए वैदिक देवगणकाहरूलाई नराम्रो हुने भएका कारण केदार पक्षकाहरू भत्काउने र फालिदिने प्रचलन छ ।
बडीकेदार जाने मार्ग तथा दुरी :
क) धनगढीबाट बडीकेदार जाँदा :
काठमाडौँदेखि करिब १ घण्टाको हवाईयात्रा पछि सुदूरपश्चिम प्रदेशको सुन्दर सहर धनगढी पुगिन्छ । धनगढीबाट ११२ किलाेमिटर पक्की सडकको यात्रापछि बडीकेदार धार्मिक स्थलको प्रवेशद्वार अत्तरकाँडा बजार पुगिन्छ । धनगढीदेखि अत्तरकाँडासम्म सडक यातायातको राम्रो पहुँच छ । उक्त सडक पार गर्न करिब ४ घण्टा समय लाग्छ । अत्तरकाँडादेखि बडीकेदारसम्म सडक निर्माण भैरहेको छ । अत्तरकाँडादेखि बडीकेदारसम्म करिब ४÷५ किलोमिटर दुरी २÷३ घण्टाको पैदल यात्रापछि बडीकेदार पुगिन्छ ।
ख) सिलगढीबाट बडीकेदार जाँदा :
जिल्लाको सदरमुकाम सिलगढीबाट प्रसिद्ध शक्तिपीठ बडीकेदार धाम पुग्न सकिन्छ । सिलगढीदेखि दिपायलसम्म करिब १५ किलोमिटर कालोपत्रे सडक यात्रा गरे पश्चात् दिपायलदेखि धिर्कामाण्डौ करिब ३८ किलोमिटर कच्ची सडक रहेको छ । धिर्कामाण्डौदेखि करिब ३÷४ घण्टाको पैदल यात्रा पछि बडीकेदार शक्तिपीठ पुगिन्छ । दिपायलदेखि धिर्कामाण्डौं पुग्न अरू पनि छोटा सडक खण्ड रहेका छन् ।
बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन :
यस क्षेत्रको प्राकृतिक, धार्मिक, सांस्कृतिक, जलाधार, वन, पर्यटन, एवम् ऐतिहासिक सम्पदाहरूको व्यवस्थापन, संरक्षण गर्दै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा प्रवर्धन तथा विकास गर्न उद्देश्यले २०७७ साल चैत्र १२ गते सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद्बाट बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति, डोटीको गठन भएको हो । हाल सो समितिले बडीकेदार क्षेत्रको संरक्षण, विकास र व्यवस्थापन गर्दै आईरहेको छ ।
निष्कर्ष :
प्राकृतिक, धार्मिक, सांस्कृतिक, जलाधार, वन, पर्यटन, एवम् ऐतिहासिक सम्पदा हिसाबले बडीकेदार महत्वपूर्ण क्षेत्र हो । अलौकिक क्षेत्र पुण्य भूमि केदारको टाकुरामा पुग्दा मन हर्षित र प्रफुल्ल हुन्छ । मनोरम प्राकृतिक दृश्यहरु बडीकेदारका गहना हुन् । केदार क्षेत्रमा बाह्रै महिना विचरण गर्न सकिन्छ । यो क्षेत्र टाढा टाढाबाट विद्यालय र कलेजहरूको शैक्षिक भ्रमणको रोजाई बन्न थालेका छ् । वसन्त ऋतुमा वनकी रानी कोइलीको कुहुकुहुले मन हाल्हादित हुन्छ । हिउँदमा हिउँले सेताम्य पहाडहरूको दृश्यावलोकन गर्न सकिन्छ । माघ, फागुनतिर लालीगुराँसले सजिएको पाखाहरूले मन आर्कषित गर्छ भने भदौ असोज महिनामा रङ्गीबिरङ्गी सुवासित फूलहरूले झन लोभ्याउने गर्दछ । यति हुँदाहुँदै पनि यो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन सकिएको छैन । यसको थप प्रचार प्रसार गरी नेपालको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको रूपमा चिनाउन आवश्यक छ ।
स्रोत : बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति, डोटी
पुजारी श्री शिद्धराज बिनाडी