सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिठ्ठीपत्रको दिनहरू (संस्मरणात्मक निबन्ध)

२०८२ जेठ ५, १०:४७

जनक भन्डारी: कहिलेकाहीँ स्मृतिका झ्यालहरू यति प्रस्ट खुल्छन् कि मन चुपचाप समयको यात्रामा होमिन्छ। चिठ्ठी लेख्ने र पढ्ने दिनहरूको सम्झनाले पनि त्यस्तै प्रभाव पार्दछ—जहाँ शब्दहरू केवल सन्देश होइन, भावना हुन्थे।

आज जब सूचना प्रवाह सेकेन्डमै सम्पन्न हुन्छ, त्यही सहजताले चिठ्ठीको त्यो आत्मीय संसारलाई बिस्तारै विस्थापित गरिरहेको छ। तर म अझै पनि त्यो लोपोन्मुख युगलाई सम्झन्छु—जहाँ चिठ्ठी एक मात्र माध्यम थियो, आदर, माया, स्नेह र पीडाका सन्देश साटासाट गर्ने। म कक्षा ५ मा पढ्दै गर्दा चिठ्ठी लेख्न थालेको थिएँ। त्यो बेलामा न टेलिफोन थियो, न मोबाइल, न इन्टरनेट। सम्पर्कको प्रमुख माध्यम नै चिठ्ठी थियो।

गाउँका धेरै आफन्त भारतमा रोजगारी गर्न जान्थे, र त्यहाँबाट आउने चिठ्ठी गाउँभरका लागि कौतुहल र चर्चा बनिन्थ्यो। कसैलाई चिठ्ठी लेख्नुपर्यो भने लेखपढ गर्न सक्ने मान्छेको खोजी हुन्थ्यो। म अक्षर चिन्न सक्ने भइसकेकोले धेरैले मलाई पनि बोलाउँथे—कहिले लेख्न, कहिले पढ्न। त्यो उमेरमा म सन्देशवाहक जस्तो महसुस गर्थेँ—शब्दमार्फत मनका कुराहरू कोरिने ती क्षणहरू आज पनि मेरो स्मृतिमा ताजै छन्।

चिठ्ठी लेख्ने सामग्रीहरू आफैंमा एउटा कथा हुन्थे—क्यापिटल कापीका पाना, ओमेगा मसीका पाकेट खोलेर औषधीको बोतलमा घोलेर बनाइने मसी, फेद तिखो भएको ‘फोल्टिन’ वा ‘स्टारलाइन’ डटपेन, भातको माडले टाँसिएको खाम, कहिलेकाहीँ सल्लाको खोटो वा लोत्राबाट बनाइने गुँद, अनि दुई हातले झरो सम्हालेर तल्लाघरे भाउजुले भारतमा रहनुभएका दाइका लागि लेख्न लगाएका प्रेमालापयुक्त सन्देशहरू—सबै आज पनि स्मरणीय लाग्छन्।

र, दाइले भाउजुका लागि पठाएको चिठ्ठी खोल्दा त्यसमा लतपतिएको विदेशी मसीको गन्ध र अक्षरको स्पर्शमा अचम्मको मिठास अनुभव हुन्थ्यो। चिठ्ठीको भाषा पनि अद्भुत हुन्थ्यो—“पूजनीय बुबा–आमा, दुई हात जोडी साष्टाङ्ग दण्डवत्“, “आदरणीय दाजु–भाउजू, ढोग प्रणाम“—जस्ता आदरयुक्त सम्बोधनले सुरु हुन्थे। त्यसपछि आउने सन्देशहरू दैनन्दिन जीवनसँग गहिरो रूपमा गाँसिएका हुन्थे—“भैंसी व्याएको छ“, “हल गोरु बुढा भइसके“, “दशैंमा जसरी भए पनि घर आउनू“—यी पंक्तिहरूमा माया, चिन्ता, अनुरोध र प्रतीक्षाको मिठास मिसिएको हुन्थ्यो।

चिठ्ठी लेखेर पठाउनु सजिलो थिएन। गाउँबाट घण्टौं टाढा रहेको पोखरा बजारको हुलाकसम्म पुग्नु, खाममा टिकट टाँस्नु, अनि पत्र मञ्जुसामा खसाल्नु—यो प्रक्रिया नै एउटा अनुभव थियो। त्यहाँ काम गर्ने गोरो वर्णका खत्री वाजेको अनुहार अझै मानसपटलमा झलझली देखिन्छ। हामीले लेख्ने चिठ्ठीहरू दुई प्रकारका हुन्थे—रजिष्ट्रार, जसको रेकर्ड किताबमा राखिन्थ्यो र साधारण, जुन आफैंले खसालिन्थ्यो। अनि एउटा विशेष चिठ्ठी हुन्थ्यो—नीलो हवाई पत्र, जसमा ५० पैसाको टिकट छापिएको हुन्थ्यो र पत्रमै सन्देश लेखेर फोल्ड गरेर पठाइन्थ्यो।

चिठ्ठीको माथि लेखिएको हुन्थ्यो—“लैजा चरी हावा सरी, चिठ्ठीको जवाफ छिटै आउने गरी“—तर जवाफ पाउन भने महिनौँ लाग्थ्यो। त्यो प्रतीक्षामा पनि एउटा मिठो पीडा हुन्थ्यो—आशा र सम्झनाबीचको गहिरो सम्बन्ध।
आजको युग प्रविधिमा अगाडि बढेको छ। सूचना आदान–प्रदान छिटो, सहज र व्यापक भएको छ।

तर साथमा हराएको छ—चिठ्ठीमा हुने आत्मीयता, भावनाको गहिराइ, अनि मसी र कागजको त्यो स्पर्श। चिठ्ठी अब केवल स्मृतिका पानामा सीमित छन्, तर ती अक्षरहरूमा लुकेका संवेदनाहरु अझै मेरो हृदयमा अमिट छन्। संसार जति नै बदलिए पनि ती चिठ्ठीका हरफहरू आज पनि मेरो बाल्यकाल, मेरो गाउँ र मेरा भावनाहरूको प्रतिनिधि हुन्—एक अमूल्य जीवन–झल्कोको रूपमा।

लेखकः जनक भन्डारी
धनगढी, नेपाल 

कमेन्ट लोड गर्नुस