सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीलाई खुला पत्र

२०८२ वैशाख १३, ०७:४४

सम्मानित अध्यक्ष ज्यू, नमस्कार!

कुशलताको बारेमा सोध्न निकै असहज भइरहेको छ, किनकि म व्यक्तिगत समस्यासंग जुधिरहेको छु भने तपाईं म र म जस्ता लाखौँ अपहेलित शिक्षकहरुका हकहितको लागि झण्डै महिनादिन देखि विश्व कै प्रदूषित सहरको सडकमा हुनुहुन्छ। तपाईंको यो संघर्षमा अन्तर्मन देखि नै समर्थन हुँदा हुँदै पनि भौतिक रुपमा उपस्थिति जनाउन नसकेको मा म लज्जित छु। हुन त तपाईंलाई मैले सल्लाह सुझाव दिने हैसियत नरखुला तथापि तपाईंले नेतृत्व गरेको शैक्षिक आन्दोलनका विभिन्न आग्रह हरुमा मेरा सरोकार हरु समेत समेटिएका ले तपाईंलाई आफ्नै अभिभावक÷नेता मानी आफ्नो स्तर अनुसारका उपायहरू सुझाउने कुचेष्टा गरेको छु। यसमा केही कतै ग्राह्य भए स्वीकार्नु होला।

गुरु! हुन त नेपालमा शिक्षक आन्दोलनको लामो इतिहाँस छ। अहिले कै माग मुद्दाहरू का लागि संघर्ष गर्न सुरु गरेको पनि वर्षौं भइसक्यो। यो बीचमा हाम्रा मुख्य ३ दलका सरकारहरू संग पटक पटक सहमति पनि नभएका होइनन् तर ती सबै दस्तावेजहरु कता मिल्काइए थाहा÷पत्तो भएन। शैक्षिक सत्र २०८१ को उत्तरार्धमा आइपुग्दा ध्यानाकर्षण बुझाउने चरणबाट सुरु भएको हाम्रो सत्याग्रह विभिन्न स्वरूप हरु पार गर्दै आज महिना दिन जति देखिको शैक्षिक आम हड्तालको स्थितिमा पुग्दा समेत सरकारले उचित चासो नदेखाउनु ले अब यसको सुरक्षित अवतरण कसरी गर्ने भन्ने सम्मको चुनौती हामी मा आइलागेको आभाष हुन थालिसकेको छ।

राम्रो सुरुवात लाई आधा सकिएको मान्ने गरिन्छ तर यस वर्षको शैक्षिक सत्र को सुरुवात राम्रो हुन सकिरहेको छैन जसले गर्दा जनमानसमा समेत शिक्षक प्रति नकारात्मक भावहरू सञ्चार सुरु भइसकेको छ।यो अवस्थाको कारक राज्य नै हो भन्ने कुरामा दुई मत नहोला तर हाम्रो आन्दोलनले विद्यार्थीको शैक्षिक प्रयत्नमा असर परेको कुरा असत्य होइन त्यसैले अब एक नजÞर आफ्नो कार्यक्षेत्र तर्फ लगाऔं भनी अनुरोध गर्दछु। मैले यसो भनिरहँदा आन्दोलनबाट फर्कने वा मैदान बाट भाग्ने भन्न खोजेको नबुझिदिनुहोला। झण्डै एक महिनादेखि स्कूल ठप्प हुँदा समेत आफ्नै धुनमा मस्त सरकारबाट समाधान निस्कने कुरा भन्दा बालुवा पेलेर तेल निस्कने कुरा पत्याउनु ठीक हुन्छ। अब निरन्तर हठ गर्नुभन्दा फरक शैलीमा आफ्ना माग मुद्दा सम्बोधन गराउने कि?

अध्यक्ष ज्यू! अहिले शिक्षक को सक्षमता माथि बजारमा गम्भीर प्रश्न हरु उठाउन थालिएको छ, यस्तो अवस्थामा मुख फर्काउनु भन्दा केही उपाय द्वारा ’ हामी सक्षम छौँ’ भनी देखाउन सकियो भने राष्ट्रका लागि समेत हितकर हुनेछ। विश्लेषणको सुविधा र जिम्मा हजुरलाइ दिँदै हामी शिक्षक हरुको वास्तविक तागत देखाउने रणनीति का लागि केही बुँदाहरू सुझाउने कुचेष्टा गरेको छु, स्विकार्नुहोलाः

१. पूर्वीय संस्कृति अनुसार शुभ कर्मको सुरुवात प्रायश्चित्त बाट गरिने हुँदा प्रायश्चित्त स्वरूप दलीय आबद्धता त्यागी सबै शिक्षक एकढिक्का हुने।

२. दलीय राजनीति बाट मुक्त भएका र हुनसक्ने सक्षम र योग्य अवकाशप्राप्त शिक्षक÷ प्राध्यापक हरुको राष्ट्रिय भेला गर्ने।

३. तपाईं जस्तै कर्मठ र अडान लिनसक्ने दृढ नेतृत्व चयन गरी उनलाई २०८४ को भावी प्रधान मन्त्री घोषणा गर्ने।

४. १६५ वटै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रका लागि उम्मेदवार घोषणा गर्ने।

५. सबै बहालवाला शिक्षक कर्मचारी आ आफ्नो कार्यस्थल मा फर्कने र आफ्नो कार्य उच्च प्रतिफल उन्मुख हुने गरी सुरु गर्ने।

६. सार्वजनिक बिदाका दिन आफ्नो कार्यक्षेत्र अन्तर्गत को प्रस्तावित उमेद्वार को पक्षमा जनमत सिर्जना गर्न पहल गर्ने।

७. २०८४ को आम चुनाव आउनु अघि दल दर्ताको अन्तिम समय तिर दल दर्ता गराउने ( समानुपातिक प्रयोजनका लागि)

८. आम निर्वाचनमा नखटिने, आन्तरिक रुपमा आफूले सिर्जना गरेको शिक्षाप्रेमी नेतृत्व चयनको माहोल निर्माण गर्ने।

९. दुई तिहाई भन्दा बढीको बहुमत ल्याउने र कानुनी अड्चन हरु फुकाउँदै राज्यको व्यापक पुनर्संरचना गरी सुन्दर राष्ट्र निर्माणमा योगदान गर्ने।

आदरणिय गुरु! यो देश समस्या नै समस्याले गिजोलिएको र एक ठाउँमा टाल्न खोज्दा तीन ठाउँमा भत्कने अवस्थामा पुगेको कुरा तपाईंलाई पनि थाहा नभएको होइन । अहिलेका दल र नेताहरुले शैक्षिक समस्या समाधान गर्ने ल्याकत पनि राख्दैनन् यसका लागि त भूत बाट सिक्न सक्ने, वर्तमान लाई उपयोग गर्न सक्ने र भविष्यलाई सुनिश्चितता प्रदान गर्न सक्ने नेतृत्व आवश्यक छ। शिक्षक ले चाह्यो भने अहिले देखिएका भन्दा कयौं गुणा राम्रा हजारौं नेताहरु केही दिन मै जन्माउन सक्छ भन्ने कुरालाई अहिलेका शासक र मुट्ठीभर शिक्षा द्रोही हरुलाई देखाउन रणनितीक रुपमा आफु समेत हामीलाई परिचालन गर्नुहुने छ भन्ने अपेक्षाका साथ कलम लाई विराम दिन चाहन्छु, धन्यवाद!

उही तपाईंको कट्टर समर्थक

एन पि अवस्थी

( मा. शि.)

 

कमेन्ट लोड गर्नुस