सडकमा सपना देखेकी उनी भन्छिन, “सपनाको कुनै वर्ग नहुदो रहेछ”
दिपा भण्डारी : साउन महिनाको प्रचण्ड रापले त्यति पोलेको छैन, जति मनीषाको सपनाले पोलेको छ। सपना एउटा साँघुरो गल्लीमा, सडकको एउटा पुरानो ठेलामा घाम सँगै ठेलाको धुवाँले देखिएको सपनालाई कहिले उर्जा मिल्छ त कहिले त्यही सपना धकेल्न मन लाग्छ।
सपनाको कुनै वर्ग होला या नहोला तर, मनीषा दिदीलाई यही सडकमा ओहोरदोहोर गर्ने कतिपय व्यक्तिले थरीथरीका उपनाम भने पक्कै दिएका छन्। मकै वाली, ठेला वाली, खाजा वाली ! तर, म उनलाई भन्छु एक सङ्घर्षशील महिला, एक जीवन्त नारी, जसले सपनालाई ठेलाको धुवाँमा उडाएकी छैनन, संस्कार, साहस, मेहनत, धैर्ययता र आत्मविश्वासको आगोमा पकाइरहेकी छन्। जसरी मकैको स्वादमा मिठास भर्छिन।
उमेरले करिब ३२ वर्षकी उनी करिब दुई वर्षदेखि ठेलामा मकै बेच्दै आएकी छन। त्यो सडक छेउको ठेलाबाट उनी दैनिक दुई हजारसम्म कमाउँछिन्। सुरु–सुरुमा ठेला थिएनन्। दिनको तीन हजार पाँच सय भन्दा पनि धेरै कमाएको उनले बताइन। कहिल्यै स्कुलको ढोका नदेखेकी उनले अङ्कगणित राम्रोसँग जान्दी रहीछन्। उनले आफ्नो प्रत्येक दिनको कमाइ, खर्च, अनि बाँकी पैसाबाट बचत समेत गर्ने गरेकी छन्।
उनी भन्छिन्, “सपना पनि एक किसिमको लगानी हुनेरहेछ। जसको ब्याज भविष्यमा मुस्कानको रूपमा फिर्ता आउँने हो। म त्यो पर्खाइमा छु।” तर, त्यो पैसाभन्दा ठूलो कुरा उनको अनुहारमा झल्किएको छ मेहनतको मुस्कान, साहसको मजा अनि आत्मसम्मानको भावना। कहिल्यै स्कुल नगएकी मनीषा अहिले एउटा छोरी र एउटा छोरालाई पढाइरहेकी छिन्।
उनले भनिन् “श्रीमानले त भन्नु हुन्छ, ठेलामा काम नगर। म जे जस्तो दुःख गरेर पनि छोराछोरी पढाउछु। मैले श्रीमानको दुःख हेरेर बस्न सकिन। त्यसैले आफ्नो जिद्दीले ठेलामा मकै बेच्न सुरु गरेकी हु। किनकी मेरो श्रीमान साइकल बनाउने ठाउँमा काम गर्नु हुन्छ। दुई वर्ष भन्दा बढी भयो, मैले श्रीमानसँग पैसा मागेको छैन। भाडाको घरमा घर खर्च, छोराछोरीको पढाई लेखाई,पालनपोषण, लुगा कपडा सबै आफैले ठेलामा मकै बेचेर चलाई रहेकी छू।” उनले थपिन, “तीन छोरा–छाेरीहरूलाई हुर्काए। अहिले पढ्दै छन्। श्रीमानको कमाईसँगै आफूले घर खर्च र छोरा–छोरीको पढाईसँगै केही रकम जम्मा गरेको पैसाले धनगढीमा जग्गा किनेकी छु। अब घर लगाउने सपना छ।”
उनी प्रेरणा बनेकी छन् ..
दिनभरि अर्काको काम गरेर थाकेर आएका कतिपय महिला दिदी बहिनीहरूको एकछिनको विश्राम मनीषाको ठेलामा हुने रहेछ। जब साहुको काम गरेर, महिनाभरि दुःख गरेर, समयको प्रवाह नगरेर साहुको घरमा काम गर्दा साहु नै काम प्रति असन्तुष्ट हुने, महिना भरी काम गर्दा सानो पारिश्रमिक दिन पनि आनाकानी गर्ने साहुको चर्को शब्दले थाकेका ती अनुहारलाई मनीषाको ठेलाले फरक सपना देख्न सिकायो।
मनीषाको मेहनतसँगै धेरैले नयाँ पाठ सिकेका रहेछन्। साहुको चर्को आवाज भन्दा ठेलामै आफ्नो पसिना बगाउन धेरैले मनीषाबाट तरिका सिकेका छन्। र, अहिले सडकको छेउ–छाउमा धेरै ठेला छन्। सानो रकमबाट पनि आफ्नो दैनिकी चलाउन सक्ने उत्प्रेरणा र सुझाव कतिपयले मनीषा बाटै पाएका थिए। सडकमा सपना देखेकी मनीषा आज धेरैलाई सपना देख्न सिकाइरहेकी छिन्। सडकले उनलाई रोक्न सकेन, अनि त्यो सडक नै अब उनको प्रेरणा बनिरहेको छ।
एउटा चिन्ता पनि छ उनको...
धनगढी उपमहानगरपालिकाले “हाम्रो धनगढी, सफा धनगढी” भन्ने नारासहित सडक छेउमा रहेका ठेला–टहरा हटाउने निर्णय गरेको खबर उनले सुनेकी थिइन्। खबर सुन्नासाथै उनको मनमा अनेक प्रकारका तनाव सुरु भए। रातभरि आँखाले निन्द्रा खोजे पनि उनी निदाउन सकिनन्।
“ठेला नै बन्द भयो भने के हुन्छ?” भन्ने प्रश्न बारम्बार मनमा घुमिरह्यो। यही ठेलाबाट उनको घरको चुलो बल्थ्यो, छोराछोरीको पेट भरिन्थ्यो, स्कुलको शुल्क तिर्थिन्। लुगा कपडा किन्ने, औषधोपचार गर्ने, सबै खर्च यहीँबाट हुन्थ्यो।
त्यो सोच्दा उनको मुटु भारी बन्यो। “म मात्रै होइन, म जस्ता धेरै महिला–पुरुष दिनभर धुलो, धुवाँ र घामसँग लडेर परिवार पालिरहेका छन्। यिनीहरूको अवस्था के हुन्छ?” उनी भन्छिन्, “नगरलाई सफा राख्नु राम्रो कुरा हो, तर हाम्रो पेट पनि त मार्नु भएन।”
नगरको नयाँ नीति उनका लागि मात्र होइन, सडकमा पसल राखेर बाँचिरहेका सयौँ जीवनका लागि अनिश्चितताको बादल बनेर आएको छ। उनी अझै पनि बिहान उठ्दा ठेलाको चाबी हातमा लिएर निस्कन्छिन् तर, मनभित्र डर बोकेर। कुन दिन आएर यो ठेला अन्तिम पटक बन्द गर्नुपर्ने होला, भन्ने शँका लिएर। यो एक प्रतिनिधि पात्रको मात्रै कथा होइन, यो सङ्घर्षको सहरमा पेट पाल्ने हजारौँ सपनाहरूको साझा पीडा हो।