हिमपातपछि सुदूरपश्चिमका अवरुद्ध राजमार्ग पुनः सञ्चालन
धनगढी: गएराति परेको बाक्लो हिमपातका कारण अवरुद्ध भएका सुदूरपश्चिम प्रदेशका विभिन्न प्रमुख राजमार्ग पुनः सञ्चालनमा आएका छन्। हिमपातका कारण बैतडी र डडेल्धुरा जिल्लाका उच्च पहाडी क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको थियो।
बैतडी जिल्लाको अनारखोली, खोडपे, श्रीभावर, सतबाँझ र देहिमाडौँ क्षेत्रमा बाक्लो हिमपात भएपछि दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गएरातिदेखि अवरुद्ध भएका थिए। राजमार्ग बन्द हुँदा ती क्षेत्र हुँदै सञ्चालन हुने साना तथा ठूला सबै प्रकारका सवारी साधन रोकिएका थिए। यात्रुहरू बाटोमै अलपत्र परेका थिए भने मालवाहक सवारी साधनहरू समेत गन्तव्यमा पुग्न सकेका थिएनन्।
यस्तै, डडेल्धुरा जिल्लाको साहुखर्क, हगुल्टेललगायत उच्च पहाडी क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको थियो। सडकमा बाक्लो हिउँ जम्दा सवारी चिप्लिने जोखिम बढेपछि सुरक्षाका कारण आवागमन रोकिएको थियो।
अवरुद्ध सडक खुलाउन ट्राफिक प्रहरी, सडक डिभिजन कार्यालय तथा सम्बन्धित निकाय तत्काल परिचालित भएका थिए। सडकमा जमेको हिउँ हटाउने, जोखिमयुक्त मोड तथा उकालो–ओरालो क्षेत्रमा सवारी आवागमन सुरक्षित बनाउने काम निरन्तर रूपमा गरिएको थियो।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० टेक जोराका अनुसार आवश्यक समन्वय र प्रयासपछि अवरुद्ध सबै राजमार्ग सञ्चालनमा आएका छन्। हाल सबै राजमार्गमा सवारी आवागमन सामान्य अवस्थामा फर्किएको जनाए।
तर मौसम अझै चिसो र अस्थिर रहेकाले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन ट्राफिक प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ। विशेषगरी रातिको समयमा तथा उच्च पहाडी सडक खण्डमा यात्रा गर्दा सतर्क रहन, आवश्यक सुरक्षा सामग्री प्रयोग गर्न र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न आग्रह गरिएको छ।