हिमपातका कारण सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध
बैतडी: भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ र देहिमाडौँ क्षेत्रमा हिमपात भएपछि दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि नै अवरुद्ध भएका हुन्।
रातिदेखि नै राजमार्ग बन्द हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेको बैतडी प्रहरीका प्रवक्ता तथा प्रहरी निरीक्षक सुरज सिंहले बताए। हिमपातका कारण राजमार्गसँगै विद्युत् सेवा पनि अवरुद्ध भएको उहाँले जानकारी दिए। उहाँका अनुसार रातिको भारी हिमपातले दुवै सेवा प्रभावित भएको हो र पुनः सञ्चालनका लागि आवश्यक पहल सुरु गरिएको छ।
यस्तै, डडेल्धुराको साहुखर्क, हगुल्टेललगायत क्षेत्रमा हिमपात भएपछि भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ। शुक्रबार बेलुकादेखि बैतडीसहित दार्चुला, बझाङ, डोटी र डडेल्धुराका उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको हो।
यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि स्थानीय किसानहरू खुसी भएका छन्। पछिल्ला चार महिनादेखि वर्षा नहुँदा हिउँदे बाली सुक्न थालेका थिए। हिमपात र वर्षापछि बाली सप्रिने आशामा किसानहरू उत्साहित भएका छन्। यद्यपि, हिमपातका कारण चिसो अत्यधिक बढेपछि सर्वसाधारणको जनजीवन प्रभावित भएको छ।