सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओल्के पर्व: सामाजिक तथा सांस्कृतिक सन्दर्भ

२०८१ भदौ १, ०९:५१

तीर्थराज भट्ट, डोटी: ओल्के पर्व र परम्परा
भाद्र सङ्क्रान्तिका दिन सुदूरपश्चिममा मनाइने ओल्के पर्वयहाँको मौलिक पर्व हो। यो पर्व सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बैतडी, अछामलगायतका जिल्लाहरूमा मनाइन्छ। मनाइने तरिकामा भने जिल्लागत रूपमा फरक फरक कुराहरू भेटिन सक्छन्। ओल्के पर्व सामाजिक शिष्टाचारको पर्व हो। यस पर्वमा आफूभन्दा ठुलालाई सम्मान स्वरूपओल्को दिने चलन छ।

‘ओल्को’ शब्दको शाब्दिक अर्थ उपहार, कोसेली वा सौगात भन्ने हुन्छ। यस पर्वमा साना व्यक्तिले ठुला व्यक्तिको घरमै गएर ओल्को दिने गर्दछन्र ओल्को दिएबाफत ठुला व्यक्तिहरूले पनि ओल्कोको सम्मान गर्दै ओल्को दिनेलाई पनि केही न केही उपहार दिन्छन् तसर्थ ओल्के पर्व दोहोर उपहार आदान प्रदानको पर्व हो।

ओल्को कसले कसलाई दिन्छन् भन्ने सन्दर्भ हेर्दा छुट्टिएका परिवारका सदस्यले आफ्नो परिवारको जेठो हाङ्गोलाई, विवाह गरेका चेलीबेटीले माइतीलाई वा ज्वाँइले ससुरालीलाई, शिष्यले गुरुलाई, हरेकले आफ्ना मावलीलाई, सर्वसाधारणले गाउँका मुख्य व्यक्तिलाई वा तल्लो वर्गका व्यक्तिले माल्लो वर्गलाई ओल्को दिएको देखिन्छ।

त्यसैगरी पहिलेको सामाजिक संरचना अनुसार रहेका गाउँका मुख्यलाई रैतीले र तल्लो जातका मानिने वर्गले आफ्ना रिथी अर्थात् मालिकलाई ओल्को दिने चलन हो। यसरी दिने ओल्कोमा पनि दिने व्यक्ति वा भूमिकाका आधारमा पृथकता भने पाइन्छ। ओल्कोमा विशेषतः साग दिइन्छ र ‘ओल्क्या साग’ पदावली निकै महत्त्वका साथ प्रयोग गरिन्छ। सागमा पनि मूलतः पिडालु (कर्कल्ला) का गाभा दिने प्रचलन रहिआएको छ।

ओल्कोका रूपमा चेलीबेटीहरूले सागपात तथा केरालगायतका फलफूल, कान्छो परिवारले जेठो परिवारलाई सागपात, दही, केरा आदि, तल्लो वर्गले माथिल्लो वर्गलाई वा रैतीले मुख्यलाई क्षमतानुसारखसी, बोका, दही, ध्यु, मह, आदि,पार्कीहरूले आफूले बनाएका वस्तुहरू नाम्लो, डोको आदि, सार्कीहरूले छालाका जुत्ता, चाल्लो, हलौडा आदि,दमाइहरूले पैसाराख्ने थैली (सुर्केथैली), टोपी, टमटाले तामाको दियो, लुहारहरूले, कुटो कोदालो, हसिया आदि, सुनारले पञ्चधातुको औँठी, दाँत कोट्याउने पितलको साधन,मान्यजनकहाँ दिने प्रचलन छ।

यस्तो ओल्को दिएबाफत ठुला व्यक्ति वा मान्यजनहरूले उनीहरूलाई आशीर्वादका साथमा दिने व्यक्ति वा व्यक्तिको सामाजिक भूमिका अनुसारदक्षिणा, रुपियाँपैसा, लुगाकपडा, पक्वान्न र काँचो अन्न आदि प्रत्युपहार दिने चलन छ। प्राप्त ओल्कोको सम्मान गर्दै मान्यजनहरूले चेलीबेटीलाई टीकाटालोसहित प्रतिउत्तरमा दक्षिणा र कान्छो परिवारको ओल्को दिने व्यक्तिलाईपकवान्न खुवाउने चलन छ त्यसरी उपहार दिने व्यक्तिलाई केही न केही खुवाउनुपर्छ भन्ने मान्यता रहिआएकोमा त्यस दिन उपहार दिने लिनेको अनुकूलता नमिलेमा अर्को दिन निमन्त्रणा गरी खुवाउने समेत चलन रहेको छ।

पहिलेको सामाजिक संरचनाअनुसारतल्लो जात मानिएका मानिसले ओल्को दिने र ओल्को माग्ने चलन समेत रहेको छ। संस्कृति विद् प्रा.डा. जयराज पन्तले ‘डोटेली समाजमा भदौ सङ्क्रान्ति’ लेखमा ओल्के पर्वलाई विशेषतः तल्लो वर्ग र तल्लो जातको पर्वका रूपमा उल्लेख गरेका छन्।

तल्लो जात मानिएका मानिसहरूले प्रायः सबै पर्वहरूमा आफ्ना रिथीहरूकोमा माग्न आउने भए तापनि यस पर्वमा माग्नु उनीहरूको अधिकारको विषय मानिन्छ तसर्थ यो पर्व तल्लो जातको पक्षमा रहेको भनीपन्तले उल्लेख गरेको पाइन्छ।

विभिन्न जातिले आआफ्नो शैलीमा ओल्को माग्दछन्। सार्कीहरू हलौडाको साथमा आएर आफ्ना रिथीहरूका घरका भित्तामा हलौडोले हान्दै ‘ओल्को! ओल्को!’ भन्दछन्। त्यस्तै दमाईहरू ट्याम्कोको साथमा ‘दैमाछो दैमाछोओल्क्या भात’ भन्दै ओल्को माग्दछन्। अन्य तल्लो जात मानिएका सबैले ठुलो स्वरमा ‘ओल्को! ओल्को!’ भन्दै ओल्को दिन्छन् र माग्दछन् पनि।

वर्तमान समयमा ओल्कोको प्रचलनमा जातिगत आधार र वर्गगत आधार भने कमजोर हुँदै गएको छ वा धरै ठाउँमा यो चलन समाप्त नै भइसकेको छ। यसलाई सामान्य र स्वाभाविक मान्न सकिन्छ। तर चेलीबेटी र पारिवारिक सम्बन्धका आधारमा भने ओल्को दिने परम्परा रहिरहेको छ, जसको निरन्तरता आवश्यक पनि छ र यसले सामाजिक सम्बन्ध र सद्भावलाई बढवा दिइरहेको छ।

यति बेला खोलानालाले ठुला नदीमा र नदीले समुद्रमा ओल्को पु¥याउँछन्। वर्षायाममा नदीको उर्लदो पानी आफ्नो मूल स्रोत समुद्रमा मिल्न जान्छ। यसरी नदीनालाले आफ्नो मूल जरो भेटे झैँ छुट्टिएर बसेका परिवारका मानिसहरू यस पर्वमा मिल्ने गर्दछन् त्यसमा पनि कान्छो परिवार जेठो हाङ्गोको परिवारको घरमा जाने चलन छ।

यसले पारिवारिक सद्भावलाई कायम राखी आपसी सम्बन्ध र विश्वासलाई दरिलो बनाउँदछ। डोटेली समुदायमा यस पर्वका बारेमा ‘मरुँला भणी बिसौँ खानु बाँचे भणी ओल्के खानु’ भन्ने लोकोक्ति नै रहेको छ। तसर्थ यस पर्वको सम्बन्ध वैशाख सङ्क्रान्ति वा बिसौँ पर्वसँग पनि रहेको देखिन्छ।

नयाँ वर्षपछिगर्मी र वर्षाको समय सुरु हुने र वर्षासँगै विभिन्न प्रकारका महामारीहरू, रोगव्याधीहरू तथा प्राकृतिक प्रकोपहरू बढ्ने भएकाले त्यसमा मरिने पो हो कि भन्ने डर हुने हुँदा वैशाख सङ्क्रान्तिको दिनलाई विशेष मानेर बिसौँ पर्व मनाइन्छ भने गर्मी र वर्षाको प्रभाव कम भएसँगै अब जोखिम नआउने कुरामा विश्वस्त हुँदै भाद्र सङ्क्रान्तिका दिन बाँचे भनेर खुसी हुँदै ओल्के पर्व मनाइन्छ। यस कुराले गृष्मकालीन तथा वर्षाकालीन समयमा हुनसक्ने खतरबाट बच्न समेत सुसुचित गरेको देखिन्छ।

ओल्केसँगै जोडिएका अन्य संस्कृति
ओल्के शब्दले उपहार लिने, दिने वा माग्ने अर्थलाई सङ्केत गरे पनि ओेल्के पर्व भन्ने बित्तिकै अन्य संस्कृतिहरू पनि यससँग जोडिएर आउन पुग्दछन्।

ओल्को लिने, दिने वा माग्ने, भङिरी लगाउने र चोख्याउने, बुढी पोल्ली हाल्ने, भाँडहरूले गीत गाउने र नाच्ने, पिङ खेल्ने आदि सांस्कृतिक परम्पराको संयुक्त नाम नै ओल्के पर्व हो, तसर्थ भाद्र सङ्क्रान्तिका दिन मनाइने ओल्के पर्व भित्रका ती सांस्कृतिक परम्परालाई चिनाउनु आवश्यक हुन्छ। 

भङिरी चोख्याउने संस्कृति
भङिरी चोख्याउने संस्कृति ओल्के पर्वकै दिन मनाईने अर्को मौलिक परम्परा हो। त्यसका साथै आयुर्वेदिक वा चिकित्सा दृष्टिकोणले पनि यसलाई महत्वका दृष्टिले हेर्न सिकन्छ । साउन महिनाको अन्तिमतिरका चारपाँच दिन अगाडिदेखि नै मानिसहरूले हात र खुट्टामा भङिरी लगाउने गर्दछन्।

भङिरी भनेको विभिन्न जडीबुटीहरूको मिश्रित लेदो हो। यसमा मुख्य रूपमा भङिरी फूल (तिउरी फूल) पर्दछ भने त्यसका साथै अन्य जडीबुटीहरू पनि रहन्छन्। मजेट्टी, कल्पते, रत्पते, दाडिमका बोक्रा, ओखरकाबोक्रा, चुकिल डाँठ, रातो झ्याउ, नान्देउली, ठुल्देउली आदि यसमा मिसाइन्छ।

यी सबैलाई मिसाई पिसेर लेदो बनाइन्छ र राति खाना खाइसके पश्चात् हातको हत्केलाएवम् नङ र  खुट्टाका नङमा लेपन गरिन्छ। भङिरी नखसोस् भन्नका लागि बाहिरबाट त्यसलाई कुनै पातले बाँधिन्छ। त्यस्ता पातहरू उपलब्धताका आधारमा पिडालुको पात, फर्सीको पात, इण्णाको पात आदि प्रयोग गरिन्छ।

यसरी लेपन गरिएको भङिरी राति दुईतीन बजेतिर नै निकालिन्छ । अर्थात् यसका लागि ठिक समय जान्नु पनि आवश्यक हुन्छ । कम समय भए पनि हातमा राम्रोसँग लाग्दैन भने पाँच छ घण्टाभन्दा बढी समय भङिरी हातमा रहेमा यसको उल्टो प्रभाव पर्दछ राम्रोसँग लाग्दैन।

त्यसकारण राति नै हातबाट निकालिन्छ यदि निकाल्न नसके बुढी (भुतिनी) ले चाट्ने र हातमा भङिरी लाग्दैन भन्ने मान्यता रहेको छ। जे होस् बिहान निकाल्दा बढी गल्ने र तुरुन्तै हात धुनुपर्ने भएकाले पनि पखालिने हुनाले पनि कम लाग्ने हुनसक्छ।

भङिरीमा मुख्य भङिरी फूल नै रहन्छ भने ठाउँअनुसार अन्य जडीबुटीहरू पनि मिसाइन्छन्। यसरी मिसाउँदा भङिरी बढी लाग्ने तथा बढी गाढा देखिन्छ। अहिलेको आधुनिक भाषाको मेहन्दी वा नङपालिसको परम्परागत स्वरूप यसलाई मान्न सकिन्छ। भङिरी कुट्दा पनि छुट्टै विशेषता रहेको छ।

कसैले कुटेको बढी लाग्ने र कसैले कुटेको कम लाग्ने मानिन्छ। त्यस्तैभङिरी कुट्दा ‘केकुट्टी बुढी–भङिरी, केकुट्टी बुढी–कालपाते, केकुट्टी बुढी– चुकिलडाँठ !’ आदि गाउँदै कुट्दा बढी लाग्ने भन्ने चलनसमेत रहेको छ। जे होस् श्रावण महिनाको अन्तिमतिर वा मसान्तिका दिन सबैले भङिरी लगाउँछन्।

केटाकेटीहरूले रहरले पाँच छ दिनसम्म भङिरी लगाउँछन् भने बुढाबुढीहरूले एकदिन भएपनि भङिरी लगाउनुपर्छ भन्ने मान्यताका साथश्रवणमसान्तिका दिन लगाउने गर्दछन्। केटाकेटीहरू र महिलाहरूले पुरै हातभरि लगाउने भङिरीमा बुढाबुढीहरूले परम्पराकै लागि भएपनि खुट्टा वा हातको कुनै एउटा आँैलाको नङमा लगाउने परम्परा रहेको छ।

भङिरी नलगाए बुढी रिसाउने र विभिन्न रोगव्याधि लाग्ने भनाइ रहेको छ। यसको सांस्कृतिक वा परम्परागत मान्यता जेसुकै भएतापनि आयुर्वेदका दृष्टिले यसलाई अर्थपूर्ण मानिन्छ। वर्षाको समय, खेतिपातीको काम र फोहोर पानी आदिका कारण छालाजन्य समस्याहरू देखिने हुँदा विभिन्न जडीबुटीको समिश्रण भङिरी लगाउँदा छालाजन्य रोगहरू निको हुने तथा नलाग्ने कुरा जानकारहरूबाट थाहा पाइन्छ। 

यसरी श्रावण महिनाको अन्त्यतिर लगाएको भङिरीलाई ओल्केको दिन अर्थात् भाद्र सङ्क्रान्तिमा चोख्याउने चलन छ। चोख्याउनु भनेको त्यसलाई शुद्ध गर्नु हो। भङिरी चोख्याउने कार्य पनि विधिवत् ढङ्गले गरिन्छ। भङिरी चोख्याउनका लागि घिउ, मह, तिल मिठाई आदिको प्रसाद बनाइन्छ र उक्त प्रसाद भङिरी लगाएको हातमा राखेर खाने गरिन्छ। यसरी ओल्के पर्वसँगै भङिरी चोख्याउने संस्कृति पनि रहिआएको छ।

बुढी हाल्ने संस्कृति 
ओल्के पर्वकै दिन जोडिएको अर्को संस्कृति हो, ‘बुढी पोल्ली’ हाल्ने संस्कृति। बुढी पोल्ली पर्व असोज सङ्क्रान्तिका दिन मनाइन्छ। बुढी पोल्ली पर्व मनाउने समुदायले एक महिना अगाडि अर्थात् ओल्के पर्वकै दिन बुढी हाल्ने गर्दछन्। यस पर्वको धार्मिक मान्यता भगवान् श्रीकृष्ण र पुतना बुढीसँग जोडिएको छ।

धर्म ग्रन्थमा वर्णित् कथाअनुसार कृष्णलगायत ग्वालागोठालाहरूकी काल बनेर आएकी पुतनालाई कृष्णले मारेपछि गोठालाहरू खुसी भई उत्सव मनाएको घटनालाई स्मरण गर्दै बुढी पोल्ली पर्व मनाइन्छ । गोठालाहरूको महत्त्वपूर्ण पर्व मानिने बुढी पोल्लीको तयारी स्वरूप ओल्केकै दिन बुढी पोल्ली हालिन्छ।

त्यहीपुतनाको प्रतिमूर्ति स्वरूप श्रावण सङ्क्रान्तिका दिन निश्चित ठाउँमा बुढी हालिन्छ। बुढी हाल्नु भनेको पुतना बुढीको प्रतीक बनाउनु हो। त्यसमा गोठालाहरूलेसाना रुख, रुखका हाँगा, सुकेका काठ, दाउरा,झ्याङ आदि जम्मा गरेर थुपार्दछन्।

बुढी पोल्लीका दिन पोल्न सजिलो होला वा राम्ररी सुक्ला भनेर एक महिना अगाडि नै बुढी हाल्ने परम्परा रहेको छ। श्रावण संक्रान्तिका दिन बुढीको प्रतीक बनाइन्छ र त्यसमा महिनाभरि नै काठका टुक्रा वा झ्याङहरू थप्ने गरिन्छ जसलाई बुढीका थाकडा वा लुगा कपडा मानिन्छ। 

भाँड नाच र गीतको परम्परा
ओल्के पर्वलाई भाँड जातिको विशेष पर्वका रूपमा मानिन्छ। परम्परा अनुसार भाँड जातिहरू ओल्के अर्थात् भाद्र सङ्क्रान्तिका दिनदेखि भाद्र महिनाभरि गाउँदै, नाच्दै, रमाउँदै माग्ने गर्दछन् । भाद्र महिनामा भाँडहरू अत्यन्तै छाडा हुने, आफूलाई चाहिएको माग्ने, कर लगाउने र नदिएमा अश्लिल एवम् सामाजिक रूपमा अपाच्य शब्दमा गाली गर्ने गर्दछन्।

यसरी भाँडले देखाएको अशिष्टतालाई भाद्र महिनामा सामान्य मान्ने गरिन्छ, यस्तो गालीमा भाँडलाई कुनै नियम कानुन लाग्दैन भन्ने बुझाई र सोहीअनुसारको सामाजिक व्यवहार पनि पाइन्छ । सोही सन्दर्भमा ‘भाँड माग्द नैजाण्णा, पिला हुन नैजाण्णा’ र ‘भदोका भाँडजसा’ भन्ने उखान बनेका छन्। 

भदौको गीत र भाँड जातिको ऐतिहासिक सन्दर्भ पनि निकै रोचक रहेको छ, जो जानकारहरूबाट सुन्नमा आउँछ। प्राचीन समयमा डोटी राजाको दरबारमा नाचगान तथा मनोरञ्जन गर्नका लागि भाँड जातिको ठुलो भूमिका थियो। ओल्केका दिन पनि राजदरबारबाट नै ओल्को माग्न सुरु गरी गाउँगाउँ पुग्दथे।

यसरी माग्नुको मुख्य कारण भाँड जातिसँग कमाई खाने जग्गाजमिन थिएन अर्थात् यस जातिको बिर्ता थिएन। त्यसैले तत्कालीन डोटी राजाले उक्त कुरा बुझी यिनीहरूलाई बोलाई जमिन दिए । भाँड जातिलाई जमिन दिएको कुरा त्यहाँका ठुला ठालुहरूलाई मन परेको थिएन। आफूले पाएको जमिनमा जब भाँड जातिले धान लगाए तब असोजको महिनामा धान सेताम्य भएर फुल्न थाले।

उनीहरूले कहिले पनि खेतीपाती नगरेकाले खेतीका बारेमा केही जानकारी थिएन। स्थानीय ठुला ठालुहरूले भाँडहरूलाई बोलाएर भने, “तिमीहरूको खेतमा पुतला लागे अर्थात् धानलाई नाश गर्ने किरा लागे। त्यसैले तिनीहरूलाई झार्नुप¥यो।” ठालुको सल्लाहअनुरूप भाँड जातिले धानका फूलहरू झराएर नष्ट गरे।

यही कुरालाई लिएर ठुला ठालुहरूले राजालाई कुरा लगाएर भने, “भाँडहरू खेती गर्न चाहँदैनन्। उनीहरूलाई खेत दिनु उपयुक्त छैन। पाएको खेतमा लाएको धान उनीहरूले फुलेको अवस्थामा सखाप पारे।” त्यो सुनेर राजाले सारा भाँडहरूलाई बोलाएर सोधे, “तिमीहरूलाई सेरो चाहिन्छ कि फेरो?” जसमा ‘सेरो’ शब्दको अर्थ बिर्ता जमिन कमाएर खानु थियो र ‘फेरो’ शब्दको अर्थ घुमफेर गरेर खानु थियो। भाँडहरूले आफ्नै अर्थ लगाए, ‘सेरो’ भनेको जमिन कमाएर खानु हो र ‘फेरो’ भनेको बाबर अर्थात् सेल राटी खानु हो।

बसिबसी बाबर खाने कुरालाई कल्पना गरी ‘फेरो’ चाहिने कुरा बताए । त्यसपछि राजाले सारा जनतालाई भाँडहरू माग्न आएमा सक्दो सहयोग गर्नुपर्ने कुराको झ्याली पिट्यो र भाँडहरूलाई घुमफेर गरी मागेर खान आज्ञा दियो। त्यसपछि भाँडहरू मागी खाने जातका रूपमा चिनिए तथा अधिकार सम्पन्न भए। सायद त्यसैले होला हालसम्म पनि प्रायः भाँडहरूसँग जग्गा जमिन छैन। 

राजाको आज्ञाअनुसार घुमफेर गरेर मागी खान पनि भाँडहरूले सुख पाएनन्। फेरि दुःख दिए, तिनै र त्यस्तै प्रवृत्तिका गाउँका टाँठाबाँठा ठालुहरूले एवम् शोषक सामन्तहरूले । माग्न आएका भाँडहरूलाई दिनभरि गाउन नाच्न लगाउने र तिमीहरूले भनेको जति दिन्छु भन्ने तर दिनुपर्ने बेलामा उल्टै धाकधम्की र गालीबेइज्जती गरेर पठाउने गर्न थाले।

त्यसपछि भाँडहरूले तिनकै विरुद्धमा गीत रचना गरेर गाउँगाउँमागाउन थाले। यसरी जन्मियो भदौको क्रान्तिकारी भाँड गीत । संस्कृति विद् प्रा.डा. जयराज पन्तले सङ्कलन गरेको भाँड गीत यहाँ प्रस्तुत गर्नु उपयुक्त ठहर्ला: 

आम्मा डाली भोज पियारी
थुक पडिजाऊ रत्ने फुलाराकी दाडी
छोली हाल्यो बाबा, चढाई हाल्यो तारो
रत्नेकी इला लैग्यो मालका कहार
खेतकी इचली फुली गयो भाङो
रत्नेकी इजा लैयो वनभैँसाको राङो ।

तमलकै जान्छौ कि बणालै जाँत
रत्नेकी इजाका कोदाला जसा दाँत
छीटकी गजिना गजिनाकी कोइ
रत्ने होलो आफनी कान्सी बुहारीको पोइ ।

धाउनी बितडिग्यो बाबा माउनी बितडिग्यो
बितडिग्यो गैलाको साण
बड हात बितडिग्यो मुदडिया बोरो
बौरानी दिहाल्यो भाण ।
उलकुलको जाति बामन पण्डितमैको साण
सागभाग तम नै रया बिण्णी
अब भया मलौट्या भाण ।

विण्णिका घरमैँ रातो पानी
विण्णि हगन लागि रागस लाग्यो
तामा कसिण्णी तुड्की पकावै हाणी
चार जातको नर्क पड्यो
तै बिना भाटकी चानी
बाटा हिट बाटा हिट भैँसी 
तु भैँसा चौर पानी पिलाउँला
साग बुकाउँला पोली खाउँला
नूनीका द्यौला चिढाउँला
छौ चकी गंगा बगाउँला
सात छेपाडा मा¥यो नौ भ्यागुता मा¥यो 
गाडिहाल्यो गोडाएइका छाला
तम त गोसाइँ सेराद बाटा हिटला
ठौर ठौर रोकिहाल्लो जाल
अद्दै सके काँको ब रैलो ।

बिना भाटकी जोइका पुछडैनो छारको थैलो
कुकुर्या कामलाको पयै हाल्यो गादो
द्यौलेकी इजाको लमली लाउनो लादो
पुसे टमटाको तै पुगे जायो
भाणको बाणो क्याखी टिपी खायो ?
पुसे टमटाकी सुन्नरा चेली
भाणका गाण पिठायो लाइदेली ।।

यसरी हेर्दा भाँड नाचलाई संस्कृतिभन्दा पनि ऐतिहासिक सन्दर्भबाट चल्दै आएको परम्पराका रूपमा लिन सकिन्छ। वर्तमान समयमा भाँड नाच र गीत लोप हुँदै गइरहेको छ। यो बचिरहनु पर्छ यसलाई नै बचाइ राख्नुपर्छ भन्ने नभए पनि यसको इतिहास भने मर्न दिनु हुँदैन। यो एउटा विद्रोहको आवाज हो, आक्रोस व्यक्त गर्ने अवसर हो र सर्वसाधारको आन्दोलन हो।

आफूलाई दुःख दिने, सताउने, ठग्ने व्यक्तिको नामसहित गीतमा आधारित गाली सुनाउनुले सामन्ति प्रथाको विरोध गरेको प्रष्टै हुन्छ। सामन्ति युगमा पनि शोषक सामान्तिहरूलाई यतिसम्म भन्न छुट थियो भने वर्तमान लोकतान्त्रिक प्रणालीमा गलत कार्यको विरोध गर्न बाधा नहुनुपर्ने हो भन्ने सन्देश यस परम्पराबाट सम्प्रेषित हुन आउँछ।

निष्कर्ष
डोटेली समुदायमा ओल्केलाई जेठो पर्व मानिन्छ । यस पर्वपछि अन्य पर्वहरू क्रमशः (तीज, गौरा, दसैँ, तिहार) आउने भएकाले अर्थात् अन्य पर्वलाई यसले ओल्क्याउने वा निम्त्याउने भएकाले जेठो मानिएको हो। वर्तमान समयमा ओल्के दिने र माग्ने परम्पराका जातिगत र वर्गगत आधार भने कमजोर बन्दै गइरहेका छन् वा समाप्त नै भइसकेका छन् भन्दा पनि हुन्छ।

पहिलेको सामाजिक संरचनाअनुसार रहेका परम्परा वर्तमान समयमा त्यहीअनुरूप हुनपर्छ भन्ने पनि होइन । संस्कृतिको विशेषता नै परिवर्तनशील रहनु भएकाले सोही कुरा यस पर्वका सन्दर्भमा पनि लागु भएको देखिन्छ जसलाई स्वाभाविक मान्न सकिन्छ। ओल्को माग्ने र दिने परम्परा विस्तारै हट्दै गए पनि भाद्र सङ्क्रान्तिलाई विशेष पर्वका रूपमा भने मनाउने प्रचलन भने रहिआएको छ।

भङिरी लगाउने र चोख्याउने, बुढी पोल्ली हाल्ने, पिङ खेल्ने जस्ता सांस्कृतिक परम्पराहरू कुनै न कुनै रूपमा निरन्तरता पाएका छन्। बाहिर रहेका परिवारका सदस्यहरू घर फर्कने, चेलीबेटीहरू माइत आउने, इष्टमित्र र आफन्तहरू एकत्रित हुने र मिठा मिठा परिकार बनाउने प्रचलन रहेकै छ।

ठुलालाई सम्मान र सानालाई माया गर्नु नेपाली संस्कृतिको मूल विशेषता नै हो, ओल्के पर्वले पनि उक्त कुरालाई आफ्नो मूल विशेषता नै बनाएको छ। वर्षाको समय, खेतीपातीको काम र बेफुर्सद, बाढी पहिरोजस्ता प्राकृतिक प्रकोप, नदीनालाको उग्र रूप आदि कारणले आपसी सम्बन्ध तथा भेटघाटमा बाधा उत्पन्न भएकोमा ओल्के पर्व मिलनको विन्दु बन्दछ। तसर्थ ओल्के पर्व सामाजिक एकता र सद्भावका दृष्टिले निकै महत्त्वपूर्ण मानिन्छ।

 

कमेन्ट लोड गर्नुस