सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाईको सडक आन्दोलन

२०८२ असार ८, ०६:३४

उमेश गुुर्धामी: झण्डै–झण्डै एक दशक हुन आँट्यो, गाई सडकमा आएको। तर, विशेष गरेर सुदूरपश्चिममा, अझै पनि महेन्द्र राजमार्गलाई नै वासस्थान बनाएर गाईहरू बसेका छन्।

अझै कहिलेसम्म बस्नुपर्ने हो, थाहा छैन। मैले यस विषयलाई गहिरिएर हेर्दा आन्दोलनकै रूप देखे, गाईहरूको आन्दोलन। विगत केही वर्ष यता हाम्रो देशमा आन्दोलनको ट्रेन्ड चलेको छ। कुनै एउटा क्षेत्रको मात्र होइन। यहाँ सहकारी पीडितको आन्दोलन, शिक्षकहरूको आन्दोन, कर्मचारीहरूको आन्दोलन, डाक्टरहरूको आन्दोलन, धार्मिक अभियानताहरूको आन्दोलन, यातायात व्यवसायीहरूको आन्दोलन, न्याय निसाफका लागि आन्दोलन, विभिन्न अन्तरराष्ट्रिय सम्झौतामा आन्दोलन अनि राज्य व्यवस्था परिवर्तनका लागि भई रहेका आन्दोलनहरूले स्थिरता पाउन नसकेको शताब्दी नै हुन धेरै समय छैन।

यि सबै आन्दोलहरूमा रुमलिएका हामी नेपाली वासी सायद गाईहरूको आन्दोलनमा हाम्रो ध्यान केन्द्रित हुन सकेन। होस् पनि कसरी ? आखिरमा एउटा जनावर न हो। न त बोल्न सक्छन्। न यिनिहरूको कतै प्रतिनिधि नै छ। गाईहरूले आफ्नो आन्दोलनमा कुनै कसुर छोडेनन्। कहिले किसानका बाली नष्ट गर्छन त कहिले यातायात नै अवरुद्ध गर्छन। सडक दुर्घटनामा आफ्नो ज्यानसँगै मानिसको ज्यानसम्म लिन पुगे।

सृष्टिलाई सृष्टिकै स्वभावमा ल्याउन सक्ने एक मात्र जीव आज बेसाहारा सडकमा अलपत्र छन्। कुनै समय गाईको दुध ननिकालिकन बिहानको काम सुरु हुदैन थ्यो। गौदान बिना कन्यादान हुदैन थ्यो, पञ्चगव्य बिना पूजापाठ हुदैन थ्यो। गोबरको लेपन गरेमात्रै यज्ञादी कार्यहरू गरिन्थ्यो। तिहारमा गाईको पूजा नगरिकन लक्ष्मी पूजा हुदैन। गौ दान बिना मृत्यु संस्कार पनि पूर्ण र शुद्धता भएको मानिदैनथ्यो। गाईको दुध, दही, घ्यु नखाए शरीरमा तागत आउदैन भनि सिकाईन्थ्यो। तर, विडम्बना नै भनौ आज यि सबै सामाजिक मूल्य मान्यता, संस्कार हाम्रो समाजबाट हराई सकेका छन्। सायद मानव जीवनको सार्थकता नै गाईमा थियो। अहिले न त मानव जीवनको सार्थकता छ। न गाई गोठमा। मैले गुरुजनबाट सत्सङ्गमा सुनेको थिए, गोठ नबनाई मठ बनाउनु हुदैन। मठ, मन्दिरहरूको अस्तित्व गाईको गोठले कायम गरेको हुन्छ। यही कारण हुुन सक्छ आजका दिनमा मन शान्त गर्न मन्दिर होइन होटेल भट्टी तिर पसिन्छ। अनि कहाँबाट आउछ हामीमा संस्कार ? कस्ले बचाउछ हाम्रा संस्कृति ? भनिन्छनी “यथा दृष्टि तथा सृष्टि” जस्तो हेर्ने नजर छ तेस्तै दुनिया देखिन्छ।

कसैले गाईलाई जनावर हैन जननीको रूप देखे प्राणीको रूपमा भन्दा पनि प्राणको रूपमा हेरे। कुनै महान दार्शनिकले भन्नुभएको थियो। हामी त्यही देख्छौ जे हामी देख्न चाहान्छौ। राज्य व्यवस्था परिवर्तनका लागि राष्ट्रमा धेरै जनआन्दोलन र जनहिंसा पनि भए। यो क्रम अझै पनि जारी छ। नयाँ व्यवस्था आएको तीन दशक भयो। अनि नयाँ संविधान जारी भएको पनि एक दशक हुनपुग्यो। तर, अझै पनि गाईमा प्राय कसैको नजर गएको देखिदैन। नजर नगएको हो या नजर नलगाएको ? यो प्रश्नको विषय हो।

नेपालको राष्ट्रिय जनावर गाई हो। राष्ट्रिय जनावरको संरक्षणमा सबैभन्दा ठुलो दायित्व राज्यकै हुन्छ। किनकि संसार कै सबैभन्दा सानो गाई पनि सुदूरपश्चिम कै अछाम जिल्लामा पाइन्छ। जुन नौ मुठे गाईको नामले प्रचलित छ। यसको उत्पत्ति स्थल अछामलाई नै मानिन्छ। तर, अहिले नौ मुठे गाई लोपोन्मुख अवस्थामा छ। मुलुकी अपराध संहिता,२०७४ को परिच्छेद– २७ मा पशुपक्षी सम्बन्धी कसुर को व्यवस्था छ। उक्त परिच्छेदको दफा २८९ मा गाई, गोरु मार्न वा कुट्न नहुने भनिएको छ। यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुनेछ भनि उल्लेख गरिएको छ।

जङ्गल छेउमा काञ्जी हाउस बनाएर गाईलाई थुनी भोक भोकै मर्न बाध्य बनाएका छन्। केही समय अगाडीसम्म जङ्गलभरि गाईका हड्डी मात्रै यत्रतत्र भएका देखिन्थे। यसरी जङ्गलमा, सडक छेउमा हड्डी नै हड्डी देख्दा पनि हामी लाचार भएर हेरिरहनु पर्ने ? आखिर हामीले पाएको शिक्षाको औचित्य के हो ? हामी मध्ये कसैले भगवानलाई दोष लगायौँ, कसैले भाग्यलाई, कसैले प्रारब्धलाई, कर्मको सिद्धान्तलाई, राजनीतिलाई हरेकले कसै न कसैलाई दोष लगाउदै हिड्यौँ। हरेक परिणामको सबै दोष अरूलाई मात्रै लगाउने हो भने हाम्रो दायित्व, अस्तित्व केही छैन ? हामी हुनु र नहुनुले केही फरक पार्दैन र ? यदि साँच्चै केही फरक पर्दैन भने हामी ढुङ्गे युगदेखि आजको यो प्रविधिको युगसम्म कसरी आईपुग्यौ ? जलवायु परिवर्तनको मुख्य कारक को हो ? गाईहरू सडकमा आउनु कसका कर्मको परिणाम हो ?

हाम्रो सनातन संस्कृतिमा गोत्र द्वारा वंशजको जानकारी लिने प्रचलन छ। संस्कृतमा गाईलाई गो भनिन्छ। गोत्रको ‘गो’ले पनि गाईकै प्रतिनिधित्व गर्दछ। यसबाट थाहा हुन्छ कि मानवीय अस्तित्व गाईमा निहित छ। भगवान कृष्ण गाई चराएर गोविन्द, गोपाल भनिन थाले। उहाँ पाँच वर्षको उमेरदेखि नै गाईको सेवामा लाग्नु भएको थियो। भगवान शिव गोरक्षनाथको रुपमा अवतार भएर गाईको रक्षा गर्नु भयो। भगवान विष्णु कृष्णको रूपमा र शिवजी गोरक्षनाथको रूपमा आएर गौ सेवा र संरक्षण गर्नु भयो। गाईमा ३३ कोटी देवी देवताको निवास छ। भगवानहरू सबैको निवास गाईमा छ। चार वटै वेदमा गाईको प्रसङ्ग छ। परशुराम भगवानले पनि गौ रक्षा कै निम्ति शस्त्र उठाउनु भएको थियो। “गावो विश्वास्य मातरः” भन्दै शास्त्रले गाईलाई विश्वकी माताको दर्जा दिएको छ।

यस्ता थुप्रै प्रसङ्गहरू, पौराणिक कथाहरू वैदिक शास्त्रमा भेटिन्छन्। हरेक भगवानहरूले, अवतारहरूले कुनै न कुनै रूपमा गौ सेवा गर्नु भएकै छ। अब के हामी सेतो घोडामा आउदै गरेका भगवान कल्कीलाई पर्खिरहने वा आफू भित्र अन्तर आत्मामा विद्यमान भगवानलाई चिनेर आ–आफूले आ–आफ्नो ठाउँबाट यो जगत कल्याणमा निम्ति गाईहरूको सडक आन्दोलनको निराकरण गरि मानवीय दायित्व पुरा गर्ने ?

गाई प्रति हामीले गरेको निन्दा र दिएको यो चरम दुःखका कारण आज हामी मानवहरू मानवीय स्वभावमा छैनौँ। प्रकृतिलाई प्रकृतिकै स्वभावमा ल्याउन सक्ने गाईको सेवा गनु भनेको मानव र प्रकृतिको रक्षा गर्नु हो। हामी सबै मिली गाईको आन्दोलनलाई निराकरण गरौ, गाईको सेवा गरौ, रक्षा गरौ र गौ वंशको संरक्षण गरौ।

लेखक : उमेश गुुर्धामी

कक्षा १२ मा कानून अध्ययनरत विद्यार्थी

 

कमेन्ट लोड गर्नुस