सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु

२०८२ मंसिर १९, ०७:०२ खबर संवाददाता

काठमाडौँः आइसिसी महिला टि–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु भएको छ। मूलपानीस्थित खेल मैदानमा आजदेखि टोलीको बन्द प्रशिक्षण सुरु भएको हो।

यसअघि नेपाल क्रिकेट सङ्घ (क्यान) ले  बिहीबार २६ सदस्यीय  प्रारम्भिक टोली घोषणा गरेको थियो। उक्त टोलीमा इन्दु बर्मा, राजमति ऐरी, सीता रानामगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुवी पोदार, पूजा महतो, कविता कुँवर, रुविना क्षेत्री, साना प्रविन, अलिशा यादव, ईश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सिमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी छन्।

बन्द प्रशिक्षणपछि नेपालको अन्तिम टोली घोषणा हुने क्यानले जनाएको छ। आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमा आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देश सहभागी हुँदैछन्। तीमध्ये शीर्ष चार देश सन् २०२६ को जुनमा इङ्ल्याण्डमा हुने महिला टि–२० विश्वकपमा छनोट हुनेछन्।

ग्लोबल क्वालिफायरमा समूह ‘ए’ मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्वाबे छन् भने समूह ‘बी’ मा नेपालसहित बङ्गलादेश, नामिबिया, नेदरल्याण्ड र पपुवा न्यूगिनी रहेका छन्।

कमेन्ट लोड गर्नुस