सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृष्णपुर नगरस्तरीय यु-१८ छात्र फुटबल प्रतियोगिता हुने

२०८३ कार्तिक ३, ०८:१५ खबर संवाददाता

धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा प्रथम नगरस्तरीय यु-१८ छात्र फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। कृष्णपुर नगरस्तरीय बाल सञ्जालको आयोजनामा तथा कृष्णपुर नगरपालिकाको सहकार्यमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

आयोजकका अनुसार प्रतियोगिता  यही कात्तिक १६ गतेदेखि सुरु हुनेछ। प्रतियोगिता कृष्णपुरस्थित सिंहपुर सामुदायिक वनको खेल मैदानमा सञ्चालन हुनेछ।

‘कृष्णपुरका बालबालिकाको चौतर्फी विकास, स्वस्फूर्त निर्णय लिन सक्ने, सबैले निकालौँ निकास’ भन्ने मूल नारासहित आयोजना हुने प्रतियोगिताको मुख्य नारा ‘खेलौँ, सिकौँ र सँगै अघि बढौँ’ रहेको छ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी र पदक प्राप्त गर्नेछ। त्यस्तै, दोस्रो हुने टोलीले १५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगदसहित ट्रफी र पदक प्राप्त गर्ने आयोजकले जनाएको छ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले नगद तीन हजार रुपैयाँ र ट्रफी पाउनेछन्। उत्कृष्ट गोलरक्षक, रक्षक, मध्यपंक्तिका खेलाडी, अग्रपंक्तिका खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही एक हजार पाँच सय रुपैयाँ र ट्रफी प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले तीन हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ। प्रतियोगितासम्बन्धी थप जानकारीका लागि अशोक सिंह धामी र टेकराज जोशीलाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

कमेन्ट लोड गर्नुस