सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘राइनो दौड प्रतियोगिता यही कात्तिक १४ आयोजना हुँदै

२०८३ कार्तिक २, ०९:५३ रासस

चितवन : राइनो क्लब, नारायणगढले यही कात्तिक १४ मा ‘राइनो दौड प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ ।

पाँच किलोमिटर दूरीको दौड गैँडाकोटस्थित जयश्री पुलबाट सुरु भई नारायणगढको लीलाचोकमा पुगेर समापन हुने प्रतियोगिताका संयोजक महेश प्रधानले बताए । उनका अनुसार प्रतियोगितामा महिला तथा पुरुष दुवै विधामा प्रतिस्पर्धा हुनेछ । दुवै विधाका विजेतालाई समान पुरस्कार प्रदान गरिने उनको भनाई छ । प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीय हुनेले १० हजार र तृतीय हुनेले पाँच हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिने छ ।

त्यसैगरी, निर्धारित ३० मिनेटभित्र पाँच किलोमिटर दौड पूरा गर्ने सबै धावकलाई फिनिसर प्रमाणपत्र प्रदान गरिने प्रधानले बताए । ५० वर्षभन्दा माथिका भेट्रान धावकलाई समेत विशेष सम्मान गरिने प्रतियोगिताका सह–संयोजक रोहित श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले नाम दर्ता गर्न सक्ने छन् । दर्ता शुल्क २०० रुपैयाँ तोकिएको छ ।

प्रतियोगिताका सल्लाहकार राजु श्रेष्ठले राइनो क्लबले विगतमा नारायणगढ तथा आसपासका क्षेत्रमा दौडलगायत विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको बताए ।  २०३७ सालदेखि सञ्चालन हुँदै आएको दौड प्रतियोगिताले विभिन्न कारणले निरन्तरता पाउन नसकेपछि यस वर्षदेखि पुनः सञ्चालन गर्न लागिएको उनको भनाइ
 छ ।  
 

कमेन्ट लोड गर्नुस