सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती मनाइयो

२०८३ कार्तिक २२, ०३:१७ खबर संवाददाता

धनगढी: नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइएको छ।

नेपाली साहित्यमा देवकोटाले पुर्‍याएको अतुलनीय योगदानको स्मरण गर्दै हरेक वर्ष कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन उनको जन्मजयन्ती मनाउने गरिन्छ। नेपालसहित भारतका विभिन्न भूभाग तथा नेपाली भाषीहरूको बाहुल्यता रहेका क्षेत्रहरूमा समेत विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइएको हो।

जन्मजयन्तीका अवसरमा काठमाडौंको सञ्चारग्रामस्थित महाकवि देवकोटाको सालिकमा माल्यार्पण गरी उनीप्रति श्रद्धासुमन अर्पण गरिएको छ।

विसं १९६६ साल कात्तिक कृष्ण औँसीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीका साइँला छोराका रूपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सफल सुरुवात गरेका थिए।

उनका ‘मुनामदन’ खण्डकाव्य, ‘शाकुन्तल’ महाकाव्य र ‘भिखारी’ कवितासङ्ग्रह नेपाली साहित्यका कालजयी तथा युगान्तकारी कृतिका रूपमा स्थापित छन्। नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्‍याउनुभएको देवकोटाको योगदानको स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ती मनाइँदै आएको छ।

कमेन्ट लोड गर्नुस