अपी हिमाल बेसक्याम्प क्रिकेट : धनगढी-११ बन्यो विजेता
दार्चुला: समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा रहेको दार्चुलाको अपी हिमाल बेसक्याम्पमा आयोजित मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता ‘अपी ट्रफी’ को उपाधि धनगढी-११ ले जितेको छ। पिलकन्द मैदानमा सम्पन्न फाइनल खेलमा धनगढी-११ ले आयोजक अपी-११ लाई ३३ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको धनगढी-११ ले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको लक्ष्य पछ्याएको अपी-११ ले १५ ओभरमा ९ विकेट गुमाएर १०८ रन मात्रै बनाउन सक्यो।
अपी-११ का लिलाधर रोकायाले २२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २८ रन बनाए भने प्रदीप धामीले १९ रनको योगदान दिए। बलिङतर्फ धनगढी-११ का सुभोध तिवारीले ३ ओभरमा १० रन खर्चेर ४ विकेट लिए।
अपी ट्रफीले उच्च हिमाली क्षेत्रमा क्रिकेटको सम्भावना उजागर गर्नुका साथै सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपेको बताइएको छ। प्रतियोगिताको आयोजनामा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समितिका अध्यक्ष एवं ‘क्रिकेटको सहर धनगढी’ अभियानका सूत्रधार सुवास शाहीले सहकार्य गरेका थिए।
अपिहिमाल गाउँपालिकाद्वारा कात्तिक १७ देखि १९ गतेसम्म आयोजित प्रदेशस्तरीय ‘अपी हिमाल पर्यटन उत्सव, २०८३’ अन्तर्गत प्रतियोगिता सञ्चालन गरिएको हो। उत्सवमार्फत अपी क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखिएको थियो।