सुदूर नेपाललाई विश्वसँग जोड्दै

साइकल यात्राः वास्तविकता, चुनौती र फाइदा

२०८२ कार्तिक ३०, ०१:२१

शान्तिप्रसाद जोशीः दैनिक जीवन व्यस्त हुँदै गएको, सहरहरू विस्तारिँदै गएको र मानिसहरू मोटरयुक्त सवारीसाधनमा झन् धेरै निर्भर बन्दै गएको अहिलेको समयमा स्वस्थ र दिगो यातायातको आवश्यकता अझ धेरै बढेको छ। यिनै परिवर्तित परिस्थितिमा साइकल एउटा सरल, किफायती र प्रदूषणरहित यातायात माध्यमका रूपमा पुनः स्थापित हुँदै गएको छ। दिगो विकास, स्वच्छ सहर र स्वस्थ जीवनशैलीका लागि साइकल अब विकल्प मात्र होइन, अनिवार्य आवश्यकता बन्दै गएको छ।

म दैनिक २१ किलोमिटर साइकल चलाउँछु। शनिवार भने ४० देखि ६० किलोमिटर मेरो यात्रा रहने गर्छ। र यो केवल यात्राको माध्यम मात्र होइन, मेरो जीवनशैलीकै महत्त्वपूर्ण हिस्सा बनेको छ। जसको श्रेय म भरत विक्रम शाहलाई दिन सक्छु। उहाँको प्रेरणा र साइकलप्रतिको लगावले म पनि साइकलतर्फ आकर्षित भएँ र निरन्तर चलाइरहेको छु। मेरो अनुभवमा बिहानै सडकमा निस्कँदा पाइने शान्ति, ताजा हावा र शरीरमा अनुभूत हुने ऊर्जा दिनभरि सक्रिय र उत्साही बनाइदिन्छ। नियमित रूपमा कम्तीमा २१ किलोमिटर साइकल चलाउँदा शरीर चुस्त–दुरुस्त रहन्छ, फोक्सो बलियो हुन्छ, मन प्रसन्न रहन्छ र मानसिक स्पष्टता पनि बढेको मैले अनुभव गरेको छु।

नेपालजस्ता विकासोन्मुख देशहरूमा साइकल सबैभन्दा सहज र किफायती यातायातका साधनमध्ये एक हो। तर सहरी क्षेत्रमा बढ्दो ट्राफिक जाम, वायु प्रदूषण र पार्किङको अभावले गर्दा साइकल यात्रा दैनिक रूपमा कठिन भएको मैले पाएको छु।

छोटो दूरी पार गर्नका लागि साइकल यात्रुहरू—विद्यार्थी, कर्मचारी र स्वास्थ्यप्रेमीहरूका लागि उपयुक्त विकल्प बनेको छ। तर आवश्यक पूर्वाधारको अभाव र कमजोर ट्राफिक व्यवस्थापनका कारण धेरै ठाउँमा साइकल चलाउनु सुरक्षित मानिँदैन। सम्भावना धेरै भए पनि वातावरण अझै साइकलमैत्री बन्न सकेको छैन।

धनगढीमा भने साइकल चलाउनेहरूको लागि नगर प्रमुख गोपाल हमालज्यूले साइकल लेनको व्यवस्था गरिदिनुभएको छ, जुन कुरा साइकल यात्री र साइकल प्रेमीका लागि अत्यन्तै खुसीको विषय हो।

उहाँ स्वयं पनि साइकलप्रेमी हुनुहुने हुनाले यस्तो पहल गर्नुभएको हुनसक्छ। तर साइकल लेनमा जथाभावी पार्किङले भने समस्या झन् बढाएको छ। जसले गर्दा बनेकै साइकल लेनमा समेत साइकल चलाउने उपयुक्त वातावरण छैन। यसमा ट्राफिक प्रहरीले सकारात्मक सहयोग गर्नुपर्ने आवश्यकता देखिन्छ। साथै सडकमा ठूला सवारी साधन चलाउने चालक र सवारी धनीहरूले पनि विशेष ध्यान दिन अत्यावश्यक छ।

मेरो विचारमा भएको संरचनाको सही सदुपयोग नहुनु र गलत स्थानमा सवारी साधन पार्किङ गर्नु, साथै गलत रुटमा सवारी हाक्नु, चालक तथा सवारी धनीको लापरबाही हो। यसमा सबैले सजग बन्नु अनिवार्य छ।

गलत पार्किङका कारण साइकल यात्रुहरूले अक्सर भारी सवारीसाधनसँगै सडक साझा गर्नुपर्छ, जसले जोखिम अत्यधिक बढाउँछ। धुलो–धुवा र वायु प्रदूषणले स्वास्थ्यमा असर गर्छ भने ट्राफिक नियमको कमजोर कार्यान्वयनले साइकल यात्रुको सुरक्षालाई बेवास्ता गर्छ। अर्को ठूलो समस्या सुरक्षा संस्कृतिको अभाव हो—धेरै यात्रुहरूले हेलमेट, रिफ्लेक्टर वा लाइटको प्रयोग गर्दैनन्, जसले सानोतिनो दुर्घटनालाई पनि गम्भीर बनाउन सक्छ।

साइकल प्रवर्द्धनका चुनौतीहरू

साइकललाई महत्त्वपूर्ण यातायात माध्यमका रूपमा विस्तार गर्न नीतिगत, संरचनागत र सांस्कृतिक चुनौतीहरू छन्। कागजमा साइकलमैत्री नीतिहरू बने पनि कार्यान्वयन अत्यन्त कमजोर छ। सहरी संरचनामा साइकल लेन वा साइकलमैत्री सडक डिजाइन समावेश गरिने प्रचलन कमै छ। सामाजिक दृष्टिकोणले पनि प्रभाव पार्छ—धेरैले साइकललाई ‘आर्थिक कमजोरीको प्रतीक’ मान्छन्, जिम्मेवार जीवनशैली होइन। आधुनिक सवारीसाधनलाई प्रतिष्ठा ठान्ने प्रवृत्तिले युवाहरूलाई साइकलप्रति कम आकर्षित बनाएको छ।

म आफैंले समेत साइकल चलाउँदा यस्ता समस्या भोगेको छु। केहीले त 'यो त पागलजस्तै रोड–रोड भौतारिन्छ'सम्म भनेका छन्। तर मलाई त्यसमा कुनै नराम्रो वा ग्लानि भने लागेको छैन। म मेरो अफिसको समयअघि र बिदापछि गरेर २१ किलोमिटर दैनिक, र शनिवार आफूअनुकूल दूरी चलाउँदै आएको छु।

मेरो नजरमा साइकलका स्वास्थ्य, वातावरण, अर्थतन्त्र र सामुदायिक जीवनसँग सम्बन्धित असंख्य फाइदाहरू छन्।

स्वास्थ्यका दृष्टिले हेर्दा, साइकल चलाउँदा मुटुको क्षमता बढ्छ, फोक्सो विकसित हुन्छ, मांसपेशी बलियो बन्छ र मानसिक स्वास्थ्य सुधार हुन्छ।

यसले तौल नियन्त्रणमा राख्छ र तनाव घटाउँछ। आर्थिक रूपमा, साइकलमा इन्धन खर्च हुँदैन र मर्मत–सम्भार पनि न्यून लाग्छ। वातावरणीय रूपमा, साइकलले कार्बन उत्सर्जन नगर्ने भएकाले सहर स्वच्छ र स्वस्थ बन्छ। साइकलमैत्री सहरहरू शान्त, व्यवस्थित र मानव–केन्द्रित हुन्छन्। सामुदायिक साइकल समूह, कार्यक्रम र जागरणले सामाजिक सम्बन्ध र स्वस्थ बानीलाई अझ बढाउँछ।

साइकल यात्रा केवल एक साधारण यातायात माध्यम होइन; यो स्वास्थ्य सुधार, वातावरण संरक्षण र सकारात्मक जीवनशैली परिवर्तनको शक्तिशाली साधन हो। यसले व्यक्तिदेखि लिएर समाज र सहरसम्म सकारात्मक प्रभाव पार्न सक्छ। तर यसको सफल विस्तारका लागि सरकार, स्थानीय तह, नगरीय योजनाकार र नागरिकबीच समन्वित प्रयास अनिवार्य छ। सुरक्षित साइकल लेन, उपयुक्त पार्किङ, ट्राफिक शिक्षा र जनचेतनाको वृद्धि साइकल संस्कृतिको विस्तारका आधारभूत आवश्यकता हुन्।

आजको आवश्यकता साइकललाई ‘सस्तो विकल्प’ भनेर होइन, दिगो र स्वस्थ भविष्यतर्फको सही मार्ग भनेर स्वीकार गर्नु हो।

साइकल केवल सवारीसाधन मात्र होइन—यो स्वस्थ शरीर, स्वच्छ हावा र सभ्य सहरतर्फको यात्रा हो।

कमेन्ट लोड गर्नुस