धनगढीका ८४ प्राकृतिक तालमा १५ वटा पुनर्भरण

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले १५ वटा ताल पुनर्भरण गरेको छ।
नगर प्रमुख गोपाल हमालले कार्यकालको तीन वर्षमा १५ वटा प्राकृतिक तालहरूको पुनर्भरण गरिएको नीति तथा कार्यक्रम मार्फत जानकारी दिएका छन्। धनगढी उपमहानगरपालिकाले शनिवार पारित गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा १५ वटा प्राकृतिक तालको पुनर्भरण गरिएको उल्लेख गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ का तीन वटा तालहरू पुनर्भरण गरिएको छ। १९ हजार ६ सय ५१ वर्ग मिटरको बडहरा ताल, एक हजार चार सय ६२ वर्ग मिटरको सानो गडैया ताल र २ हजार एक सय २६ वर्ग मिटरको ठुलो गडैया तालको पुनर्भरण गरिएको छ। धनगढी उपमहानगरपालिका–५ लब्ली चोकको उत्तर तिरको सात सय ५० वर्ग मिटरको पोखरी पुनर्भरण गरिएको छ। वडा नम्बर ६ को १४ हजार एक वर्ग मिटर क्षेत्रफलको कफनी ताल, २ हजार नौ सय ७८ दशमलव ९७ वर्ग मिटरको डमरुहवा ताल र तीन हजार तीन सय ३४ वर्ग मिटरको डावरा तालको अतिक्रमण खाली गरेर पुनर्भरण गरिएको छ।

धनगढी–७ मा तीन हजार एक सय ४२ दशमलव ५० वर्ग मिटरको सडुवा बाबा ताल, चार हजार २ सय २७ दशमलव पाँच वर्ग मिटरको अन्टा ताल र एक हजार ६६ वर्ग मिटरको देवरिया तालको अतिक्रमण खाली गरिएको छ। धनगढी उपमहानगरपालिकाले वडा नम्बर १५ का २ तालको अतिक्रमण खाली गरेको छ। एक हजार २ सय ११ वर्ग मिटरको मटकन्ना ताल र पाँच हजार ७९ वर्ग मिटरको बन्तरिया तालको अतिक्रमण खाली गरेर पुनर्भरण गरिएको हो। धनगढी उपमहानगरपालिका–१५ का पाँच हजार ७९ वर्ग मिटर क्षेत्रफलको बढी गडौया ताल र २ सय वर्ग मिटरको शिव–पावर्त ताल पुनर्भरण गरिएको छ। धनगढी उपमहानगरपालिका–१७ को तीन हजार २ सय वर्ग मिटर क्षेत्रफलमा रहेको कालिका सामुदायिक वन भित्रको भल्का ताल पनि संरक्षण गरिएको छ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा पनि सार्वजनिक जग्गामा रहेका प्राकृतिक तालहरूलाई पुनर्भरणका लागि प्रयोग हुने गरी पुरानै अवस्थामा फर्काउने कार्यलाई निरन्तरता दिने उल्लेख गरेको छ।

धनगढी उपमहानगरले नगर क्षेत्रमा ८४ वटा प्राकृतिक ताल रहेको विवरण तयार पारिएको थियो। धनगढीका प्राकृतिक तालहरूमा सामुदायिक वनभित्रका ताल संरक्षित छन्। तर, बजार क्षेत्रका अधिकांश ताल अतिक्रमणमा परेकाले संरक्षण अभियान थालिएको हो। गत आर्थिक वर्षसम्म १४ वटा सार्वजनिक जग्गामा रहेका प्राकृतिक तालहरूको पुनर्भरण गरेको उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा एक तालको पुनर्भरण गरेको छ।
धनगढी उपमहानगरको १९ वडा मध्ये वडा नम्बर ४ बाहेक अन्य वडाहरूमा कम्तीमा एक र बढीमा १२ तालसम्म रहेका तथ्याङ्क छ। धनगढी–१ को शिवनगरमा पाँच बिघा ७ कट्ठामा फैलिएको झागडा ताल छ। यो ताल पूरै अतिक्रमण गरिएको छ। वडा नम्बर २ मा रहेको तिल्के तालको संरक्षण गरिएको छ। सोही वडाको गढैया ताल (क), गढैया ताल (ख) र नेतुवा तालसहित तीन ताल रहेका छन्। वडा नम्बर ५ मा दुई पोखरी छन्। लब्लीचोक उत्तरमा रहेको ७५० वर्ग मिटर क्षेत्रफलको पोखरीको अतिक्रमण खाली गरिएको छ। तर, हसनपुरको पुरानो बोरिङ नजिक पाँच हजार ८५५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको पोखरी अहिले पनि नक्सामा मात्रै सीमित छन्।
धनगढी उपमहानगरपालिका–६ मा नठुनिया ताल, कुइलही ताल, सुलखैया ताल, नजरिया ताल, लमही ताल, सानो नजरिया ताल, बुद्ध ताल, डबरा ताल र दिदी–बहिनी तालसहित ९ वटा ताल रहेका छन्। नौ तालमा धनगढी उपमहानगरपालिकाले हालसम्म कफनी ताल, डमरुहवा ताल र डावरा तालको अतिक्रमण खाली गरेर संरक्षण थालेको छ।
यस्तै वडा नम्बर ७ मा सडुवा बाबा ताल, अन्टा ताल, मनिया ताल, लम्बा ताल, पोखरी, जाखौर ताल, सिरेगडैया ताल, चन्द्रमुखी ताल, दक्षिण गडैया ताल मुरफुत्ता तालसहित १० वटा ताल रहेका तथ्याङ्क छ। तर, सामुदायिक वन भित्रका बाहेक अन्य तालहरू भने अतिक्रमणको चपेटामा परेका थिए। हालसम्म सडुवा बाबा ताल, अन्टा ताल र देवहरिया तालको अतिक्रमण खाली गरिएको छ।
धनगढी उपमहानगरपालिका–८ मा बन्धवा र तौलाहा ताल छन्। बान्धवा ताल अतिक्रमण गरिएको छ। तर, तौलाहा तालको संरक्षण गरिएको छ। उपमहानगरपालिकाको वडा नम्बर ९ मा रहेका चौफेरी र चन्द्रमुखी तालको पनि संरक्षण गरिएको छ। वडा नम्बर १० मा सबैभन्दा बढी १२ ताल छन्। यो वडामा रहेका भष्मा ताल, चौकी ताल, कुमड ताल, सेता ताल, मर्छेहा ताल, जुति ताल, भगहर ताल, सनबोरा ताल, फुलनैया ताल, मटगहना ताल, नसिया ताल र मदेहर ताल पुरेर खेतीपाती गर्ने गरिएको छ। वडा नम्बर ११ मा बेला ताल, दुदैया ताल, बेलादेवीपुर धाम ताल र पोखरी तालसहित पाँच वटा ताल रहेका छन्। वडा नम्बर १२ मा ऋसैना ताल छ भने वडा नम्बर १३ मा मतकन्ना ताल रहेको उपमहानगरले जनाएको छ। यी वडाका तालहरूको केहीको संरक्षण गरिएको छ भने केही आंशिक तथा केही पूर्ण अतिक्रमणमा परेको उपमहानगरले जनाएको छ।
धनगढीको वडा नम्बर १४ मा बक्तैहिया ताल, लामोहाल ताल, ममता ताल, राम लक्ष्मण ताल, शिव ताल र लाटोमरेको तालसहित ७ वटा ताल रहेको पाइएको छ। वडा नम्बर १५ मा भगहर ताल, चकैगढैया ताल, बढिगदैया ताल, करहिदबरा ताल रहेको पाइएको छ। धनगढी उपमहानगरपालिकाले हालसम्म बढी गडौया र शिव–पार्वती तालको अतिक्रमण खाली गरेको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा ८ वटा ताल रहेको फेला परेको छ। यो वडामा महादेवा ताल, सहदेव ताल, नौ ताल, जुगनिया ताल, घुरही ताल, दिपेन्द्र चारपाते ताल, पोखरी र वन तलैया ताल रहेको पाइएको छ। यसैगरी, वडा नम्बर १७ मा ४ वटा ताल रहेको फेला परेको छ। यो वडामा पथरी पोखरी, कुसुम ताल, पोखरी, सरौटा पोखरी रहेका छन। कालिका सामुदायिक वन भित्रको भल्का ताल संरक्षण गरिएको छ। वडा नम्बर १८ मा नुकिल ताल, लाली गुँरास वन भित्रको ताल, तीन टुरपी ताल पतन्जलि ताल र श्रीकृष्ण ताल रहेको उपमहानगरले बताएको छ।
यस्तै, उपमहानगरको वडा नम्बर १९ मा ६ ताल रहेका छन्। यो वडामा सौनहिया बड्का ताल, सौनहिया छोट्का ताल, छोरलहुवा गुलयारी ताल, मझरीया ताल, पुरैना ताल र छोरलहुवा ताल रहेको पाइएको छ। धनगढीमा भूमिगत जलस्रोतको तह घट्दै गएको पाइएको छ। पानीको पुनर्भरण गर्न, वर्षामा हुने डुबान नियन्त्रण गर्न तथा प्राकृतिक अवस्था र पर्यटनको विकास गर्न ताल संरक्षण गर्ने उपमहानगरले नीतिगत व्यवस्था गरेको छ।
धनगढी उपमहानगरले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा सार्वजनिक जग्गामा रहेका प्राकृतिक ताललाई पुनर्भरणको लागि प्रयोग हुने गरी पुरानै अवस्थामा फर्काउने कार्यलाई निरन्तरता दिइने उल्लेख गरिएको छ। धनगढी उपमहानगरले तालहरुको खोजी गर्ने, अभिलेख तयार गर्ने र संरक्षण गर्ने नीति लिएको हो। पानीको पुनर्भरण, प्राकृतिक सौन्दर्य, माछा पालन र पर्यटनका गतिविधि गर्न नगर क्षेत्रका सम्पूर्ण तालको अतिक्रमण खाली गर्न र संरक्षण गर्ने उपमहानगरपालिकाले बताएको छ।