सुदूर नेपाललाई विश्वसँग जोड्दै

“उन्यू “

२०८२ असार २, ०८:५०

दिपा देउवा

“उन्यू “

न मेरो रूप छ, न मसँग सुगन्ध छ 
उम्रिन्छु एक ओसिलो ठाउँमा 
न घामको किरण नै पर्छ !

जङ्गलको उकाली ओराली,
कुनाकाप्चा, अजंग जङ्गल,
जहाँ न मानवका पाइला पुगेका छन्,
न कसैले सजाएको बगैंचा।

त्यहीँ कतै माटोको भित्तामा,
चट्टानको दरारबाट टाउको निकाल्दै,
एकान्तका साक्षी,
सुनसान सन्ध्याको साथी “म“!

कसैले नरोपेको,
न कोही स्याहार्ने,
न घामबाट जोगाउने,
न पानी छ्याप्ने,
तर पनि म, आफ्नै बाँच्ने रहरले
उम्रिरहेकोछु, हरियो पात फिजाउँदै।

तिखा काँडाहरू,
डाँडा–पाखाका फाँटाहरू,
डरलाग्दा बोटहरू,
अँध्यारो ओडार,
सबैको बिचमा एउटा सानो जिउ,
तर ठूलो आत्मा बोकेर
म उठिरहेछु!

घामले पोल्दा पनि,
हावाले लतार्दा पनि,
पहिरोले माटो खोस्दा पनि,
म आफ्नो सास गुमाउँदैन।
कहिलेकाहीँ ओइलिन्छु,
झरे जस्तो लाग्छ,
तर फेरि अर्को बिहानमा
पात फूटाउँछु, हाँगाहरू फैलाउँछु !

मेरो हरियालीलाई कसैले देख्दैन,
न त मेरो बाँच्ने संघर्ष बुझ्छन!
मलाई न फूल जस्तो मानिन्छ,
न रुख जस्तो सम्मान।
तर प्रकृतिको साँचो सिपाही भएर,
म बाँचिरहन्छु, एक्लो पनि!

कहिलेकाहीँ त बादलले छोपिदिन्छ घाम,
बर्सातले भिजाइदिन्छ भुइँ,
अनि जङ्गल सुसाएको बेलामा
हावाले मलाई टोलाउँछ,
“तँ किन बाँचिरहेछस् यति कठोर संसारमा?“

म मुस्कुराए,
आफ्नै गहिरो हरियो रंगमा
जिन्दगीको कथा लेख्छु,
म भन्छु !
“म त बाँचिरहेछु,
किनकि म जीवन हुँ!
सजावट होइन,
अस्तित्व हुँ।
म भुइँसँग बोल्छु,
हावासँग कुरा गर्छु,
र आकाशतिर हेरिरहन्छु!“

न त मलाई कसैले टिप्छ,
न सिञ्चाइ गर्छ,
तर पनि म उम्रन्छु!
जङ्गलको कुना कुना चिर्दै,
कसैले बिर्सेको
तर जिन्दगीको साँचो रूप हुँ!
 “म“

मेरो पात हल्लिँदा
हावाले सन्देश बोक्छ !
“जसले जिन्दगीको स्वाद बुझ्न सक्छ,
त्यसलाई माफ गर्नु हिँड्न नसक्नेहरूले!
किनकि म हिँड्न सक्दिन,
तर बाँच्न भने जान्दछु।“

जङ्गलको भीडमा पनि
मैले आफ्नो ठाउँ बनाउँछु,
कहिलेकाहीँ मेरै काखमा
चरा बास बस्छन्,
हिउँदको सिमसिम पानीले
मेरो जरालाई चिस्याउँछ!

त्यो क्षणमा मलाई लाग्छ,
“म बेकार छैन,
म पनि प्रकृतिको सन्तान हुँ!“

र फेरि अर्को बिहान
म टुप्लुक्क फक्रिन्छु,
मरो हरियाली देखेर
संसार नहल्लिए पनि,
म आफैँलाई धन्य ठान्छु!

किनकि म उन्यू हुँ!
जो कुनै बगैंचाको गहना होइन,
तर जङ्गलको भित्री सुगन्ध हुँ!
जहाँ अस्तित्वको लडाइँ जितेर
म हरेक दिन आफ्नो कथा लेखिरहनेछु!

मेरो कथाको कुनै किताबमा छैन,
तर हावामा घुलिरहेको छ,
र माटोले सुम्सुम्याइरहेको छ 
र पनि मुस्कुराइरहेको छु !!

कमेन्ट लोड गर्नुस