सुदूर नेपाललाई विश्वसँग जोड्दै

के लोकतन्त्र, जनतन्त्र र गणतन्त्रको अर्थ एउटै हो?

२०८१ जेठ १५, १२:५३

रीना भट्टः प्रायः सबैले लोकतन्त्र, जनतन्त्र र गणतन्त्र भन्ने बित्तिकै एउटै अर्थको फरक फरक शब्द भन्ने बुझेको देखिन्छ। तर, यी तिनै शब्दको सिद्धान्त भने जनतासँग सम्बन्धित नै भएता पनि आधुनिक विश्वमा यी तीनै शब्दलाई फरकफरक तवरले प्रयोग र विश्लेषण गरेको पाइन्छ।

यी तीनवटै शब्दको प्रयोग अधिकांश मानिसले एउटै अर्थमा गरिरहेको देखिएको छ। यी तीनवटै शब्दको प्रारम्भ भने युनान राज्यबाट प्रारम्भ भएको हो। लोकतन्त्रलाई सर्बप्रथम अब्राहम लिंकनले परिभाषा गरे जसलाई प्रजातन्त्र भनेर नामकरण गरियो। जसको अर्थ जनताको, जनताको लागि र जनताद्वारा गरिने शासन गर्ने ब्यबस्थालाई ‘लोकतन्त्र’ भनियो।

जनता भन्नाले स्त्री पुरूष, धनी गरिब, गाउँले शहरिया, पढेका नपढेका, हिन्दू मुस्लिम शिख इसाई, इत्यादि विविधता मिलेर बन्छ। यदि शासनमा वा सरकारमा यी सबैको समान प्रतिनिधित्व हुन्छ भने त्यो नै जनताको शासन हो। बयस्क नागरिकले चुनेका बयस्क प्रतिनिधि मार्फत शासन गर्ने पद्धति लोकतन्त्र हो।

यो लोकतन्त्रले जनताको लागि, जनताको हितमा काम गर्छ, जनताले चुनेका प्रतिनिधिमार्फत जनहितमा शासन हुन्छ भने त्यो नै लोकतन्त्र हो भन्दै अब्राहम लिङ्कनले भनेका छन्। तर, आधुनिक राजनीति परम्परामा यो लोकतन्त्रको परिभाषा सिर्फ सिद्धान्तमा सिमित देखिन्छ।

अहिले यो बिषयमा शंका गर्ने ठाउँ प्रसस्त देखिएको छ तर पनि सैदान्तिक रूपमा भन्ने हो भने लोकतन्त्रलाई अब्राहम लिङ्कनको भनाइ अनुसार बिबेचना गरिन्छ। अर्थात् लोकतन्त्र भन्नासाथ यीनको सिद्धान्तलाई मानिन्छ। यसरी लोकतन्त्र अब्राहम लिङ्कनको सिद्धान्त हो। जनतन्त्र साम्यवादी देशले गैर साम्यवादी लोकतन्त्रभन्दा भिन्न देखाउन यो शब्दको प्रयोग गरेका छन्।

बास्तबमा यसमा फरक हुनु हुदैन। तर, आफूलाई फरक देखाउन नै साम्यवादी राष्ट्रले यो शब्दको प्रयोग गरेको विश्वमा देखिएको छ। जसमा चीन, उत्तर कोरिया, कम्बोडिया, लावस र क्युवा छन्। ‘जनतन्त्र’ मा सिर्फ एकदल साम्यवादी दल हुन्छ। अरू दल र व्यक्तिहरुलाई यो तन्त्रमा राजनीतिक गतिबीधि गर्ने अधिकार र विकल्प हुदैन। बिचारधारा पनि केबल कम्युनिष्ट विचारधारा वा एक विचारधारा मात्र हुनुपर्छ।

चुनाव लड्न पनि केबल कम्युनिष्ट बिचारधाराकोले पाउछ अरूले पाउदैन। र, अरू विचारधारालाई अगाडि आउन दिइन्न। चुनावमा प्रत्यासी पनि केबल एक व्यक्ती हुन्छ। एक पदमा कम्युनिष्ट पार्टीले पठाएको एक व्यक्तीलाई चुन्नुपर्ने हुन्छ। यसरी एक प्रत्यासीलाई चुन्नुपर्ने हास्यास्पद र नाटकीय व्यबस्था जनतन्त्रमा पाइन्छ।

यहाँ मतदान पूर्ण हुन्छ भनेर विश्वलाई देखाइन्छ। अर्थात् ९८ प्रतिशत जनताले भोट हालेर जिताउदा ती देशको सरकारले आफूलाई भारी बहुमतको शासक भनेर विश्वभर फूर्ति लगाएको पनि देखिन्छ। तसर्थ जनतन्त्र शब्दको प्रयोग साम्यवादी राष्ट्रले गर्ने हुँदा जनतन्त्र र लोकतन्त्रमा धेरै भिन्नता पाइन्छ। गणतन्त्र अठारौँ शताब्दीमा विश्वमा आएको व्यबस्था हो।

सत्रौ शताब्दिसम्म गैर निरङ्कुश शासनलाई गणतन्त्र भनिन्थ्यो तर अठारौँ शताब्दीमा आएर फ्रान्समा राजतन्त्र बिरूद्धको क्रान्तिपछि राजतन्त्र फालेर स्थापना भएको जनताको शासन व्यबस्थालाई गणतन्त्र भनियो। अर्थात बंशीय परम्पराको राजालाई हटाएर जनताद्वारा निर्वाचित राष्ट्रअध्यक्ष चुन्ने व्यबस्थालाई गणतन्त्र भनियो।

जुन राज्यमा जननिर्बाचितद्वारा वा प्रत्यक्ष जनताद्वारा राज्यको प्रधान चुनिन्छ त्यसलाई नै गणतन्त्र वा गणतन्त्रात्मक व्यबस्था भनियो। नेपाल भारत अमेरिका फ्रान्स गणतन्त्रात्मक मुलुक हुन्। यहाँ राष्ट अध्यक्ष बंशीय शासक नभएर साधारण व्यक्ति पनि यदी जनताले चुन्छन् भने शासक बन्न सक्ने परम्परा स्थापित भइरहेको छ भने यो नै गणतन्त्र हो।

लोकतन्त्र राजतन्त्रात्मक मुलुकमा पनि हुन्छ। जस्तो ईंग्लैण्ड, जापान, थाइल्याण्ड राजतन्त्रात्मक प्रजातान्त्रिक मुलुक भनिन्छ। चीन, उत्तर कोरिया लगायतका कम्युनिष्ट राष्ट्रहरू जनतन्त्रात्मक राज्य भनिन्छ भने नेपाल भारत फ्रान्स अमेरिका इत्यादि चै बंशिय शासकको ठाउँमा जनताले चुन्ने शासकीय स्वरूप भएको गणतन्त्र मुलुकहरू हुन् भनिन्छ।

यस अर्थमा लोकतन्त्र अब्राहम लिङ्कनको परिभाषाको तन्त्र, जनतन्त्र कम्युनिष्ट राष्ट्रको तन्त्र र गणतन्त्र बंशिय शासकको ठाउँमा जनताको छोराछोरी शासक हुने तन्त्र हो। तसर्थ यी तीनै तन्त्रलाई एउटै हो भनेर परिभाषित गर्दै टिकाटिप्पणी गर्नु गलत हो भन्ने लाग्छ। हो, आजको विश्वमा जनता नै सर्वोपरी हो। यसमा कसैको दुईमत छैन। जनताको इच्छा र आकांक्षालाई उपहास गरेर शासन गरिन्छ भने त्यो शासन क्षणिक मात्र हुन्छ भन्ने कुरा सम्पूर्ण राजनीतिकर्मी, नेता र जनता सबैले बुझ्नुपर्ने हुन्छ। जे जस्तो भए पनि लोकतन्त्र, जनतन्त्र र गणतन्त्रमा सात्विक भिन्नता भने अवश्य पाइन्छ।
–लेखक भट्ट पाटन मल्टिपल कलेजकी लेक्चरर हुन्।
 

कमेन्ट लोड गर्नुस