कैलालीको लम्की–चुहा नगरपालिकाले विद्यावारिधि गर्नेलाई २ लाख दिने

धनगढी : कैलालीको लम्की–चुहा नगरपालिकाले विद्यावारिधि उपाधि प्राप्त गर्ने पालिकावासीलाई दुई लाख रुपियाँ दिने भएको छ।
लम्की–चुहा नगरपालिकाले विद्यावारिधि गर्न चाहेकालाई प्रोत्साहनका लागि आगामी आर्थिक वर्षबाट दुई लाख रुपियाँ दिने गरी बजेटमै व्यवस्था गरेको हो।

यसैगरी, उच्च शिक्षामा पहुँच बढाउन तथा एमबिबिएस, होटल म्यानेजमेन्ट जस्ता विषयमा अध्ययनका लागि प्रदान गरिने छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको उपप्रमुख जुना चौधरीले बताइन्।

लम्की–चुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब २० करोड ९९ लाख रुपियाँ बजेट प्रस्तुत गरेको छ। जसमा चालुतर्फ ७६ करोड ५७ लाख र पुँजीगततर्फ ४४ करोड ४२ लाख रुपियाँ बजेट विनियोजन गरेको छ।

लम्की चुहा नगरपालिकाले चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका र क्रमागत एवम् बहुवर्षीय ठेक्का भएका योजना समयमै सम्पन्न गर्नका लागि आठ करोड ९० लाख रुपियाँ बजेट विनियोजन गरेको छ। स्वास्थ्य सेवा तथा बिमा कार्यक्रमका लागि पाँच करोड, कृषि तथा पशु सेवातर्फ एक करोड ९२ लाख रुपियाँ बजेट विनियोजन गरेको छ।
