सुडानमा ड्रोन आक्रमण, चार बालबालिकासहित १५ जनाको मृत्यु
काठमाडौँ :सुडानको पश्चिम कोर्डोफान राज्यस्थित एक गाउँमा सेनाले गरेको ड्रोन आक्रमणमा फुटबल खेलिरहेका चार बालबालिकासहित १५ जनाको मृत्यु भएको छ। आइतबार अबु कल्ब गाउँमा भएको आक्रमणमा अन्य केही घाइते भएका छन् भने कैयौँ घरमा आगलागी भएको स्थानीय अधिकार अनुगमन संस्थाले जनाएको छ।
स्थानीय अधिकार अनुगमन संस्था कोर्डोफान अब्जर्भेटरीका अनुसार सेनाले एउटै क्षेत्रमा दुईपटक ड्रोन प्रहार गरेको थियो । पहिलो प्रहार गाउँको सार्वजनिक चोकमा भएको थियो, जहाँ बालबालिका फुटबल खेलिरहेका थिए । दोस्रो प्रहार स्थानीयका घरमा हुँदा धेरै घरमा आगलागी भएको थियो।
आफ्नो सुरक्षा जोखिमका कारण नाम सार्वजनिक नगर्न आग्रह गरेका एक जीवित व्यक्तिले सञ्चार अवरोध छल्न स्याटेलाइट इन्टरनेट प्रयोग गरी घटनाबारे जानकारी दिएका छन्। उनका अनुसार आक्रमणमा १५ जनाले ज्यान गुमाएका छन् । मारिएकामध्ये नौ जना उनका आफन्त थिए । उनले युद्धमा यसअघि नै बुबा गुमाएका दुई बालबालिकासमेत आक्रमणमा मारिएको बताएका छन्।
सुडानी सेनाले सन् २०२३ को अप्रिलदेखि जारी युद्धमा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) को नियन्त्रणमा रहेका क्षेत्र पुनः कब्जा गर्ने प्रयासस्वरूप पश्चिम कोर्डोफान राज्यमा प्रत्याक्रमण गरिरहेको छ । सोही क्रममा गाउँमा आक्रमण भएको हो।
सहायता क्षेत्रमा कार्यरत अधिकारीहरूको अनुमानअनुसार सुडानको युद्धमा अहिलेसम्म दुई लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। युद्धले विश्वकै ठूलो भोकमरी र विस्थापन सङ्कटसमेत निम्त्याएको छ।
संयुक्त राष्ट्रसङ्घले युद्धरत दुवै पक्षले व्यापक रूपमा ड्रोन प्रयोग गरिरहेको भन्दै बारम्बार चिन्ता व्यक्त गर्दै आएको छ । सन् २०२६ को पहिलो छ महिनामा मात्रै ड्रोन आक्रमणमा एक हजार १०० भन्दा बढी मानिसको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ। यस वर्ष भएका बालबालिकासम्बन्धी सयौँ हताहतीमध्ये करिब दुई तिहाइको मृत्यु वा घाइते हुनुमा ड्रोन आक्रमण जिम्मेवार रहेको राष्ट्रसङ्घले यसै साता बताएको छ।