एक पत्रकारको दृष्टिकोणमा नेपाली मिडियाको वर्तमान चुनौती

शान्तिप्रसाद जोशी : नेपाली मिडिया अहिले सङ्क्रमणको बिचमा छ।
विगत दुई दशकमा सूचनाको पहुँच, प्रविधिको विस्तार र जनचेतनाको वृद्धि भएको भए तापनि, मिडिया स्वयँ गम्भीर चुनौतीहरूबिच झुलेको देखिन्छ। पत्रकारिताको मूल आत्मा ‘सत्य, सन्तुलन र निष्पक्षता’ हो भने, ती सबै मूल्यहरू अहिलेको समयमा गहिरो प्रश्नचिह्नका बीचमा छन्।

सामाजिक सञ्जालको बाढीले अहिले मिडियालाई नै छायाँमा पार्न थालेको छ। ‘ब्रेकिङ न्युज’को होडमा परम्परागत मिडिया घरानाहरूले सत्य पुष्टि नगरी समाचार प्रवाह गर्न थालेका छन्। सूचनाको तीव्रताले गहिराइलाई विस्थापित गरेको छ। अहिले प्रश्न उठ्न थालेको छ - हामी सूचना दिन्छौँ कि भ्रम फैलाउँछौँ? सामाजिक सञ्जालमा ‘भाइरल’ हुनु नै सफलता मानेको मनोविज्ञानले सम्पादकीय नीति र दृष्टिकोणलाई कमजोर बनाइदिएको छ।

नेपालको अधिकांश मिडिया घराना विज्ञापनमुखी छन्। सरकारले दिने विज्ञापन वा ठूला व्यवसायीहरूको सहयोगबिना धेरै मिडियाहरू सञ्चालन गर्न सक्दैनन्। यसले स्वतन्त्र पत्रकारिता होइन, ‘अनुकूल पत्रकारिता’लाई बढावा दिएको छ। त्यस्तै, क्षेत्रीय मिडियाहरू अझै गम्भीर संकटमा छन्। भौतिक पूर्वाधार, दक्ष जनशक्ति र आर्थिक स्रोतको अभावले गर्दा ती सञ्चारगृहहरू केवल अस्तित्वको सङ्घर्षमा सीमित छन्।
प्रमुख कुरा पत्रकारहरूलाई राज्यबाट कानुनी सुरक्षा छैन, मिडिया हाउसबाट त झन् न्यूनतम सामाजिक सुरक्षासमेत छैन। बीमा, पेन्सन, र स्वास्थ्य सेवा त परै जाओस् — तलब समयमै पाउनु र कामको कदर हुनु नै दुर्लभ अवस्था हो। त्यसैगरी, महिला पत्रकारहरूको अवस्थाबारे अझ गम्भीर प्रश्न उठेका छन्। कार्यक्षेत्रमा हुने यौन उत्पीडन, लिङ्गीय विभेद र सम्मानजनक व्यवहारको अभावले उनीहरूको सहभागिता सीमित बनाएको छ।
कागजमा प्रेस स्वतन्त्रता लेखिएको भए तापनि, व्यवहारमा राजनीतिक हस्तक्षेप र दबाब हरेक तहमा अनुभूत हुन्छ। विभिन्न दल, नेताहरू वा सत्ता संरचना नजिकका मिडिया ‘प्रवक्ता’ बन्न थालेका छन्। यस्तो अवस्थाले पाठक÷दर्शकको मिडियामाथिको विश्वास घटाउँदै लगेको छ।
एक समाचारको हेडलाइन बदल्न दबाब दिने नेतादेखि एउटा विज्ञापन रोक्ने ताकेता गर्ने अफिसरसम्म, नेपाली पत्रकारिता अहिले स्वच्छन्द होइन, सशंकित अवस्थामा काम गरिरहेको छ।
आजको पत्रकारिताले केवल समाचार लेखेर पुग्दैन। मल्टिमिडिया, ग्राफिक्स, डाटाभित्रको अर्थ खोल्ने क्षमता, र डेटा पत्रकारिता जस्ता विषयहरू अनिवार्य भइसकेका छन्। तर नेपाली मिडियामा यी विषयमा लगानी नगरेको देखिन्छ। प्रविधिसँगको दूरी र सामग्रीको गुणस्तर पुग्न नसेको स्पष्ट रूपमा देखिन्छ ।
तलसम्म पुग्ने, अनुसन्धान गर्ने र तथ्यको तहसम्म पुग्ने संस्कार अझै कमजोर छ। ‘कन्टेन्टको गहिराइ होइन, सङ्ख्यात्मक रफ्तार’ नै मापनको मापदण्ड बनेको छ। नेपाली मिडिया केवल खबर दिनुपर्ने माध्यम होइन त्यो समाजको ऐना हो, लोकतन्त्रको चौथो खम्बा हो र जनताको आवाज हो। तर जब पत्रकारिता नै अविश्वसनीय बन्न थाल्छ, तब केवल मिडिया होइन, लोकतन्त्र स्वयँ जोखिममा पर्छ।
अब मिडिया क्षेत्रभित्रका हामी सबैले आत्मसमीक्षा गर्ने बेला आएको छ। हामी कहाँबाट भित्रिएको थियौँ, र अहिले कहाँ पुग्न लागेका छौं? मूल्य, आत्मनिर्भरताको मोडेल, स्रोत र सीपको पुनर्रचना बिना, नेपाली पत्रकारिता ‘पेसा’ त बन्न सक्छ, तर ‘धर्म’ बन्न सक्दैन।