डोटी जिल्लाको चिनारी
मैले सामाजिक सञ्जालमा विभिन्न गाउँठाउँहरूको बारेमा संक्षिप्त चिनारी लेख्दैगर्दा पाठकहरूले मलाई यति धरै ठाउँमा पुगेको घुमक्कडको संज्ञा पनि दिन सक्छन्।
आफ्नो दैनिक कामकाज कति बेला गर्छ होला भन्ने जिज्ञासा पनि हुन सक्छ। यसरी लेख्दैगर्दा विभिन्न पुस्तक, पत्रपत्रिका, गुगल, लोकश्रुति, प्रत्यक्ष साक्षात्कार, अवलोकन आदि कुराहरूलाई आधार मानेर थोर बहुत जानकारीहरू संप्रेषण गर्ने अभियान अन्तर्गत यो लेखमा मैले डोटी जिल्लाको बारेमा मेरो बरकतले भ्याए जति जानकारी गराउने जमर्काे गरेको छु। डोटी जिल्ला तत्कालिन सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम पनि हो। डोटीकै नामले हामीलाई सुदूरपश्चिम भन्दा बाहिरका मान्छेहरूले डोट्याल भनी सम्बोधन गर्दा मनमनै गदगद पनि हुन्छु। किनभने डोटी जिल्ला नभए डोट्याल हुने अवसर कहाँ पाइन्थ्यो र ! जीवनका ५० वसन्त पारगर्दा विभिन्न जिल्लाको प्रत्यक्ष र परोक्ष अनुभवहरू पाठक समक्ष पेशगर्न पाउँदा खुसी लागेको छ।
डोटी जिल्लाको बारेमा बयान गर्दैगर्दा मूलघर डोटी भएका र डोटीमै बसोबास गरिरहेका जनमानसको नजरमा “तिमी दिल्ली गएको, म दिल्ली जन्मेको“ भन्ने उखान जस्तै लेखकलाई बढप्पन गरेको आरोप पो लगाउने हुन कि भन्ने संकोच पनि नभएको भने होइन। डोटी जिल्ला डा. के. आई. सिंह ( कुँवर ईन्द्रजित सिंह) को जन्मस्थान पनि हो । डोटी जिल्लामा विभिन्न राजनीतिज्ञहरू, सामजसेवी, वुद्धीजिवी लगायतका महापुरुषहरू हुँदाहुँदै मैले उक्त जिल्लाको बारेमा वयानगर्नु त धेरै शोभनीय नहुन पनि सक्छ, तर म पनि वि. सं. २०५४/०५५ सालमा पुरै एक वर्ष शिक्षक तालिम केन्द्र जोगीडाब्रे दिपायलमा प्रशिक्षकको रुपमा कार्यरत रहँदा मैले देखेका र अनुभव गरेका कुराहरू जस्ताको त्यस्तै पाठक समक्ष पेश गर्ने अनुमति चाहन्छु। जोगीडाब्रे बसाईको क्रममा आसपासका गाउँहरू पिपल्ला बजार, सिलगढी, बागठाटा, तिखा, गोसेडा, कुमालीकोट, रानागाउँ, राजपुर, समूहागाड रेडियो नेपाल लगायतका गाउँहरूको मलाई राम्रो सम्झना छ। दार्चुला र धनगढीबाट उक्त अवधिमा र अन्य समयमा पनि काम विशेषले डडेल्धुराको स्याउले क्रस गरिसकेपछि राजमार्ग आसपासमा पर्ने गाउँबस्तीहरूको बारेमा पनि अलिअलि जानकारी लिएको छु।
डोटी जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एउटा पहाडी सुन्दर रमणीय जिल्ला हो। यस जिल्लाले २,०२५ वर्ग किलोमिटर (७८२ वर्ग माइल) क्षेत्रफल ओगटेको छ। डोटी जिल्लाको सदरमुकाम सिलगढी हो । यो जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र वैतडी, उत्तरमा बझाङ र दक्षिणमा कैलाली र कञ्चनपुर जिल्लाहरू रहेका छन। २०२५ बर्ग किलोमिटरमा फैलिएको यो जिल्ला २८ डिग्री ५४’ उत्तर देखि २९ डिग्री ५४’ उत्तर अक्षांश र ८० डिग्री ३०’ पूर्वदेखि २१ डिग्री १४’ पूर्वी देशान्तरसम्म फैलिएको छ । भौगोलिक दृष्टिकोणले अत्यधिक विविधता भएको यो जिल्ला उचाइको दृष्टिले ३०० मिटर (घाङलको पिपलकुण्टा ) देखि ४००० मिटरसम्म फैलिएको छ । यसको अधिकांश भू–भाग भने ३०० मिटर देखि २००० मिटरको उचाइ क्षेत्रमा पर्दछ। उत्तरमा उच्च हिमाली क्षेत्र देखि दक्षिणमा चुरे पर्वत शृङ्खलासम्म फैलिएको यो जिल्लाको अधिकांस भू–भाग मध्य पहाडी क्षेत्रमा पर्दछन। यस जिल्लामा खप्तड लेक,सकार लेक,महाभारत लेक तथा गोलेदेउ लेक जस्ता उच्च पहाडी स्थानका साथै दिपायल,वानेडुग्रीसैन तथा नारीदाङ्ग जस्ता अर्ध उष्ण हावापानी भएका नदी किनारामा अवस्थित समथल भू–भाग पनि रहेका छन्।
बाइसे–चौबिसे राज्यकालमा बाइसे राज्य भन्दा परको विशाल तथा शक्तिशालि मानिएको रैका राज्य (डोटी राज्य) पूर्वमा कर्णाली नदी, पश्चिममा रामगङ्गा (कुमाऊँ), उत्तरमा ठाकुरजी देखि दक्षिणमा तराईसम्म फैलिएको थियो। प्राचीन डोटीमा दुई राजवंशको राज्य स्थापित थियो। जसमध्ये कत्युरी र जुम्ला नागराजका वंशजका रैका राजा थिए ।
डोटीका शासक कत्युरवंशी (कत्युरी राजवंश) का राजा सुभिक्षराज सन् (१०४५–१०६५) डोटीका अतिरिक्त अल्मोडा र गढवालका समेत शासक थिए । कत्युरी राजाको वंशजलाई बि.स १४२० पश्चातको युद्दमा रैका राजाले विजय गरेपछि डोटी बि.स १४४१ पछि रैका राजाको राज्यको रूपमा परिचित÷चर्चित बन्यो। डोटीका राजालाई महाराजाधिराको उपाधिको स्थानीय नाउ “रैकाज्यू“ भनिन्थ्यो । यहाका रैका राजवंशको राज्य बि.सं. १४४१ पछि रैका राजा दीप शाहीको पालामा कप्तान रणवीर खत्रीको नेतृत्वमा गएको नेपाली फौजले डोटीमाथि आक्रमण गरी वि. सं. १८४७ सालमा विशाल नेपाल राष्ट्र अन्तर्गत बिजय गरेको थियो। राणाकालमा प्रशासनिक केन्द्रको रूपमा तोकिएको डोटी गौंडाको नियन्त्रणमा अछाम, बाजुरा बझाङ, जुम्ला र बैतडी थिए।
यस लेखमा मैले विभिन्न पुस्तक तथा अन्य सामाजिक सञ्जालहरूबाट संकलित डोटी जिल्लाका वनस्पति र वन्यजन्तु तथा केही पर्यटकीय स्थलहरूको जानकारी गराउने प्रयास गरेको छु।
वनस्पति तथा वन्यजन्तु ः साल, सल्ला, सिसौं, बाँस, निगालो, उत्तिस, कटुस, सिमल, साज आदि । जनावरहरूमा बाघ, भालु, दुम्सी, स्याल, वाँदर आदि। चराचुरुङ्गी ः डाँफे, मुनाल, च्याखुरा, कालिज, ढुकुर आदि पाइन्छन्। जडीवुटीहरु ः चिराइतो, दालचीनी, टिमुर, वोझो सुगन्धवाल, अमला, रिठ्ठा, तेजपात पाषणवेद, सिलाजित, सुनझाडी, भार्ला, कुरिलो, चुत्रा, जटामसी, सुनगाभा, कचुर,असुरो,हर्रो,बर्रो, कुकुरडाइनो, तितेपाती आदि ।
धार्मिक तथा ऐतिहासिक स्थलहरु : शैलेश्वरी मन्दिर, सिलगढी राधाकृष्ण मन्दिर, सिलगढी मष्टा मन्दिर, सिलगढी पञ्चेश्वर महोव, राजपुर भिमसेन मन्दिर, सिलगढी दिलिपेश्वर मन्दिर, दिपायल कोटभैरव, सिलगढी वडी केदार, लानाकेदारेश्वर भागेश्वर मन्दिर, मुडेगाउँ वासुधारा कुण्ड, दिपायल घण्टेश्वर मन्दिर, गैरा वेतालमाण्डौं, सातफरी सहश्रलिङ्ग, खप्तड अश्द्वाराला मन्दिर, डौड मालिका मन्दिर, काडामाण्डौं पशुपति मन्दिर, मुडभारा, राजपुर पर्यटकीय क्षेत्र, खप्तड राष्ट्रिय निकुञ्ज , त्रिवेणी, नागढुङ्गा, सहश्रलिङ्ग, खप्तडदह, केदार ढुङ्गा, हात्तिपाइला क्षेत्र, घोडा, दाउन्ने , डाफेकोट, खप्तड बाबा आश्रम, बाघबुट्टे, निगालो, थरी थरीका बुट्टेदार फूलहरु(, छतिवन ताल, केदारमेला, लानाकेदारेश्वर, भिम छेदनशिला(सरस्वती नगर), सेती, कर्णाली दोभान आदि रहेका छन्।
यस लेखमा समेट्न नसकिएका कुराहरू यसपछिको लेखमा समेट्ने प्रयास गर्ने छु।
पाठकहरूबाट आवश्यक सुझाव, सल्लाहको अपेक्षा गर्दै यसमा थप्नु पर्ने कुराहरू कमेन्ट बक्समा पठाएर सहयोग गरिदिनहुन समेत अनुरोध गर्दछु।
धन्यवाद !
क्रमश : ...
मिति : २०८०/०१/१२
मान सिंह धामी (भौनबाटी)
उप–प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी