सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाउँ फर्क!

२०८१ भदौ २३, १०:०३

धिरज सन्ज्यालः चरम महँगी र आवश्यकताले हाम्रो देश नेपालका तीन भाग मध्य पहाड र हिमालका बस्तीहरू बन्जर र खाली छन भविष्यको चिन्ताका दृष्टिले हेर्दा हिमाल र पहाडको दृश्य निकट समयमै भयावह र विकलता उन्मुख तिर धकेलिदै गैरहेको छ । नेपालको कुल जनसङ्ख्याको करिब आधा जनसङ्ख्या हिमाल र पहाडका मूर्त वा अमूर्त सम्भावना र अवसरमा आश्रित छ।

तर बढ्दो महँगी त्यहाँको श्रम र बस्तुको मूल्य नगण्य हुँदा ठूलो जनशक्ति तराई र शहर केन्द्रीत छ र विदेश सँग त पूर्ण आश्रित देखिन्छ । उक्त विकराल समस्यालाई पुनर्जीवित गर्ने उपाय नेपालको भौगोलिक संरचनाहरू जो हिमाल, पहाड र तराई बिच खोज्न जरुरत देखिन्छ ।

यो विभाजन मात्र भौगोलिक उपलब्धि होइन, यो सँगै यसले विभिन्न सामाजिक र आर्थिक असमानताहरूलाई पनि उजागर गर्दछ। अहिलेको समयमा, तराई क्षेत्रले तीव्र विकासको गति लिइरहेको छ, जबकि हिमाल र पहाडका बस्तीहरूमा जनघनत्व चाँडै घट्दै गैइरहेको छ । यस समस्याले धेरै स्थानीय समुदायलाई प्रभावित गरिरहेको छ र यस लेखमा, म "गाउँ फर्क" विषयमा सकेसम्म गहिराइमा गएर लेख्ने कोसिस गर्दै छु जसले जलवायु परिवर्तन, वैदेशिक रोजगार र गाउँमा रोजगारीको अवसरहरूको अभावका कारण प्रभावित भएका यी क्षेत्रहरूलाई कसरी पुनर्जीवित गर्न सकिन्छ भन्ने चाँसो, चिन्ता र उपायहरू पस्किदैछु।

विकास र अवसरको अभावले गर्दा युवाहरूको ध्यान तराई र शहर केन्द्रित भएको छ। यद्यपि, हिमाल र पहाडका बस्तीहरूमा प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर र समृद्धका इतिहासको लागि अवसरहरू तमाम हुँदा हुँदै राज्य र सरकारको प्रमुखतामा नहुँदा अन्धकार भविष्यउन्मुख छन तर पनि असल नेतृत्व र भिजनको खोजी र प्रायोरिटिले हिमाल र पहाडको विकरालता रोक्न सरकार र स्थानीय समुदायले केही प्रभावकारी कदम चाल्दा अँझै पनि उज्वल भविष्यका किरणहरू बरकरार छन ।

१. रोजगारीको सृजना पहाडी र हिमाली क्षेत्रको जनघनत्व घट्नुको मुख्य कारण रोजगारीको कमी हो। ग्रामीण क्षेत्रहरूमा कृषि, पशुपालन, हस्तशिल्प, र पर्यटनलाई प्रवर्धन गर्नाले युवाहरूलाई आकर्षित गर्न सक्छ। स्थानीय उत्पादन, जस्तै हस्तनिर्मित वस्त्र, कृषि उत्पादन र पारस्परिक खाद्य वस्तुहरूलाई बजारमा बेच्नका लागि पहल गरिनु पर्दछ। यसले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन मद्‍दत गर्नेछ र पहाड र हिमालमा जीवनस्तर सुधार गर्नेछ।

२. शिक्षा र तालिम गाउँभन्दा टाढा रहेका प्रमुख समस्यामध्ये शिक्षा र तालिमको कमी पनि पर्दछ। आधुनिक युगमा देखा पर्ने अवसरहरूको लागि युवाहरूलाई लैजानका लागि गुणस्तरीय शिक्षा र व्यावसायिक तालिमको महत्त्व बडेको छ। सरकार र गैर-सरकारी संस्थाहरूले शैक्षिक प्रक्रिया र तालिमका कार्यक्रमहरूमा ध्यान दिनु पर्छ ताकि गाउँका युवाले आवश्यकता अनुसारका सीप र ज्ञान प्राप्त गर्न सकून्।

३. आधारभूत पूर्वाधारको विकास गाँवको विकासका लागि आधारभूत पूर्वाधारको विकास अत्यन्त महत्वपूर्ण छ। स्वास्थ्य सेवा, सडक, विद्युत् र संचार सुविधाहरूमा सुधार गर्न आवश्यक छ। यदि गाउँमा उचित आधारभूत संरचना हुनेछन भने मानिसहरूले आफूलाई गाउँमा बस्न आरामदायी अनुभव गर्नेछन् र स्थानीय जनहरू पलायनन हुन बाट रोकिनेछन। ४. जनसामुदायिक संलग्नता गाउँ विकासका योजनाहरूमा स्थानीय समुदायलाई संलग्न गराउनु पर्छ। यसले स्थानीय जनताको भावना चासो र आवश्यकहरू परिपूर्ति हुनेछन। जस्ले समुदायको आवाज र चासो अनुसारका विकास योजनाहरूलाई प्राथमिकता दिनाले स्थानीय समुदायको सशक्तीकरण हुनेछ र विकासको प्रभावकारीता बढाउनेछ र जनता आफ्नो स्थानीय क्षेत्र प्रति भावनाले टाढा हुनेछैन ।

५. विकासको प्रविधि प्रयोग आधुनिक प्रविधिहरूको प्रयोग गरेर विकास प्रक्रियालाई प्रवर्धन गर्न सकिन्छ। अनलाइन प्लेटफार्ममार्फत कृषि उत्पादन, हस्तशिल्प वस्त्रहरू र स्थानीय खानेकुरोहरूको बजारमा पहुँच पुर्‍याउने उपायहरू अवलम्बन गर्न सकिन्छ। कृषि र अन्य व्यवसायमा नव प्रवर्तनात्मक प्रविधिहरू लागु गरिनु पर्छ ताकि उत्पादनमा वृद्धि र खर्चमा कटौती गर्न सकिन्छ।

६. पर्यटन विकासको अवसर नेपालको हिमाली र पहाडी क्षेत्र विशेष गरी पर्यटनका लागि आदर्श छन्। स्थानीय सांस्कृतिक, धार्मिक र ऐतिहासिक धरोहरको संरक्षण गरेर र आरामदायी होमस्टे कार्यक्रमहरू लागु गरेर, स्थानीय र विदेशी पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ। यसले स्थानीय व्यवसायलाई सहयोग गर्नेछ र गाउँहरूमा आर्थिक बृद्धि ल्याउनेछ।

७. शिक्षक कर्मचारीहरूका लागी उत्प्रेरणा देश विकासको मेरुदण्ड मानिने शिक्षक र सरकारी कर्मचारीहरूलाई हिमाल तथा पहाडका बस्तिहरूमा सहज रूपमा काम गर्न अतिरिक्त भत्ता तथा थप तलब सुविधा सहित विशेष किसिमको राजकीय परिचय दिएर प्रेरित गर्न राज्यले पहल गर्नु पर्दछ । जस्ले भौगोलिक अप्ठ्यारा र जटिलताहरू बिर्साउने छ र शिक्षक कर्मचारीहरूले आफ्नो पेसा र आबद्ध स्थान प्रति गर्व गर्ने वातावरण बन्नेछ ।

सारमा भन्नु पर्दा गाउँ फर्क अभियान उपयुक्त उपायहरूको समावेश गरेर हाम्रो पहाडी र हिमाली क्षेत्रमा बस्तीहरूलाई पुनर्जीवित गर्न सकिन्छ। स्थानीय समुदायको सक्रिय संलग्नता, शिक्षा र तालिमको प्रवर्धन, रोजगारी सिर्जनाको अभिवृद्धि, र आधारभूत पूर्वाधारको सुधारले हाम्रो गाउँको जीवनशैली परिवर्तन गर्न सहयोग पुर्‍याउनेछ। यसैले, हाम्रो सामूहिक प्रयास र एकता आवश्यक छ ताकि हिमाल र पहाडका जनताले फेरि आफ्ना गाउँमा जीवन यापन गर्न र उत्प्रेरित हुन सकून्। "गाउँ फर्क" हाम्रा लागि एक सुनौलो अवसर हो, जसले हामीलाई पहाडी र हिमाली क्षेत्रको समृद्धि र विकासको जग बनाउन मद्‍दत पुर्‍याउँछ। जय नेपाल

कमेन्ट लोड गर्नुस