त्यतिबेलाको तिहारमा पैसा होइन भैलोको प्रतिस्पर्धा चल्थ्यो
धनगढीः तिहारको आनन्द त तब थियो जब अध्यारो गाउँका दैलोहरुमा मैनबत्ती र आँगनमा दियो धिपधिप बलिरहन्थ्यो। टाढाका गाउँबस्ती तिहारमा एकछिन त झलमल्ल हुन्थ्यो। धिपधिप बत्ती बलिरहन्थे। पहाडमा सिरसिरे बतास चल्थ्यो। भान्साभित्र कुनामा गएर सलाइले मैनबत्ती बाल्दै दैलोमा राखिन्थ्यो। त्यतिबेला बतासले मैनबत्ती निभाइदिन्थ्यो। त्यसैलै एक जनाले लहरै बाल्ने र नसल्किएसम्म अर्कोले हातले हावा छेक्ने गरिन्थ्यो।
तिहार आयो कि भैलो(भैली) खेल्न हतार हुन्थ्यो। तिहार आउनुभन्दा एक हप्ता अगाडीदेखि नै लौरोमा रंगरोगन गरिन्थ्यो। आमाको काम दिउँसै सक्न बिहानै उठिन्थ्यो। गाईभैँसीलाई दिदीबहिनी मिलेर दिनभरीका लागि घाँस काटिन्थ्यो। दाजुभाइले दाउरा चिरिदिन्थे। त्यसपछि त हाम्रै राज।
दिन उदाउँदासम्म सबै काम भ्याइहालिन्थ्यो। आमा पनि खुस हामी पनि खुस। अब आमाले रोक्ने कुनै उपाय नै हुन्थेन। रंग लगाएका घगांरुको लौरो टेक्दै प्लास्टिकको थैली हातहातमा बोक्दै भैली खेल्न लागिन्थ्यो। त्यो समयमा पैसा दिने चलन नै थिएन्। हामी कम्तिमा पनि २० भन्दा बढी जना हुन्थ्यौँ। एक जनाले भैली भट्याउने अरुले भैली(भैलो) भन्ने। लामो लाइन नै हुन्थ्यो। ‘लौ भैलेरु आए’ भन्दै डाँडाबाट मान्छेहरु हेरिरहन्थे। भैलाको आवाज डाँडाकाँडा सम्म सुनिन्थ्यो।
काममा भएका काकाकाकीहरु पनि घरमा आउँथे। कसैको ढोका पनि बन्द हुन्थेन्। घरमा भैली खेलीसकेपछि लहरै एक एक मुठी मादुरो(चामल जस्तै), बाजुर, चामल, पिठो, गुड, मिसिरी जोसँग जे भयो त्यहि दिन्थे। गुड मिसिरीका लागि अलग्गै कपडाको दुईताने झोला बोकेका हुन्थ्यौँ। भैली खेल्दा भोक लाग्थ्यो। त्यहिँ भैलीबाट पाएको गुड मिसिरी र पानी खान्थ्यौँ। पेट भरेर फेरि साँझसम्म भैली खेल्थ्यौँ। साँझ त्यो प्लाष्टिका थैली भरेर घर फर्किन्थ्योँ। बाआमाले कसले कति भैली ल्यायो भनेर हेर्ने गर्थे। हामी भाइबहिनीबीच प्रतिस्पर्धा हुन्थ्यो। कसले कती भैली बनायो भन्नेबारे।
ल्याएको भैली अन्तिम दिनसम्म थन्क्याउने गरिन्थ्यो। कसैको कम भए अर्काकोबाट चोर्ने पनि गरिन्थ्यो। चोरेको थाहा पाएपछि त घरमा भाइबहिनीबीच द्वन्द नै हुन्थ्यो। त्यसपछि आमाले लौरोले हिर्काएर शान्त पार्थिन्।
दिनभरी भैली खेल्ने साँझपख बाबाले ल्याइदिएको पटाका र झिरझिर पड्काइन्थ्यो। एक रात कम्तिमा ३ पटाका पड्काउन दिइन्थ्यो। किन भने धेरै पड्काउन खर्च पनि हुन्थेन्। तीन दिन पुग्ने गरेर बाबाले मिलाएर पटाका ल्याइदिन्थे।
सलाईंको काँटीलाई चुरोटभित्रको चम्किने सोतो कागजमा बेरेर ढुगाँमा राखेर घनले हान्दा ठूलो आवाज आउँछ। हामीले पनि त्यहि गथ्र्यौ।
अन्तमदिन ल्याएको भैलीको सेलरोटी, माडा लगायतका विभिन्न परिकारहरु बनाउने गरिन्थ्यो। त्यो बालापन सम्झिँदा बयान गर्ने र लेख्नसक्ने शब्दै न छैनन्। लेखे इतिहास जस्तै बन्छ। तर जति उमेर बढ्दै गयो त्यस्तै रौनकता पनि हराउँदै गयो। संस्कृति पनि लोप हुँदै गयो। पछिल्लो समय मौलिक रीति जगाइराख्न विभिन्न कार्यक्रमहरु समेत गरिन थालेका छन्। आधुनिक रुपमा संस्कृति झल्काइन थालिएको छ। अहिले विभिन्न विकासले गति लिएपछि एकाएक सस्कृतिको ढाँचा पनि बदलिएको छ।
पछिल्लो समय प्रविधिको विकाससँगै बाह्य संस्कृतिहरु पनि झल्किन थालेका छन्। जसले पुख्र्यौली परम्परालाई बवास्ता गर्न थालिएको छ। राज्यमा हिन्दुधर्मको हरेक चाडवाडमा रोक लगाइरहेको हुन्छन्।
कहिले विपद् त कहिले महामारीका कारण संस्कृतिहरु पनि उथलपुथल बनेका छन्। तर यसलाई परिस्थितिसँग जुध्दै जगेर्ना गर्ने किसिमका योजना भने कुनै निकायको छैन। हिन्दु धर्मालम्बीहरुका चाडपर्वमा राज्यबाट नै रोक लगाइन थालिएको छ। संस्कृतिलाई पनि बार्गेनिङ गरेर मात्रै मनाउन थालिएको छ। संस्कृतिभन्दा बढी पैसालाई महत्व दिन थालिएको छ। यसले गर्दा समाजमा विभिन्न घटना र विकृतिहरु पनि बढ्न थालेका छन्।
यदि पुख्र्यौली परम्परा गाउने हो भने सबैलाई सामान व्यावहार गर्नु जरुरी छ, भने राज्य र कानुनी निकायले यसतर्फ ध्यान दिन जरुरी छ।