सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘९६ प्रतिशत काम सम्पन्न भयो, अब छिट्टै गेटा मेडिकल कलेज सञ्चालनमा आउँछ’

२०७८ असार १७, १२:३१

धनगढी:  गेटा मेडिकल कलेजका कार्यकारी निर्देशक भीमबहादुर साउदसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदम जोशीले कुराकानी गरेका छन्। कार्यक्रमा प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं। 

अहिलेसम्म धेरै क्षेत्रमा काम गर्नुभयो छोटकरीमा सुनाउनु पर्दा तपाईको यात्रा कस्तो रह्यो ?
मेरो जन्म २०२२ सालमा दार्चुलामा भएको हो। त्यतिखेरको गोकुलेश्वर गाविस वडा नम्बर २ कुमाली भन्ने ठाउँ। प्रारम्भिक तहको शिक्षा मैले घर बाट नै लिएको थिए। त्यतिखेर भारतीय शिक्षकहरु हाम्रोमा पढाउनको लागि घरमा राख्ने चलन हुन्थ्यो। बुवाको टोलीलाई, दाईहरुलाई र मलाई पनि कक्षा ३ सम्म उहाँले नै पढाउनु भएको थियो। 

लटिनाथ प्राथमिक विद्यालय बस्कोटमा थियो त्यहाँ अध्ययन गरेको थिए मैले। अहिले त माध्यमिक विद्यालय भइसकेको छ।  त्यतिबेलाको खुब मिठो सम्झना आउँछ म एक जना मात्रै थिए कक्षा ५ सम्ममा पुग्दा अनि एकजना सर पनि जयबहादुर साउँद भन्ने उहाँले अंगालोमा राख्दै पढाउनुहुन्थ्यो। 

पछि एसएलसी चाहिँ २०३६ सालमा गोकुलेबाट दिने भए तर ३७ सालको भुकम्प दार्चुलामा आएकोले धेरै नै धनजनको क्षति भएको र ३७ सालमा नै दुर्घटनामा परेर भीरबाट लडेर  आमा पनि बित्नु भयो। 
फेरि एसएलसी दिने भनेर भनीसकेपछि २०३८ सालमा पुगियो तर त्यति खेरको एसएलसीको कुरा गर्दा स्कुलहरुको नजिजा राम्रो आएन भने अनुदान रोक्का हुने भन्ने व्यवस्था हुन्थ्यो। गोकुलेमा हामी ५०÷५५ जना थियौं एसएलसी दिने तर स्कुलले मसहित ४ जनालाई मात्रै छानेर टेष्ट पास गरायो।

३८ सालको फागुनमा एसएलसी भएको थियो त्यो बेला हिमपातले औधि सताएको थियो। घरमा आमा रहनुभएन दाईहरुपनि भारत जानुभएको। म सँगै जानका लागि कोहिपनि हुनुहुन्थेन। पछि  बुवा र म लगातार १२ घण्टा हिँडेर परीक्षा केन्द्र पुगेका थियौं। भुकम्पले भत्काएका घरहरू थिए। परीक्षापनि एकदम असहजताको बीचमा भएको थियो। मैले दोस्रो श्रेणीमा पास गरेर र अर्को एकजना साथीले तेस्रो श्रेणीमा।  तर दुइजाना साथीहरू भने कम्पार्ड(मौका परिक्षा)मा पर्नुभयो। पछि उहाँहरुपनी पास हुनुभयो। विद्यालयको ५० प्रतिशत नतिजा आयो र हाम्रो पनि उच्च शिक्षाको ढोका खुल्यो।

सिद्धनाथ साइन्स क्याम्पसबाट आइएससी गरियो र त्यतिखेर त्रिविको परिक्षा ढिलो–ढिलो हुने। एकै वर्ष ओल्ड न्यू गरेर दुई/तीन वर्षको एकैचोटी परीक्षा हुन्थ्यो।

यसले १४० जना भर्ना भएका हामीमध्ये ५ जना मात्रै रह्यौ। पछि आएएससी उत्तिर्ण गरेर केही समय मैले धामीगाउँ भन्ने ठाउमा अध्यापन गरे। बिएड पास चाहिँ गणित र विज्ञान लिएर पृथ्वीनारायण क्याम्पस पोखराबाट गरेको थिए। पछि एमएडसम्म शिक्षा हासिल गरिसकेपछि फेरि केही समय पोखरामा नै अध्यापन गराए।

त्यतिखेर शिक्षा सेवामा अस्थाई रुपमा भर्ना गर्ने भन्ने चलन थियो। क्षेत्रिय शिक्षा कार्यालय दिपायलमा अस्थायी रुपमा भर्ना भएपछि यो क्षेत्रको यात्रा सुुरु भयो। २०५१ मा लोकसेवा पास गरेर अधिकृतको रुपमा स्थायी भए। लगभग २७ वर्षको यो दौरानकाबीच विभिन्न जिल्लाको जिशिअ भएर काम गरियो र अहिले आएर गेटा मेडिकल कलेजको कार्यकारी निर्देशकको भूमिकामा छु।

गेटा मेडिकल कलेजको सञ्चालनमा ढिलाई किन भइरहेको छ ?
एक हिसाबले ढिला चाहिँ भएको होइन। सुरुवाती रुपमा जसरी चर्चा भएको थियो त्यो हिसाबले केही ढिलाइ भएको छ। त्यतिखेर शंकराचार्य स्वास्थ विज्ञान प्रतिष्ठानको रुपमा जाने भनेर सुदूरपश्चिमवासीले त्यसरी लगेर गए। दुई वर्ष यसैले खायो त्योबेला खासै काम हुन पाएन र कुनै ‘फर्मेट’मा आउन सकेन। 

पछि नेपाल सरकारले यसरी हुँदैन अब समिति बनाएर अगाडि बढनुपर्छ भनरे ६७/६८ मा उसलाई दिएको जग्गा फिर्ता मागेर बल्ल २०६८ मा मेडिकल कलेज प्रर्वद्धन समिति भनेर बनाइसकेपछि त्यहाँबाट यसको प्रारम्भ भयो। 
त्यो गर्दाखेरी २०६८/७० सम्मको बीचमा जग्गा प्राप्ति नापजाँच गर्ने विषयमा नै केन्द्रित रह्यो। ७० पछि अब एउटा प्रशासनिक भवन त बनाई हाल्नुपर्छ भनेर बनाएपछि संरचना निर्माण सुरु भएको हो।

 त्यसपछि फेरि वातावरणीय मुल्यांकन अर्को अर्को भनेर एक वर्ष त्यसले खायो। अहिलेसम्म पनि हामी संरचना निर्माणको टेन्डर गरिरहेका छौ। ठूलो संरचना भएकोले निर्माण व्यवसायीले दिएको समयमा गर्न नसक्नाले अलिकती ढिला जस्तो भएको हो। 

२०८०/८१ को लक्ष्य हामीले निर्धारण गरिरहेका छौ। त्यसमा पनि त्यो भन्दा अगाडि नै सञ्चालन हुने अवस्था छ। काम कहिले न रोकिएपनि कोरोनाका कारणले एक वर्ष जति असर नै पर्यो। अब लगभग फर्मेटमा आइसकेको हुनाले अस्पताल सञ्चालनको प्रक्रिया अगाडि बढ्यो भने कलेज त सञ्चालन भइहाल्छ।

अस्पताल कहिले सम्ममा सञ्चालनमा ल्याउने भन्ने छ ?
सोचाइ त यहि वर्षबाट गरौंला भन्ने थियो तर ठूलो संरचना भएको र पहिलेको ३ सयलाई ६ सय बेडमा लम्बाइने भनेपछि थोरै समय लाग्ने जस्तो देखिएको हो।  भौतिक संरचना निर्माण कार्य ढिलोमा साउनसम्म सकिन्छ। अहिले ९६ प्रतिशत काम सकिएको छ। अब भदौ/असोजमा नै खानेपानी विद्युतको ठेक्का प्रक्रिया अगाडि बढ्दैछ र त्यो बने लगत्तै अस्पताल सञ्चालनमा आउँछ। अस्पताल सञ्चालनमा आएपछि कलेज त केही समयमै सुरु भइसक्छ।

भौतिक संरचना निर्माण भइसकेर पनि मोडालिटीको विषयमा विवाद आएर सञ्चालनमा ढिलाइ हुन्छ कि भन्ने चिन्ता छ। त्यसलाई कसरी समाधान गर्ने सोच्नुभएको छ ?
मोडालिटीले त्यति धेरै समस्या उत्पन्न गर्दैन होला। लगभग १/२ महिनामा नै यो समस्या समाधान हुन्छ। मन्त्रालयले सञ्चालन गर्ने हो र छिट्टै अप्सन ल्याएर एउटा निष्कर्षमा पुर्याइहाल्छ। अहिले नेपाल सरकारको बजेट वक्तव्यमा नै आएको छ कि आउदो आर्थिक वर्षमा गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने भनेर। 

बर्दिबास लगायत ३/४ वटालाई  समेटेर एउटा प्रतिष्ठान बनाउने सरकारको मनस्थिती छ। हामीले छिट्टै तयार पारिसक्ने योजना बनाएको हुनाले र तिनीहरुको ढिलो सञ्चालन हुने जस्तो स्थिति भएकोले हामीले चाहिँ एकल प्रतिष्ठानको रुपमा भएपनी पहल गरिरहेका छाै‌।

आउँदो आर्थिक वर्षको मंसिरभित्र सञ्चालनको निम्ति भनेर यसको ऐन, नीति, नियम, निर्देशिका सबै बनाएर मन्त्रालयमा पेस गरिसकेका छौ। मोडलमा आएर ढिलो हुन्छ भन्ने कुरा हुँदैन। सञ्चालन हुन्छ छिट्टै।

कोरोना अस्पतालका रुपमा गेटा मेडिकल कलेजलाई प्रयोग गर्ने भन्ने थियो। त्यति प्रभावकारी तरिकाले समयमै सञ्चलान हुन सकेन। के चिजको चाहिँ कमी भएर यस्तो भएको होला ? 
हामीले त भौतिक संरचना मात्रै उपलब्ध गराइदिने भनेका हौं। धनगढी उप–महानगर, गोदावरी नगरपालिका र केन्द्रिय केही मन्त्रीहरुले सञ्चलान गरौ भनेर काम सुरु गर्नुभएको थियो। उहाँहरुको अन्तरिक रुपमा कस्तो समस्या आयो हामीले थाहा पाउने कुरा भएन।

दोस्रो लहरले आक्रान्त पारेपछि सबैभन्दा राम्रो, खुला ठाउँ गेटा मेडिकल कलेजको भवन हुन सक्छ भनेपछि  एक हप्ता जति लामो छलफल चलाएर मन्त्रालयलाई माग भई आएको भनेर पत्र पठायो। मन्त्रालयले सीसीएमसीमा र सीसीएमसीले डीसीएमसीमार्फत सञ्चालन गरेको थियो।

अब अगामी दिनमा फेरि कोरोनाकै नयाँ प्रकारको भाइरस आएर समस्या आउन सक्छ भन्ने पूर्वानुमान छ। त्योसँग जुध्न मेडिकल कलेजको भूमिका के रहन्छ ? 
अब बिस्तारै स्वास्थ सामग्रीहरु खरिद गर्दै जाने र स्थानीय तहहरुले पनि यसमा तदारुकता देखाउदै गयो भने छिट्टै यो प्रक्रिया सुरु हुनसक्छ। पछि मेडिकल कलेज सञ्चालनमा ल्याउँदा सामग्री खरिद गर्नु नै पर्छ। यस्तो परिस्थितीमा खरिद गरियो भने पक्कै पनि सहज हुन्छ हामी त्यो प्रयास गर्छौ नै।

कमेन्ट लोड गर्नुस